birat ribon

एक लाख २५ हजार बोरा रासायनिक मल भिजेर नष्ट

Neuro
एक लाख २५ हजार बोरा रासायनिक मल भिजेर नष्ट

वीरगञ्ज / खेती गर्ने समयमा किसान मल नपाएर हैरान हुन्छन् । तर, नेपाल भित्रिएको मल भने गोदाममै काम नलाग्ने भएर जान्छ । यो कस्तो दुर्भाग्य !

Padelux insider
cura insider

साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले नेपाल भित्र्याएको ६ हजार दुई सय ५० मेट्रिक टन मल यसैगरी काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको मल पानीले भिजेर डल्ला परेको हो ।

२८ करोड मूल्यबराबरको एक लाख २५ हजार बोरा मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताए ।
कर्पोरेसनले तेस्रो मुलुकबाट आयात गरी ६ हजार ६ सय मेट्रिक टन रासायनिक ल्याएको थियो जसमध्ये २८ करोड मूल्यबराबरको भिजेर काम नलाग्ने भएको हो ।

सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ । उक्त मलको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्टट्रेडिङ कर्पोरेसनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्दरगाह यार्डमा ल्याएको हो तर उक्त मल भिजेको र डल्लो परेकाले भन्सार जाँचपास गर्न अयोग्य भएको भनेर जाँचपास हुनसकेको छैन ।

सिङ्गापुर पानीजहाजमार्फत भारतको कोलकाता बन्दरगाहमा ल्याइपुर्‍याएको र त्यहाँ राखिएको अवस्था असार–साउनतिर बङ्गालको खाडीमा आएको आँधीका कारण मल भिजेको हुनसक्ने प्रमुख लामिछानेले बताए । ‘भिजेकै अवस्थामा रेलमार्गबाट वीरगञ्ज आएकाले सोको जिम्मा नेपाल सरकार र कर्पोरेसनले जिम्मेवारी लिँदैन,’ प्रमुख लामिछानेले भने ।

भिजेको र डल्लो परेको सो मलको सम्पूर्ण जिम्मेवारी आयातकर्ता स्वीस सिङ्गापुरले लिनुपर्ने बताइएको छ । भिजेर बिग्रिएको अवस्थामा सो मल आएकाले जाँचपास हुन नसकेको, भए पनि कुनै प्रयोजनका लागि प्रयोग योग्य भए मात्र जाँचपास गरिने सुक्खा बन्दरगाह कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।

उक्त रासायनिक मल खुला आकाशमुनि रेल्वे लिक वरिपरि, गोदाम एवं यार्डमा जहीतहीँ छरिएको अवस्थामा रहेकाले यार्डभित्र अन्य सामान राख्न समस्या परेको बताइएको छ । ठूलो परिमाणमा रासायनिक मल भएकाले त्यसलाई नष्ट गर्न समस्या हुने, अयोग्य मालवस्तुको जाँचपास गर्न कानुनी प्रावधान नभएकाले त्यस्ता मललाई नष्ट गर्ने प्रक्रिया अघि बढाइएको सो कार्यालयले जनाएको छ ।

नेपाल सरकारको प्रतिबोरा १३२ रुपैयाँ २० पैसा अनुदान रकममा आयात भई नेपाल भित्रिएको सो मल भिजेर डल्ला परेकाले किसानसम्म पुग्न सकेन । डलरमा प्रतीतपत्र खोलेर तेस्रो मुलुकबाट मल ल्याइएकाले नेपाल राष्ट्र बैंकको नियमानुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने कानुनी प्रावधान रहेकाले भिजेको मल भारतको कोलकाता बन्दरगाहबाटै नफर्काइ आयात गरिएको बताइएको छ ।

jackson ribon