विराटनगर/विराटनगरको रोटरी क्लब मिडटाउनले विराटनगर विमानस्थल रोडलाई ‘ओपन जोन’ को रुपमा विकास गर्ने योजना अघि सारेको छ । विराटनगर महानगरपालिकासँगको साझेदारीमा ग्रिनरीसहित ओपन जोन बनाउने योजना अघि सारेको हो ।
मिडटाउनका अध्यक्ष पुन्य भट्टराईका अनुसार पाँच सय मिटर सडकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अघि सारिएको छ । सडकको दायाँ–बायाँ ग्रिनरीसहित, विद्युतीकरण गर्न लागिएको उनले बताए ।
शौचालय, पार्किङसहित स्ट्रिट रोडको विकासका लागि एक करोड ५० लाख लाग्ने अनुमान छ । सोमध्ये मिडाउनले २५ लाख लगानी गर्ने भट्टराईले बताए ।
‘महानगरपालिकासँगको साझेदारीमा बनाउने हाम्रो प्रस्ताव हो,’ उनले भने, ‘निर्माणपछि मर्मत र संरक्षणको जिम्मेवारी क्लबको हुन्छ ।’ विराटनगर महानगरपालिकाले काम गर्ने इच्छा देखाएको खण्डमा छ महिनाभित्र काम सकिने उनले बताए ।