birat ribon

खोप अभाव भए नयाँ विधिको प्रयोग गर्दै जर्मनी

Neuro
खोप अभाव भए नयाँ विधिको प्रयोग गर्दै जर्मनी

विराटनगर / कोभिड–१९ को खोप अभाव भए जर्मनीले नयाँ उपचार विधिको प्रयोग गर्ने भएको छ । जर्मनीका स्वास्थ्यमन्त्री यान्स स्पानका अनुसार जर्मनीमा मोनोक्लोनल एन्टीबडी नामक नयाँ उपचार विधि प्रयोग हुने भएको छ । जर्मनीले ४८ करोड डलरमा दुई लाख मात्रामा औषधि किन्ने निर्णय गरिसकेको छ ।

अमेरिकाका नर्सिङ होमहरूमा गरिएको अध्ययनले प्रयोगशालामा ठूलो मात्रामा उत्पादन गरिने मोनोक्लोनल एन्टीबडीलाई मानिसमा कोरोना भाइरस विकास हुनबाट जोगाउन प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न सकिने देखाएको छ । कोरोना भाइरसले शरीरलाई सङ्क्रमण गर्दा, शरीरको प्रतिरक्षा प्रणालीले उत्पादन गरेको एन्टीबडी भाइरसविरुद्ध लड्ने गर्छ ।

cura insider

भाइरसको सतहमा देखिने काँडाजस्तो भाग अर्थात् स्पाइक प्रोटिनमा टाँसिने एन्टीबडीले भाइरसलाई कोषमा प्रवेश गर्न रोक लगाउँछ । शरीरमा उत्पादन हुने धेरै भिन्न प्रकारका एन्टीबडीमध्ये सबैभन्दा शक्तिशालीलाई न्यूट्रलाइजिङ एन्टीबडी भनिन्छ । स्पाइकमा सबैभन्दा राम्ररी टाँसिने एन्टीबडीलाई प्रयोगशालामा ठूलो सङ्ख्यामा उत्पादन गरिन्छ जसलाई मोनोक्लोनल एन्टीबडी भनिन्छ ।

ती सबैलाई एउटै एन्टीबडी कोषबाट क्लोन गरिएको हो । बिरामीहरूलाई एन्टीबडी दिइँदा, यसले प्रतिरक्षा प्रणालीलाई तत्कालै बलियो बनाउन सक्छ । तर, सही कोषलाई क्लोन गर्न छुट्टै राख्नुपर्ने भएकाले मोनोक्लोनल बनाउन एकदमै महँगो र समय धेरै लाग्ने हुन्छ । खोपका थुप्रै विकल्पहरू उपलब्ध भए पनि उत्पादनले अझै पनि माग धान्न सकिरहेको छैन ।

साथै, युरोपेली सङ्घलाई खोपको आपूर्ति नगर्ने सम्भावना रहेको बताइएको छ । जसकारण निकट भविष्यमै अभावको सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । एक–दुईवटा बाहेक कोभिडका लागि प्रमाणित कुनै उपचार छैन । त्यसैले पनि बिरामीको उपचारका लागि नयाँ उपाय खोज्नु महत्त्वपूर्ण भएको छ । जर्मनीमा अर्को साताबाट मोनोक्लोनल एन्टीबडी प्रयोग गरिने जनाएको छ ।

यो औषधि प्रयोग गर्ने जर्मनी युरोपेली संघमा पहिलो देश हुनेछ । यसले सुस्त रूपमा खोपको काम गर्छ । सुरुकै चरणमा दिइए यी एन्टीबडीले उच्च जोखिमका बिरामीहरूलाई थप गम्भीर हुनबाट जोगाउन सक्छ । त्यसैले खोप उपलब्ध भएकै अवस्थामा पनि यो विधि सधैँ काम लाग्ने बताइएको छ । सन् १९८० यता मोनोक्लोनल एन्टीबडीलाई औषधिको रुपमा प्रयोग गर्न थालिएको हो । यसलाई क्यान्सर, डबोलालगायतका थुप्रै रोगहरूको उपचारमा समेत प्रयोग गरिन्छ ।

jackson ribon