birat ribon

भाँडभैलो मच्चाउने गतिविधिमा बढ्दो अशुभ सङ्केत

Neuro
भाँडभैलो मच्चाउने गतिविधिमा बढ्दो अशुभ सङ्केत
नारद पोखरेल

पापको घैँटो एकदिन अवश्य फुट्छ । यो हाम्रो समाजमा सदियौँदेखि चलिआएको मान्यता हो । पौराणिक कालमा सुर–असुरबीच घमासान युद्ध हुनेगर्थ्यो । पूर्वीय मान्यताअनुसार सुर अर्थात् देवलाई सत्य र असुर अर्थात् दानवलाई असत्य भनी परिभाषित गरिएको छ । समयलाई बुझ्न नसक्दा त्यस बखत पनि सत्यमाथि असत्य हाबी हुनेगर्थ्यो । यसका कयौँ दृष्टान्त हाम्रा धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

Padelux insider
cura insider

जब सत्य–निष्ठाजस्ता मानवीय गुणलाई ओझेलमा पारिन्छ, तब समाजलाई असत्य, अधर्म र अविवेकले आक्रान्त पार्छ । असत्यको जगमा खडा भएको जस्तोसुकै नेतृत्व भए पनि विवेक–शुन्य हुन्छ । आज नेपाली राजनीतिमा त्यस्तै विवेक–शुन्य पात्र र प्रवृत्तिको वर्चश्व स्थापित गरिएको छ, जसले मुलुक कति बेला कुन भड्खालोमा पर्ने हो, त्यसको आँकलन गर्न समेत कठिन भइसकेको छ ।

यहाँ देश र जनताको नाममा वर्षौदेखि समृद्धि र सुशासनको नारा लगाइएको छ । तर लोकतान्त्रिक आवरणमा छाडातन्त्र र लुटलन्त्र मौलाएको छ । लोकतन्त्रको जग नै विध्वंशबाट निर्माण गरिएकाले यसबाट समृद्धिको घर निर्माण हुन्छ भन्ने सोच राख्नु दृष्टिदोष हुन्छ ।

आज बिस्तारै सर्वसाधारणमा लागेको भ्रमको पर्दा च्यातिन थालेको छ । हालै नेपाल बन्दको नाममा जसरी अमानवीय कार्यलाई अधिकतरले सहज रूपमा स्वीकारे, त्यसबाट यहाँको राजनीतिले सत्यको मार्ग अवलम्बन गर्ला भन्ने झिनो आशा पनि तुहिएको छ ।

कोरोनाको कारणबाट थला परेको समयमा सिङ्गो देश ठप्प पारेर जबरजस्ती बन्द गराइयो । काठमाडौँको सोह्रखुट्टेमा गरिब–मजदुरको ट्याक्सीमा आगजनी गरियो । जसोतसो ट्याक्सीचालक बाहिर निस्किन सफल भए, नत्र मानवीय क्षति पनि हुने थियो । यो समाचार विभिन्न पत्रपत्रिका तथा टेलिभिजनमा सचित्र प्रकाशन–प्रसारण भयो । यस्तो हुँदा पनि बन्दकर्ता मूल नेतृत्व बेखबर रह्यो । मानौँ जिउँदै मान्छे पोलिनु यिनका लागि आलु पोलिएसरह मात्र हो । अन्यथा त्यो दुष्कर्म गर्नेहरूलाई नागरिकले थाहा पाउनेगरी दण्ड दिनुपर्दैन ?

अहिले संसद् विघटनको मुद्दाको सेरोफेरोमा रहेर देशमा राजनीतिक अस्थिरता र भाँडभैलो मच्चाउने अनेक खेल–प्रपञ्च सुरु भएको छ । यहाँ त सम्मानित अदालतबाट जे निर्णय भए पनि एउटा पक्षले रणसङ्ग्राम मच्चाउने परिस्थिति निर्माण गरिँदै छ ।

यहाँ सरकार कहाँ छ ? कहाँ छन् बन्दकर्ताका मूलपात्रहरू ? कतै बाँदरमुढे घटनालाई पुनरावृत्ति गर्ने कुत्सित मनसायको पूर्व–अभ्यास त होइन यो ? विडम्बना नागरिकले यस्तै प्रवृत्तिको निरन्तरतालाई अग्रगामी आन्दोलन मानिदिनुपरेको छ । जबसम्म आफू र आफ्नोपन के हो भन्ने वास्तविकताको भेउ जनताले पाउँदैनन्, तबसम्म मुलुकले यही नियति भोग्नुपर्छ, जुन अहिले देशले भोगिरहेको छ ।

