विराटनगर / जर्मन क्लब बायर्न क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा इजिप्टको क्लब अल अहलीमाथि २–० गोलको जित निकाल्दै बायर्न उपाधि नजिक पुगेको हो ।
कतारमा भएको खेलमा बायर्नलाई जिताउन दुवै गोल रोबर्ट लवान्डोस्कीले गरे । उनले खेलको १७औँ मिनेट र ८५औँ मिनेटमा गोल गर्दै बायर्नलाई जिताए ।
यससँगै बायर्नले फाइनलमा मेक्सिकन क्लब टाइग्रेस युएएनएलसँगको भेट पक्का गरेको छ । टाइग्रेसले पहिलो सेमिफाइनलमा ब्राजिलियन क्लब पाल्मेइरसमाथि १–० गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।
अब, बायर्न र टाइग्रेसले उपाधिका लागि ११ फेब्रुअरीमा खेल्नेछन् । सोही दिन तेस्रो स्थानका लागि अल अहली र पाल्मेइरसले खेल्नेछन् ।