विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको बजेट बढ्ने बताएका छन् । मङ्गलबार प्रज्ञा भवन कमलादीमा ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाका कारण अघिल्लो बजेट घटेको भएपनि कोरोना नियन्त्रणपछि बजेट बढ्ने उल्लेख गरे ।
कोरोना महामारीका कारण यस आर्थिक वर्षमा बजेट घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘खेल क्षेत्रमा बजेट घटेको गुनासो आए । कोरोनाका कारण बजेट घटेको हो । सन् २०२१ भित्र हामी कोरोनालाई लखेट्छौँ । यसको थालनी भइसकेको छ । कोरोना नियन्त्रणपछि बजेट बढ्नेछ ।’ उनले आगामी आर्थिक वर्षमा बजेट बढेर आउने पनि बताए ।
यसैगरी उनले सातै प्रदेशमा स्टेडियम निर्माण गर्न पनि बजेटको व्यवस्था गरिने उनले बताए ।
यस्तै ओलीले प्रशिक्षणमा चाहिने सबै सामाग्री उपलब्ध गराइने बताएका छन् । खेलकुद क्षेत्रमा पर्याप्त प्रशिक्षण नभएको उल्लेख गर्दै प्रशिक्षणमा चाहिने सबै सामाग्री सरकारले उपलब्ध गराउने बताए ।
‘खेलमा अभ्यासको कमी देखिएको छ । त्यसलाई बढाउनका लागि सबै सामाग्री उपलब्ध गराइनेछ । प्रशिक्षकको व्यवस्था गरिनेछ, प्राविधिक सामाग्री उपलब्ध गराइने छ र सुविधा पनि बढ्नेछ । अभ्यासलाई राम्रो तहमा उठाउन राम्रो तयारी गर्नुपर्छ’, उनले थपे ।
यस्तै ओलीले कोरोना नियन्त्रणपछि खेलक्षेत्र अझ तीव्र गतिका कारण अगाडि बढ्ने बताए ।