यता, नमच्चिने पिङको सय झड्का भनेझैँ गर्नु केही छैन, यस्तो र उस्तो भनी अर्ती दिने स्वघोषित नागरिक समाज र कथित अधिकारवादीको बेलाबेलामा सडक प्रहसन देखिन्छ । पहिले पनि र अहिले पनि नागरिक समाजका नाममा सडकमा देखिनेहरू अधिकतर त्यस्ता छन्, जो जब मालिकले बोल्ने बेला भयो भन्छन्, त्यही बेला बाजा बजाउँदै नागरिक आवरणमा देखा पर्छन् । राष्ट्र र जनताको लागि बोल्ने भए २०६३ सालदेखि अग्रगमनको नाममा देश लुटिँदा के हेरेर बसे परिचालित अधिकारवादीहरू ? सिमानामा विदेशीले नेपाली मार्दा कहाँ गयो यिनको मानवअधिकार ? निर्मला पन्त हत्या होस् वा सोह्रखुट्टेमा जिउँदो मानिसलाई ट्याक्सीभित्र राखी आगो लगाउने दुष्कर्म, यस्ता जनविरोधी गतिविधि हुँदा, कथित नागरिक समाज वा अधिकारवादीहरू बोलेको किन देखिँदैन ? देशका थुप्रै जटिल प्रश्नमा कथित नागरिक समाज वा अधिकारवादीको मौनता उदेकलाग्दो छ ।

चाहे राष्ट्रिय स्वाधिनताको प्रश्न होस् अथवा जनताले प्रत्यक्ष सरोकार राख्ने विषय हुन् त्यस्तोमा कथितहरू ‘चुँ’सम्म गर्दैनन् । जब उनीहरूको स्वार्थ हरण हुने सानो सङ्केत देखिन्छ, तब सडकमा उफ्रीउफ्री चिच्याउँछन् । यसरी जनतालाई भ्रममा पारी आफ्नो निजी अभीष्ट पूरा गर्ने स्वार्थी मनसायले गरिने जुनसुकै विरोधमा नागरिकको सरोकार हुँदैन । के वा को सही हो वा खराब जनता आफैँ छुट्याउन सक्षम छन् ।

सत्यलाई असत्यले छोपेर गरिने राजनीति न जनताका लागि हुन्छ, न देशका लागि । नेतृत्वलाई यस्तै अकर्मण्य व्यवहारसँगै राजनीति हिँडाइरहने दिने हो भने देश कहाँ पुग्ने हो ? यसप्रति जनता सचेत भएको देखिनुपर्छ ।

अहिले संसद् विघटनको मुद्दाको सेरोफेरोमा रहेर देशमा राजनीतिक अस्थिरता र भाँडभैलो मच्चाउने अनेक खेल–प्रपञ्च सुरु भएको छ । प्रतिनिधिसभा विघटन सही हो वा होइन, यो सर्वोच्च अदालतले निराकरण गर्ला । यहाँ त सम्मानित अदालतबाट जे निर्णय भए पनि एउटा पक्षले रणसङ्ग्राम मच्चाउने परिस्थिति निर्माण गरिँदै छ । आफूले गरेको कुकर्म पनि ठिक हुने, अरूबाट त्यही हुँदा असंवैधानिक वा प्रतिगमन हुने प्रवृत्तिले प्रणालीमात्र होइन सिङ्गो मुलुक सिक्किमीकरणतर्फ नजाला भन्न सकिन्न । यसो भनिरहँदा वर्तमान प्रधानमन्त्रीले जे गरे त्यो सही हो भन्न खोजिएको होइन । अहिले संसद् विघटनलाई असंवैधानिक भन्नेहरूले सेनापति हटाउने निर्णय गर्दा कुन संविधानको कुन प्रावधान अपनाएर गरे ? निर्वाचनमा शर्मनाक पराजय निश्चित भएपछि मतपेटिका बदल्न र आफ्ना सन्तान जिताउन मतपत्र च्यात्दा कुन संविधान र कानुनको दफा प्रयोग गरियो ? सोध्नमात्र खोजिएको हो ।

