काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रविरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै कलङ्कित बनेको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको प्रतिक्रान्तिविरुद्ध संविधान, लोकतन्त्र गणतन्त्रको पक्षमा एकजुट हुन पनि आह्वान गरे । पार्टी एकीकरणको समयदेखि नै लोकतन्त्र र संविधानविपरीत कार्यशैली देखाउँदै आएका ओली अहिले संविधान, लोकतन्त्र र गणतन्त्रविरोधी प्रतिक्रान्तिको बाटोमा हिँडेकाले आफूहरू त्यसविरुद्ध सङ्घर्षमा उत्रेको उनले स्पष्ट पारे ।
‘केपीजीले जसरी प्रतिक्रान्तिको वकालत गर्न थाल्नुभयो । उहाँले बाजी हार्नुभयो । उहाँ कलङ्कित पनि हुनुभयो । संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा, शान्ति र समृद्धिको पक्षमा हामी उभियौँ । त्यसकारण हामीले लडाइँ जित्यौँ,’ नेता प्रचण्डले भने, ‘अब उहाँले एकपछि अर्को हार्नुबाहेक अर्को विकल्प छैन । हामी दह्रोसँग उभिँदा हाम्रो जितलाई कसैले रोक्न सक्तैन ।’
अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधामन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिँदै ‘ओली बा समूह’ खोल्न सुझाव दिए । प्रधानमन्त्री ओलीलाई आफूहरूले साधारण सदस्यताबाट समेत बर्खास्त गरिसकेकाले उनको नेकपासँग कुनै सम्बन्ध नभएको दाबी गरे ।
‘चोइटिएको समूह पार्टीको मूल समूह हुन सक्ने कुरा भएन । केपी ओलीलाई अध्यक्षबाट निकालिसकेका छौँ । पार्टीको साधरण सदस्यबाट पनि बर्रखास्त गरिसकेका छौँ । उनको अब नेपाल कम्युनिस्ट पार्टी नेकपासँग कुनै सम्बन्ध छैन,’ नेता नेपालले भने, ‘उनलाई खोल्ने रहर छ भने नेकपा ओली गुट खोले हुन्छ । नेकपा मन परेको छैन भने ओली बा समूह खोल्दिए सबभन्दा राम्रो । ओली बालाई मन पराउनेहरू उतै जान्छन् ।’
उनले विभिन्न आन्दोलनले सामन्तवादलाई परास्त गरे पनि पुरानै शैलीमा हिँड्ने बानी कायमै रहेकाले केपी ओलीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको आरोप लगाए । आफूहरूको सङ्घर्ष व्यक्तिभन्दा पनि सामन्तवादी प्रवृत्तिविरुद्धको भएको उनले स्पष्ट पारे ।
उनले भने, ‘केपीको नयाँ–नयाँ अवतार चाहिएको छैन । संविधान मासेर उनले संवैधानिक शासनलाई जसरी चुनौती दिएका छन्, यसले आजसम्म प्राप्त गरेका उपलब्धि तहसनहस हुने खतरा बढेको छ । त्यसैले ती उपलब्धि जोगाउने कुराको पक्षमा हामी जुधिरहेका छौँ ।’