birat ribon

एक सय ८५ राउन्ड गोली बरामद

Neuro
एक सय ८५ राउन्ड गोली बरामद

विराटनगर / प्रहरीले मोरङको उर्लाबारीबाट एक सय ८५ राउन्ड बन्दुकको गोली बरामद गरेको छ ।

उर्लाबारी नपा–११, लक्ष्मीझारस्थित दलबहादुर लिम्बूको बारीमा माटोमुनि गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने सात दशमलव ६२ एमएमको गोली फेला पारिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

cura insider

स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रङको प्लास्टिकभित्र पोको पारेर माटोमुनि गाडेको अवस्थामा बुधबार दिउँसो गोली भेटेका थिए ।

गोली भेटेपछि सुवेदीले प्रहरीलाई खबर गरे । त्यसपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट पुगेको टोलीले जमिनभित्र लुकाएर राखिएको गोली बाहिर निकाल्दै बरामद गरेर घटनाको अनुसन्धान थालेको जानकारी डीएसपी राईले दिए । उनका अनुसार घटनास्थल लिम्बूको घरबाट लगभग पाँच सय मिटर दक्षिणमा पर्छ ।

गोली द्वन्द्वका समयमा सुरक्षाकर्मीबाट जोगिन माओवादीका कार्यकर्ताले गाडेको र पछि लैजान बिर्सिएको हुनसक्ने प्रहरीले जनाएको छ । सशस्त्र द्वन्द्वका समयमा माओवादी कार्यकर्ता लिम्बूको घरमा आइरहने गरेको पाइएपछि प्रहरीले गोली उनीहरुले नै लुकाएको हुनसक्ने अनुमान गरेको हो ।

लामो समयदेखि जमिनमुनि गाडेर राखिएका कारण बरामद भएका गोली पड्किने अवस्थाका भने छैनन् । खिया लागेर ‘ड्यामेज’ भएका कारण गोली काम लाग्ने र पड्कने अवस्थामा नभएको डीएसपी राईले बताए ।

jackson ribon