जनताले निर्वाचनमा मिल्काएका पात्रहरू चोरबाटोबाट सांसद, मन्त्री र प्रधानमन्त्रीसम्म बनेका उदाहरण जनताले बिर्सेका छैनन् । आफूले गर्दा जस्तोसुकै कर्म पनि जायज हुने, अरूले गर्दा प्रतिगमन भइदिने प्रवृत्तिलाई यहाँ नागरिक शासन भन्ने गरिएको छ । तर यो कस्तो नागरिक शासन हो ? कस्तो लोकतन्त्र हो ?

आजको विश्वमा लोकतन्त्रलाई अरूभन्दा उत्तम शासन–प्रणाली मानिएको छ । नेपालमा पनि लोकतन्त्रका विभिन्न मोडेलमध्ये संसदीय परिपाटी अपनाइएको छ । संसदीय व्यवस्था अवलम्बन गरेपछि यसका मूल्य–मान्यता र आदर्शविपरीत धारणा बनाउनु भनेको प्रणालीप्रति इमान्दार नहुनु हो । यहाँ त्यही भएको छ । प्रणालीलाई संसदीय भनिन्छ, व्यवहार भने गैरसंसदीय गरिन्छ ।
लोकतान्त्रिक प्रणालीको मूल आदर्श भनेकै विधिको शासन हो । स्वतन्त्र न्यायपालिका यसको मेरुदण्ड मानिन्छ । आज त्यसैमा चौतर्फी प्रहार भएको छ ।

एकातिर सडकमा आन्दोलन गर्नेहरू चालकसहित ट्याक्सीमा आगजानी गर्छन्, अर्कोतर्फ सत्तामा बस्नेहरू विधि मिचेर, औँला उठाउनेलाई चिडियाघरमा लगेर थुन्छु भन्छन् । योभन्दा चरम बेथिति के हुन्छ ? होइन भने लोकतन्त्रमा अपराध गर्ने जो कोही भए पनि कानुनबमोजिम दण्ड दिनुपर्दैन ? तर यहाँ त्यसो हुँदैन । आफ्ना समर्थकहरू फटाहा भए पनि सुपात्र मानिन्छन्, विपरीत विचार राख्नेहरू सही भए पनि प्रतिगामी कहलिन्छन् । यही प्रवृत्तिलाई यहाँ अग्रगमन संज्ञा दिइएको छ ।

विधि र प्रक्रिया मिचेर गरिने राजनीतिले देशलाई भड्खालोमा पुर्‍याउँछ, सबैलाई डुबाउँछ ।

जुनसुकै प्रणाली पनि नागरिकको पहुँच हुन सक्दामात्र त्यसले सार्थक परिणाम दिन्छ । नेता र उनका आसेपासेमात्र फस्टाउने, जनताले सधैँ कष्टकर दिनचर्या खेपिरहनुपर्ने परिस्थितिले लोकतन्त्र सफल हुँदैन । अहिले नागरिकमा राजनीतिप्रति नै चरम वितृष्णा उत्पन्न भएको छ । यसो हुँदा निराशा थपिँदै जान्छ । नागरिकमा निराशा बढ्नु भनेको देशका लागि शुभसङ्केत होइन । यस्ता गतिविधिबाट फेरि एकपटक सत्यमाथि असत्यले निर्देशित गर्न खोजेको आभास हुँदै छ ।

सत्यलाई असत्यले छोपेर गरिने राजनीति न जनताका लागि हुन्छ, न देशका लागि । नेतृत्वलाई यस्तै अकर्मण्य व्यवहारसँगै राजनीति हिँडाइरहने दिने हो भने देश कहाँ पुग्ने हो ? यसप्रति जनता सचेत भएको देखिनुपर्छ ।

नेपाली राजनीतिका नाममा विगत लामो समयदेखि सत्यमाथि असत्य हाबी भइरहेको छ । यही धरातलीय यथार्थ बुझेर राजनीतिलाई परिभाषित गर्दा मात्र लोकतन्त्र सबल बन्छ । अन्यथा विधि र प्रक्रिया मिचेर गरिने राजनीतिले देशलाई भड्खालोमा पुर्‍याउँछ, सबैलाई डुबाउँछ ।

jackson ribon