birat ribon

मेस्सी पिएसजी आउने सम्भावना बलियो छ : डी मारिया

Neuro
मेस्सी पिएसजी आउने सम्भावना बलियो छ : डी मारिया

विराटनगर । अर्जेन्टिनी फरवार्ड एन्जल डी मारियाले राष्ट्रिय टोलीका सहकर्मी लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) आउने ठूलो सम्भावना भएको उल्लेख गरेका छन् । बार्सिलोना छोड्ने चर्चामा रहेका मेस्सी यसै समरमा पिएसजी आउनेमा डी मारिया विश्वस्त छन् ।

३३ वर्षीय मेस्सीले क्याप नोउ बसाइ अन्त्य गर्ने चर्चा अघिल्लो समरदेखि नै चल्दैआइरहेको छ । अघिल्लो समरमा बार्सिलोना छोड्ने धारणा सार्वजनिक गरेयता नै मेस्सी भित्र्याउने युरोपका शीर्ष क्लबहरूले योजना बनाइरहेको बताइन्छ ।

cura insider

मेस्सी र बार्सिलोनाबीचको सम्झौता ३० जुनमा सकिँदैछ । यसै मौका छोप्दै सर्वाधिक छ पटकका बालोन डी‘ओर मेस्सी अनुबन्ध गर्न फ्रेन्च च्याम्पियन क्लब पिएसजी र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले प्रयास गरिरहेको बताइन्छ ।

यस्तैमा अर्जेन्टिनी फरवार्ड डी मारियाले मेस्सी पिएसजी आउने सम्भावना बलियो रहेको बताएका छन् । ‘मेस्सी पिएसजी आउने विषयमा म आशावादी छु’, हालै एक अन्तर्वार्ताका क्रममो उनले भने, ‘मेस्सी यहाँ आउने सम्भावना बलियो छ । हामी विश्वस्त छौँ र उनी लिग वानतिर आउने प्रतीक्षामा छौँ । उनी पेरिस आएमा पिएसजी अझ मजबुत हुनेमा म ढुक्क छु ।’

सन् २००४ यता बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका मेस्सीले चार वटा च्याम्पियन्स लिग, दस वटा ला लिगा र छ पटक सुपर कपको उपाधि जितेका छन् । एक पटक फिफा द बेस्ट घोषित भएका उनले बार्सिलोनाबाट सात सय ५६ खेल खेल्दा छ सय ५० गोल र दुई सय ८४ असिस्ट गरेका छन् ।

jackson ribon