काठमाडौँ / शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताएका छन् ।
बहालवाला राज्यमन्त्रीमध्ये लामो अवधि गीत गाए वापत् ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ गराएपछि त्यसको प्रमाणपत्र लिन नयाँदिल्ली गएका मानन्धरले आइतबार स्वदेश फर्केपछि उक्त जानकारी दिए ।
मानन्धरले गत पुस १० गते चार घन्टा पाँच मिनेट २० सेकेण्डसम्म लगातार गीत गाएर उक्त रेकर्ड कायम गरेका थिए । प्रमाणपत्र लिन दिल्ली पुगेका मानन्धरले भारत सरकारका प्रतिनिधिसँग अनुदानको खोप बढाइदिन आग्रह गरेका हुन् ।
उनले भारतसँगको दुईपक्षीय सम्बन्ध थप सुधार गर्न भारतीय पक्षबीच भएका वार्तामा कुराकानी भएको पनि जानकारी दिए । भारत सरकारले नेपाललाई १० लाख डोज खोप सहयोग गरिसकेको छ ।