birat ribon

सुनसरीका सात पत्रकार पुरस्कृत

Neuro
सुनसरीका सात पत्रकार पुरस्कृत

इटहरी / हालै दिवङ्गत दुई अग्रज पत्रकारको स्मृतिमा नेपाल पत्रकार महासङ्घ सुनसरीले स्थापना गरेको पुरस्कार पहिलोपटक रत्न आचार्य र रञ्जना पौडेलले पाएका छन् । महासङ्घ सुनसरीले अग्रज पत्रकारद्वय डम्बरबहादुर थापा र महासङ्घ सुनसरीका पूर्वसभापति याम प्रधानको स्मृतिमा जनही १५/१५ हजार राशिको पुरस्कार स्थापना गरेको हो ।

महासङ्घ सुनसरी शाखाको इटहरी तालतलैयामा आयोजित १२औँ साधारणसभामा महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले पुरस्कार हस्तान्तरण गरेका थिए ।

cura insider

यस्तै, धरान उपमहानगरपालिकाको सहयोगमा स्थापित जनही २० हजार राशिको पुरस्कार पत्रकार रणध्वज लोहार र रोहित राईले पाए भने इनरुवा नगरपालिकाको सहयोग रहेको जनही २१ हजार रुपैयाँ राशिको पुरस्कार लक्ष्मी दङ्गाल र धीरेन्द्र चौधरीले पाएका छन् ।
यसैगरी, महासङ्घकी उपाध्यक्ष सुभद्रा प्याकुरेलले छोराको स्मृतिमा स्थापना गरेको १० हजार राशिको रेमन्त स्मृति पुरस्कार पत्रकार मिलन विछोडले पाएका छन् ।

साधारणसभामा महासङ्घलाई निरन्तर सहयोग गर्ने संस्था तथा व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो । स्वर्गीय पत्रकार प्रधानलाई महासङ्घले मरणोपरान्त सम्मान गरेको थियो । यस्तै, श्रमजीवी पत्रकारको हकहितका लागि काठमाडौँमा सत्याग्रह गरेका पत्रकार सुविद गुरागाईलाई समेत सम्मान गरिएको थियो ।
साधारणसभाको बन्द सत्रमा साङ्गठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । दुवै प्रतिवेदन सर्वसम्मतले पास भएको थियो । बन्द सत्रमै संसद विघटनविरुद्ध निर्णय गर्नुपर्ने विषय उठेपछि पत्रकारहरू विभाजित भएका थिए । पछि ‘मुलुकको संविधान, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिन प्रतिबद्ध रहने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षमा महासङ्घ दृढतापूर्वक उभिने’ निर्णयमा सबै सहमत भएका थिए ।

कार्यक्रममा महासङ्घका केन्द्रीय महासचिव विष्ट, पत्रकार महासङ्घ प्रदेश १ अध्यक्ष बिक्रम लुइँटेल, महासचिव विवेक गौतमलगायत विभिन्न जनप्रतिनिधि तथा पूर्वअध्यक्षहरूले बोलेका थिए ।

jackson ribon