काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बिराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छन् ।
फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्बिराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गरेकी हुन् । जोशीको तस्बिराङ्कित १० रुपैयाँको हुलाक टिकट १० लाख थान छापिएको हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ ।
गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शताब्दी पुरुष जोशीको तस्बिराङ्कित छपाइ भइआएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको थियो । गत चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले सन् २०२० को फिलाटेलिक कार्यक्रम स्वीकृत गर्दै हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीद्वारा लिखित पाँच पुस्तक र जोशीले सिर्जना गरेका गीतसङ्ग्रह ‘क्रान्तिका लहर’ नामक सिडी राष्ट्रपतिसमक्ष अर्पण गरेका थिए ।
जोशीलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । उनको सम्मानमा नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट उनको तस्बिराङ्कित चाँदीको सिक्का निष्काशन गरिएको छ । दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र एक सयको १० हजार थान दरको सिक्का निष्काशन गरिएका छन् ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक टिकट प्रकाशनको इतिहासमा आफ्नो जीवनकालमै हुलाक टिकट प्रकाशन हुने सामाजिक व्यक्तित्वका रूपमा पहिलो व्यक्ति जोशी रहेको बताए । ‘वाङ्मय शताब्दी पुरुष जोशीको आजदेखि जीवनको नयाँ इतिहास सुरु भएको छ, यो इतिहासको दस्तावेजका रूपमा रहेको छ,’ नेपाल सरकारका प्रवक्ता गुरुङले भने, ‘एक जुगमा एक दिन एक पटक आउँछ भनेजस्तै शताब्दी पुरुषको जीवनकालमा एक दिन आएको छ ।