birat ribon

हटियाले फोहोर ठाउँ बन्यो आवाद

Neuro
हटियाले फोहोर ठाउँ बन्यो आवाद

विरानगर / पहिले विराटनगर महानगरपालिका छेउको डिप्लटमा लाग्ने गरेको शनिबारे हटिया अहिले महेन्द्रचोकमा सरेको छ । यसबाट सानोतिनो व्यवसाय गरेर गुजारा गर्ने र क्रयशक्ति कमजोर भएका उपभोक्ता लाभान्वित भएका छन् ।

Padelux insider
cura insider

डिप्लटमा महानगरपालिकाले आवश्यक संरचना बनाउन थालेपछि ती व्यापारी केही दिनपहिले विराटनगरको भाटभटेनीस्थित खुला ठाउँमा सरेका थिए । तर, त्यहाँ पनि उनीहरूलाई ठाउँको अभाव थियो । हाल महेन्द्रचोकस्थित स्थानीय देवेन्द्र भण्डारीको खुला जग्गामा उनीहरूले व्यापार थालेका छन् । यस ठाउँमा शनिबार हाट भर्न आउने व्यवसायी उत्साहित बनेका छन् ।

घाँस, झार, फोहोर थुप्रिने, खुला दिसापिसाब गर्ने स्थलको रूपमा विकसित हुँदै गएको सो ठाउँ अहिले भने सफा र सिनित्त भएको छ । दिउँसै डर लाग्ने सो ठाउँ अहिले राम्रो भएको छ भने सयौँ व्यापारीका लागि कमाउने ठाउँ बनेको छ ।

जग्गा धनी देवेन्द्र भण्डारीले त्यस जग्गामा बजार लगाउन ठेकेदारलाई बहालमा दिएका छन् । ती ठेकेदारले शनिबार हाटमा पसल थाप्नेसँग भाडा असुल गर्छन् । पसलअनुसारको शुल्क तोकिएको छ । लगभग एक पसलेले मासिक एक हजारदेखि दुई हजारसम्म बहालबापत ठेकेदारलाई बुझाउने गरेका छन् ।

व्यापारीले स्थानीय होजियारी उद्योग, विराटनगर, काठमाडौँ, सुनसरीको इटहरीको थोक बिक्रेताबाट पुरानो स्टकका सामान खरिद गरी सस्तोमा बिक्री गर्ने गरेका छन् । केही व्यापारीले मानिसको घर–घरमा गई स्टिलका भाँडालगायत अन्य सामानमा साटेर सङ्कलन गरेका लुगाफाटोलाई पुनः धोएर र आइरन लगाएर बिक्रीमा ल्याउने गरका छन् ।

शृङ्गारका सामान, जुत्ता, चप्पल, बच्चाको खेलौनादेखि लिएर मःम र चटपटीको पसल रहने सो हाटमा जुत्ता, चप्पल विराटनगर, काठमाडांँैका फ्याक्ट्रीदेखि भारतका थोक बिक्रेताको बिक्री नभएर स्टकमा रहेका सामान कम मूल्यमा खरिद गरी सस्तोमा नै बिक्री गर्ने गरेको पाइन्छ । अहिले जाडोको मौसममा स्वीटर, ट्राउजर, मोटो तथा पातलो ज्याकेट, आउटर, मोजा, जुत्ता, चप्पल, पुरुषले लगाउने भित्री कपडा, शृङ्गारका सामान, टीका, सुनको जलप लगाएको नक्कली गरगहना, बालबालिकाको लागि खेलौनालगायतका सामग्री बिक्रीमा राखिएका हुन्छन् ।

सस्तोमा छानीछानी खरीद गर्न पाउने ग्राहक सकभर बिहानको समयमा निकै देखिन्छन् । उनीहरूमा त्यतिबेला राम्रो सामान सस्तोमा पाइन्छ भन्ने विश्वास छ । बजारमा सामान खरिद गर्नका लागि विराटनगरलगायत मोरङ र सुनसरीका ग्रामीण क्षेत्रका जनता तथा सीमावर्ती भारतीय उपभोक्ता पनि आउने गर्दछन् ।

शनिबारको बजारमा पसल राखेका रवि मालीले जिन्सको पाइन्ट आकारअनुसार रु ४५० देखि एक हजार मूल्यमा बिक्री गरिरहेका छन् । उनका अनुसार यो पाइन्ट बजारमा खरिद गर्न गयो भने दुई हजारभन्दा बढी मूल्य ग्राहकले तिर्नुपर्छ । उनले सोमबार सुनसरीको धरान, मङ्गलबार सुनसरीकै दुहबीमा लाग्ने हाटमा पनि आफू जाने गरेको बताए ।

यसैगरी होजीयारीका सामान बिक्री गर्ने अमरजित गुप्ताले बजारमा तीन हजारदेखि पाँच हजारसम्ममा बिक्री हुने लुगा एक सय ५० देखि तीन सय ५० रुपैयाँसम्ममा आफूले बिक्री गर्ने गरेको बताए ।

यसैगरी, जुत्ताको कारोबार गर्ने नन्दी गुप्ताले आफ्नो पसलमा भएका जुत्ता एक सयदेखि ६ सय ५० रुपैयाँसम्म बिक्री गर्ने गरेको बताए । डुलेर बिक्री गर्दा पुँजी पनि धेरै नलाग्ने र आम्दानी पनि राम्रै हुने गरेकाले १२ वर्षदेखि आफूले यो काम गर्दै आएको उनले बताए । ‘मैले विराटनगरको बजारमा दिनमा १२ हजारसम्मको सामान बिक्री गर्छु,’ उनले भने ।

वास्तविक मूल्यभन्दा ७५ प्रतिशत कम मूल्यमा सामान किन्न पाउँदा खुसी लागेको स्थानीय युवा अर्जुन सुवेदीले बताए । बजारको मुख्य सडकमा सटर भाडामा लिएर पसल गर्नेभन्दा यहाँ निकै सस्तोमा सामान खरिद गर्न पाएकाले नै ग्राहकको रोजाइमा यो बजार पर्न गएको उनको भनाइ छ ।
विराटनगर महानगरपालिकाले गरिब तथा विपन्न वर्गका जनतालाई आवश्यक पर्ने यस प्रकारको बजार हप्ताको सातै दिन सञ्चालन गर्ने सोच बनाएको छ । यसबाट धेरै हदसम्म बेरोजगारीको समस्या समाधान हुने आशा पनि गरिएको छ । रासस

jackson ribon