birat ribon

भारतबाट चोरी गरेर ल्याइएको बोलेरो गाडी बरामद

Neuro
भारतबाट चोरी गरेर ल्याइएको बोलेरो गाडी बरामद

विराटनगर / प्रहरीले भारतबाट चोरी गरेर ल्याएको अवस्थामा मोरङको सुनवर्षीबाट एउटा बोलेरो गाडी बरामद गरेको छ । नेपाल–भारत सीमानजिकबाट मोरङको सुनवर्षी नगरपालिका–८ डायनिया–सिक्टी सडक खण्डबाट गाडी बरामद गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिँदा सडकमै पार्किङ गरेर उत्तरतर्फ फर्काइराखेको बेवारिसे अवस्थामा भेटिएको गाडीमा को २ च २७८६ नम्बर उल्लेख थियो । प्रहरी अनुसन्धानबाट नेपालमा कसैको नाममा पनि उक्त गाडी दर्ता नभएको पाइएको छ ।

cura insider

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले यातायात व्यवस्था कार्यालय इटहरीले पनि गाडी नेपालमा कुनै व्यक्ति वा संस्थाका नाममा दर्ता भएको रेकर्ड फेला नपरेको लिखित जानकारी दिएको छ । एसपी खड्काले भारतबाट चोरी गरेर सुरक्षाकर्मीलाई छल्दै नेपाली नम्बरप्लेट लगाएर बलेरो गाडी ल्याइएको हुनसक्ने बताए ।

भारतीय नम्बर प्लेटको गाडी चोरेर ल्याएपछि सुरक्षाकर्मीको आँखा छल्न नेपाली नम्बर प्लेट राखिएको हुनसक्ने र गस्ती गर्दै प्रहरी आएको देखेपछि सडकमै छाडेर चालकलगायत घटनामा संलग्न फरार भएको हुनसक्ने आशंका गरिएको उनको भनाइ छ ।

चोरी गर्ने समूहको खोजी प्रहरीले गरिरहेको छ । नेपालमा सुरक्षाकर्मीलाई छल्दै चलाउने योजनाअनुसार गाडी चोरेर भारतबाट ल्याइएको हुनसक्ने एसपी खड्काले बताए । प्रहरीले गत शनिबार राति खैरो रङ्गको गाडी फेला पारेको थियो ।

तर नेपालमा कसैको नाममा पनि दर्ता नभएको पाइएपछि गाडीलाई आवश्यक कारबाहीका लागि बुधबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

jackson ribon