birat ribon

नदी नियन्त्रणको अभावमा बाढीप्रभावित बढ्न सक्ने

Neuro
नदी नियन्त्रणको अभावमा बाढीप्रभावित बढ्न सक्ने

झापा / नदी नियन्त्रणका लागि कुनै पहल नहुँदा बर्खायामा यहाँका जनताले सास्ती खेप्नुपर्ने अवस्था देखिएको छ । झापाका मुख्य चार नदी कनकाई, रतुवा, मावा र विरिङले यहाँ विगतको भन्दा बढी क्षति गर्न सक्ने अनुमान गरिएको छ । गएको बर्खामा ६ सय ८९ घरधुरीलाई प्रभावित तुल्याएका यी नदीले खेतीका लागि उर्वर माटो समेत कटान गर्ने गरेका छन् । गत वर्ष यी नदीले तीन सय ५० बिघा कटान र सात साय १० बिघा डुबान गरेका थिए ।

आउँदो वर्ष बाढीले जग्गाको कटान दोब्बरभन्दा बढी हुने र प्रभावित घरधुरी र जनसङ्ख्या अझ बढ्ने जनताको तटबन्ध कार्यक्रमले गरेको पूर्वानुमान अध्ययनले देखाएको छ । कार्यक्रमका प्रमुख रूपनारायण अधिकारीका अनुसार नदी नियन्त्रण कार्य नगरिएमा आउँदो बर्खामा बाढीले झापाका एक हजार नौ सय ६५ घरधुरीका १० हजार ६ सय ९५ व्यक्तिलाई प्रभावित पार्ने अनुमान गरिएको छ । सो कार्यालयको अध्ययनले आउँदो वर्षा याममा बाढी कनकाई, विरिङ, रतुवा र मावा नदीले पाँच हजार १०५ बिघा उर्वर जग्गामा कटान र डुबान गरेर क्षति पु¥याउने प्रक्षेपण गरेको छ ।

cura insider

विगतमा नियन्त्रणका प्रयास भए तापनि कोभिड–१९ को महामारीपछि सरकारले धेरै बजेट दिन नसक्दा नदी नियन्त्रणको कार्यमा असर परेको देखिन्छ । जनताको तटबन्ध कार्यक्रमका प्रमुख अधिकारीका अनुसार तत्काल नदी नियन्त्रणका लागि ४० करोड थप बजेट आवश्यक पर्दछ । चालू आर्थिक वर्षमा सङ्घीय सरकारले २० करोड बजेट दिएको थियो । सो बजेटको ९० प्रतिशत काम भइसकेको छ ।

झापामा नदी नियन्त्रणका लागि सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले एकीकृत परियोजना ल्याउने हो भने प्रभावकारी हुने देखिन्छ । सीमित बजेटले विगतमा गरिएका नियन्त्रणका प्रयास सबै अधुरा छन् ।

नदीबाट ढुङ्गा र बालुवा उत्खनन त्रृटिपूर्ण ढङ्गबाट गरिँदासमेत नदीको बहावमा असर परी बाढीले बढी क्षति पु¥याउने गरेको छ । तटबन्धन कार्यालयका प्रमुख अधिकारीले केही वर्षयता स्थानीय पालिकाले आफूखुशी नदीजन्य पदार्थको उत्खनन गरिरहेका कारण पनि बाढीको समस्या बढेको बताए ।

‘नदीबाट ढुङ्गा बालुवा उत्खनन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गरिनुपर्दछ,’ उनले भने, ‘तर झापामा एकातिर वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने र अर्कातिर उत्खननका कार्य हुने गरेको छ । यसको भरपर्दो अनुगमन गरी अनधिकृत उत्खनन रोकिनुपर्दछ ।’ रासस

स्थानीय पालिकाले प्रदेश सरकारको सहमतिमा उत्खननको ठेक्का लगाउने र करोडौं आम्दानी गर्दैै आए पनि नदी नियन्त्रणमा बजेट छुट्याउन भने कञ्जुस्याइँ गर्दै आएका छन् ।

मध्य झापाको कनकाई नदीले शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका र झापा गाउँपालिकामा पु¥याउने क्षति सबैभन्दा बढी छ ।

बाढी गाउँमा पसेपछि विस्थापित भएका परिवारलाई विद्यालयलगायत नजिकैको सुरक्षित स्थानमा अस्थायी बासस्थान बनाएर राख्ने गरिँदै आएको छ । कनकाई नदीको बाढीले गाउँपालिका–१ को मिलनबस्तीमा सन्थाल समुदायका ८२ परिवारले वर्षेनि विस्थापितको पीडा भोग्दै आएका छन् । उनीहरुले खोला नपस्ने गरी तटबन्धन बनाइदिन माग गरे पनि सुनुवाइ भएको छैन । ‘खोला पसेर घर बगाउँछ, खाने र बस्ने केही बाँकी रहँदैन,’ झापा गाउँपालिका–१ की फुलमुनी हस्दा भन्छिन्, ‘हामी गरिबको कुरा कसैले सुनेन ।’

गाउँपालिकाका अध्यक्ष जयनारायण साहले आफ्नो क्षेत्रमा बाढीको समस्या विकराल अवस्थामा रहेको र स्थानीय स्रोत साधनले नियन्त्रणको प्रयास सम्भव नहुने बताए । अध्यक्ष साहले भने, ‘जनताको तटबन्ध कार्यक्रमसँग सहकार्य गरी यसपालि गाउँपालिकाले नदी नियन्त्रणको प्रभावकारी काम गर्ने सोचाइ बनाएको छ ।’

jackson ribon