birat ribon

काठमाडौंमा आज ओली समूहको शक्ति प्रदर्शन

Neuro
काठमाडौंमा आज ओली समूहको शक्ति प्रदर्शन

विराटनगर / संसद (प्रतिनिधिसभा) विघटन गरेर आलोच्य कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आज (शुक्रबार) राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ ।

ओलीको यो कदमपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित बनेको छ । यसअघि काठमाडौंमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले शक्ति प्रदर्शन गरेको थियो । यो समूहले शक्ति प्रदर्शनमा धेरै कार्यकर्ता उतारेपछि ओली समूहले पनि शक्ति प्रदर्शनको तयारी गरेको थियो ।

cura insider

ओली समूहले नारायणहिटी अगाडि गर्न लागेको आमसभा र शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ता काठमाडौं पुगेका छन् । यो समूहको शक्ति प्रदर्शन तय भएको अघिल्लो दिन बिहीबार दाहाल र नेपाल समूहले नेपालमा आमहडतालको आह्वान गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा नियुक्ति गरेपछि हडताल आह्वान गरिएको दाहाल र नेपाल पक्षको तर्क छ ।

सरकारले चालेका कदमको विरोध गर्नु र ओली समूहको कार्यक्रममा उपस्थित हुने नेता कार्यकर्तालाई रोक्नु हडतालको मुख्य उदेश्य रहेको स्रोतले बतायो । स्रोतका अनुसार ओली समूहले शक्ति प्रदर्शन तय गरेको अघिल्लो दिन हडताल हुँदा लामा तथा छोटा दूरीका सवारी साधन चलेनन् । जसका कारण विभिन्न जिल्लामाबाट काठमाडौं पुग्नुपर्ने ओली समूहका नेता कार्यकर्ता रोकिन पुगे ।

ओली समूहका नेताले आजको शक्ति प्रदर्शनमा तीन लाख कार्यकर्ता उतार्ने दाबी गरेका छन् । सभालाई कामचलाउ सरकारका प्रधानमन्त्री ओलीलगायतका मन्त्री र नेकपा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसको प्रचारका लागि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपाससमेत गरेको थियो ।

काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किने बताइएको छ । त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुने ओली पक्षीय नेता महेश बस्नेतले जानकारी दिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेपछि नेकपामा दुई चिरा परेको छ । त्यसयता दुवै समूहले सडक प्रदर्शन र भेलालाई तीव्र बनाएका छन् । आआफ्ना गुटका भेला आयोजना गर्दै एकअर्काप्रति आक्रामक रुपमा नेताहरु प्रस्तुत भइरहेका छन् ।

jackson ribon