birat ribon

म्यानमारमाथि प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी, राष्ट्र सङ्घको सुरक्षा परिषद् बैठक बस्दै

Neuro
म्यानमारमाथि प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी, राष्ट्र सङ्घको सुरक्षा परिषद् बैठक बस्दै

विराटनगर / आफूलाई विश्वकै शक्तिशाली मुलुक दाबी गर्ने अमेरिकाले म्यानमारको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा गम्भीर चासो व्यक्त गरेको छ ।

Padelux insider
cura insider

सैनिक ‘कु’ भएको म्यानमारमाथि तत्काल प्रतिबन्ध लगाउने चेतावनी पनि उसले दिएको छ । सोमबार भएको ‘कु’ नसच्चिए जुनसुकै बेला प्रतिबन्ध लगाउने उद्घोष अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका छन् । म्यानमारको सेनाले नागरिक सरकारलाई अपदस्थ गरेर सैनिक ‘कु’ गर्दै प्रजातन्त्रवादी नेतृ आङ सान सुकी, राष्ट्रपतिसहित दलका नेताहरूलाई नियन्त्रण लिएको छ ।

बाइडेनले यस घटनालाई अमेरिकाले नजिकबाट नियालिरहेको बताउँदै यसअघि हटाइएका प्रतिबन्धहरू फेरि लगाउने चेतावनी दिएका हुन्। गएको दशकमा म्यानमारको प्रजातान्त्रिक प्रणालीतर्फको प्रगति हेरेर अमेरिकाले प्रतिबन्ध हटाएको थियो। तर ती प्रगतिमा प्रतिगमन भएपछि प्रतिबन्धको नीतिमा आवश्यक कदमसहित तत्काल पुनर्विचार गर्नुपर्ने अवस्था आएको अमेरिकाले जनाएको छ ।

बाइडेनले सैनिक ‘कु’ को भत्सर्ना पनि गरेका छन् । नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीसहितका नेताहरूलाई पक्राउ गर्नु म्यानमारको प्रजातान्त्रिक रूपान्तरण र कानुनको शासनमाथिको प्रहार भएको उनले उल्लेख गरेका छन् ।

बाइडेनले सेनाको नियन्त्रणमा रहेका सबैको रिहाइका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गरेका छन्। १२ दिनअघि अमेरिकाको राष्ट्रपति बनेका बाइडेनका लागि मित्र राष्ट्रहरूलाई एकसाथ लिएर अघि बढ्नुपर्ने चुनौती भएको यो पहिलो अन्तर्राष्ट्रिय घटना हो।

बाइडेनले म्यानमारको सैनिकलाई तत्काल टेलिफोन र इन्टरनेटमा लगाइएको प्रतिबन्ध हटाउन भनेका पनि छन्। उनले यो कठिन घडीमा म्यानमारका नागरिकका पक्षमा उभिएकाको बारेमा पनि नियाल्ने काम भइरहेको बताए ।

म्यानमारमा प्रजातन्त्र र कानुनको शासन पुनर्स्थापना गर्नुपर्ने आफूहरुको सर्त रहेको उनले बताए । बर्माको प्रजातान्त्रिक प्रणालीलाई अवरोध गर्न खोज्नेहरूलाई पनि जिम्मेवार बनाइने चेतावनी उनको छ ।

यसैबीच, म्यानमारमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको बैठक मङ्गलबार बस्दै छ। सुरक्षा परिषद् सदस्य रहेको चीनले यो घटनामा कस्तो प्रतिक्रिया दिन्छ भन्नेमा धेरैलाई चासो छ।

jackson ribon