काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता दाबी गरेको छ ।
मङ्गलबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताहरुको टोली निर्वाचन आयोग पुगी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी गरेका हुन् ।
नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको ७० प्रतिशतभन्दा बढी केन्द्रीय कमिटी सदस्यहरुको उपस्थितिमा बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय, तथ्य, प्रमाण र नेकपाको विधानलगायतका सबै कुरा राखेर दाबी प्रस्तुत गरिएको जानकारी दिए ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार दुई अध्यक्ष रहेको पार्टी नै आधिकारिक पार्टी भनेर दाबी प्रस्तुत गरेको उनको भनाइ छ ।
दल विवादको निरुपण नभई कुनै पनि चुनाव सम्पन्न हुन नसक्ने भन्दै वरिष्ठ नेता खनालले दलको विवाद समाधान गर्नु निर्वाचन आयोगको पहिलो प्राथमिकता रहको बताए । दल ऐनमा टेकेर आयोगले पार्टीको निर्णय र विधानको आधारमा ठोस निर्णय गर्नुपर्ने उनको भनाइ छ । उनले पार्टीको आधिकारिकता आफूहरुले पाउने विश्वास व्यक्त गरे ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता राजेन्द्र पाण्डेले पार्टीको विधानबमोजिम २५ प्रतिशत केन्द्रीय कमिटी सदस्यले बैठक माग गरेअनुसार सोमबार बैठक बसी सो बैठकको निर्णयअनुसार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न आएको बताए ।
दुई सय ७५ जना केन्द्रीय कमिटी सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गरिएको उनको भनाइ छ । नेता पाण्डेले नेकपाको विवाद निरुपण नगरी निर्वाचनको अन्य कार्यक्रम नहुने बताए ।