birat ribon

दर्शक लोभ्याउने दाउमा ‘मुनामदन’

Neuro
दर्शक लोभ्याउने दाउमा ‘मुनामदन’

मोहन ढकाल

Padelux insider
cura insider

विराटनगर / कोरोनाका कारण थला परेको नाट्य क्षेत्र विस्तारै बामे सर्न थालेको छ । लामो समय थिएटरमा प्रस्तुत हुन नसकेका कलाकार अभिनयको क्षेत्रमा पुनः उपस्थित हुन थालेका छन् ।

विराटनगर पनि नाट्य क्षेत्रको उर्वर भूमिका रुपमा परिचित छ । साथै विराटनगरको नाट्य क्षेत्रलाई उठाउनमा विराट आदर्श साहित्य मञ्चको पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ । आरोहण गुरुकुलबाट उदयमान भएका थुप्रै कलाकारहरु स्थापित भइसकेका छन् । आरोहण विभिन्न ठाउँबाट नाटक मञ्चन गर्न आउने स्थानको रुपमा समेत परिचित छ । र, आरोहण गुरुकुलसँग सहकार्य गरी साहित्य मञ्चले पनि नाटक मञ्चन गर्दै आएको छ । विराटनगरको नाट्य क्षेत्रलाई पुनः जागरुक बनाउन मञ्च जुटेको छ ।

वि.स. २०७१ सालमा स्थापना भएको साहित्य मञ्चले विभिन्न समयमा आधा दर्जन नाटक मञ्चन गरिसकेको छ । दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको मञ्चले विराटनगर, काठमाडौँ, पोखरा र विराटचोकमा महाकवि देवकोटाको मुनामदनसँगै अन्य नाटक मञ्चन गरिसकेको छ । पहिला नै मञ्चन गरिसकेको नाटक ‘मुनामदन’ लाई मञ्चले पुनः दर्शकमाझ प्रस्तुत गर्ने तयारीमा जुटेको छ । अहिले ‘मुनामदन’ को तयारी द्रुत गतिमा अगाडि बढेको छ । दर्शकलाई कसरी नाटकप्रति आकर्षण गर्न सकिन्छ भन्ने हेतुले मञ्च नाटकको तयारीमा लागिपरेको हो ।

मञ्चले देशका विभिन्न ठाउँमा एक सय ३३ शो मञ्चन गरिसकेको ‘मुनामदन’ लाई यसपटक अझै उत्कृष्ट बनाउने लक्ष्यका साथ मैदानमा उत्रेको देखिन्छ । नाटक मञ्चनको समय नजिकिँदै गर्दा कलाकारहरु आरोहण गुरुकुलमा अभ्यास गर्न व्यस्त भएका छन् । दर्शकलाई थिएटरसम्म तान्नेमात्र नभएर अभिनयका माध्यमबाट विगतको समयलाई ‘मुनामदन’मार्फत् नजिकबाट नियाल्ने अवसर प्राप्त हुने बताइएको छ ।

साहित्य अनुरागीका लागि मञ्चले ‘स्रस्टा र सिर्जना’ कार्यक्रम गर्दै आएको छ । मञ्चले विद्यार्थी तथा युवाहरुभित्र लुकेर रहेका प्रतिभालाई कला र साहित्यका माध्यमबाट आम स्रोता र दर्शकमाझ प्रस्फुटन गर्दै आएको छ । अभिनय गर्नेका लागि मञ्चले महत्वपूर्ण भूमिका निर्वाहसमेत गरेको छ ।

‘मुनामदन’ नाटकमा अहिले नयाँ कलाकारले नेतृत्व गरेका छन् । अन्य नाटक गरेको भए पनि ‘मुनामदन’ बाट नयाँ अनुभव हुने कलाकारले बताएका छन् । नाटकमा मुनाको भूमिकामा अनुषा कटवाललाई देख्न सकिन्छ । यसैगरी आधा दर्जनभन्दा बढी नाटकको निर्देशन र दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका सुदीपजङ्ग कार्की मदनको भूमिकामा देखिने छन् । यस्तै दिदीको भूमिकामा रञ्जु पौडेल, आमाको भूमिकामा सविना श्रेष्ठ, भोटेको भूमिकामा मानाहाङ लावती रहेका छन् । यस्तै नाटकमा अनिल खत्री, प्रदीप दाहाल, प्रवेश तिमल्सिना, पूजा कटवाल, माया राई, विमल साम्वाहाम्फे र सञ्जय गिरीलगायतको अभिनय छ ।

मदनको भूमिकामा देखिन लागेका कार्कीले विगतमा ‘मुनामदन’ नाटकको निर्देशनसमेत गरिसकेका छन् । कार्की भन्छन्, ‘लगभग दुई वर्षपछि पूर्व क्षेत्रमा नाटक गर्दै छु, पहिला आफैँले निर्देशन गरेको नाटकमा अहिले आफैँ मुख्य भूमिकामा देखिँदै छु ।’ ‘मुनामदन’लाई उत्कृष्ट बनाउन धेरै मेहनतका साथ काम गरिरहेको बताउँदै कार्कीले भने, ‘हाम्रो टिमले गरेको मेहनतअनुसार दर्शकले नाटकलाई अत्यधिक रुचाउनुहुनेछ ।’

यसअघि दर्शकले अत्यधिक रुचाएको नाटक यसपटक पनि दर्शकको प्राथमिकतामा पर्ने मञ्चका अध्यक्ष कटवाल दीपकले बताए । एक महिना अगाडिबाट नै कलाकार नाटकको तयारीमा जुटेका कारण विगतको भन्दा अझै उतकृष्ट हुने कटवालको विश्वास छ । कटवालले भने, ‘विराट आदर्श साहित्य मञ्चले नयाँ प्रतिभालाई स्थान दिएर उनीहरुको प्रतिभा उजागर गर्ने प्रयास गरिरहेको छ ।’

कोभिडको समयमा नाटक गर्नु जोखिम भए पनि लामो समयपश्चात नाटक गर्न पाउँदा सम्पूर्ण टिम उत्साहित रहेको संस्थाका संरक्षक मीनकुमार नवोदितले बताए । उनले भने, ‘पहिला हेर्ने दर्शक त अवश्य नै आउनुहुन्छ, झन् नयाँ दर्शक त नआउने कुरै भएन ।’ नाटक उत्कृष्ट बन्नेमा आयोजक टिम विश्वस्त रहेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘मुनामदन’ खण्डकाव्यको नाट्य रुपान्तरण कटवाल दीपकले गरेका छन् । यस्तै नाटकको निर्देशन कटवाल र सुदीपजङ्ग कार्कीले गरेका हुन् । ‘मुनामदन’ दर्शकको रोजाइमा पर्ने आयोजक टिमको विश्वास छ ।

कोरोना महामारीको समय भएकाले मञ्चले स्वास्थ्य सावधानी अपनाएर ‘क्युरा हेल्थ’सँग सहकार्य गर्ने जनाएको छ । मञ्चका अध्यक्ष कटवाल दीपकका अनुसार क्युरा हेल्थले नाटक मञ्चन सुरु भएदेखि अन्तिम दिनसम्म सहकार्य गर्ने छ । क्युरा हेल्थले उक्त अवसरमा ब्लड ग्रुप, ब्लड प्रेसर चेकजाँच गर्नका साथै स्वास्थ्यसम्बन्धी सचेतना जगाउने मञ्चका अध्यक्ष कटवालले बताए ।

jackson ribon