झापा / कनकाईका भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित रूपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजारभन्दा बढी नागरिकलाई धनीपुर्जा वितरण गरिने भएको छ । स्थानीय जनप्रतिनिधिहरूले धनीपूर्जा वितरणलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन् ।
कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले कनकाईका सबै वडामा लगत सङ्कलन तथा दर्ता शिविरको कार्य तीव्रताका साथ भइरहेका कारण यसै आर्थिक वर्षभित्रमा कनकाई नगर क्षेत्रका १० हजारभन्दा बढी घरपरिवारलाई जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।
विभिन्न बाधा व्यवधानका बीच पनि आफूहरूले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न लागेको बताए । नगरभित्रका बाटो सडक, बिजुली बत्ती, कृषि, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार निर्माणको कार्य तीव्र रूपमा भइरहे पनि धनीपुर्जा वितरणको कार्य सम्पन्न भएसँगै निर्वाचनका समयमा जनप्रतिनिधिले गरेको प्रतिबद्धता पूरा हुने नगर प्रमुख पोखरेलले बताए ।
नगरका सबै वडामा सजिलो र छिटो हुने प्रविधि टोटल स्टेसनबाटै जिपिएस प्रविधिबाट जग्गा नाप्ने कामसमेत सम्पन्न भइसकेकाले हाल वडा कार्यालयमा अन्य सेवाभन्दा पनि यसै कार्यका लागि थप कर्मचारीको व्यवस्थापन गरी दर्ता शिविर नै सञ्चालन गरिएको बताइएको छ ।
प्रदेश नंं १ को कनकाई र उदयपुरको बेलका नगरपालिकामा मात्रै यो प्रविधिबाट जग्गा नापजाँच गरी धनीपुर्जा वितरणको अन्तिम तयारीमा जुटिरहेको जनाएका छन् । आफूसँग जमिन भए पनि धनीपुर्जा नभएका कारण सिँचाइका लागि मिटरबक्स जडान गर्ने कार्यमा समस्या आएको साथै बैङ्किङ प्रयोजनका लागिसमेत धनीपुर्जा नहँुदा दुःख पाएको गुनासो सुनाउँदै कनकाई–७ की तारा काफ्ले तथा छोरा मोहन काफ्लेले स्थानीय सरकारले देखाएको सक्रियताप्रति खुसी व्यक्त गरे ।
वर्षौदेखि जमीन जोतभोग गरिरहेको भए पनि धनीपुर्जा नहुँदाको अवस्थामा भोगेको पीडा सुनाउँदै काफ्लेले ढिलै भए पनि अब घर–घरमा सिंहदरबार आए झैं महसुस हुन थालेको बताए । बसोबास भएको जमिनको धनीपुर्जा नहुँदा जे–जति समस्या झेल्नु परे पनि भावी पुस्ताका लागि अब सहज हुने आशा पलाएको स्थानीय बताउँछन् ।
आवश्यक प्रक्रिया पूरा गरी स्थानीय सरकारका तर्फबाट सम्बन्धित व्यक्ति तथा परिवारलाई बसोबास र जोतभोगका आधारमा जग्गाधनी दर्ता पूर्जा वितरण गरेरै आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउँदै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले नगरवासीलाई सकारात्मक सोचका साथ ढुक्क रहन अनुरोध गरे ।
बसोबासका लागि बढीमा एक कठ्ठा र कृषियोग्य जमिनका लागि पाँच कठ्ठा १८ धुर जमिन जोतभोगका आधारमा कनकाईवासीले निःशुल्क पाउने र बढीमा डेढ बिघासम्म जमिन केही सीमित शुल्क लिएर धनीपुर्जा वितरण गरिने तयारी रहेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।