विराटनगर / सरकारले भारत र चीनसँग सीमा जोडिएका ३० वटा नाकामा माघ १६ गतेदेखि आवगमन सहज बनाउने निर्णय गरे पनि विराटनगरको रानी (जोगबनी) नाका भने खुलेको हो कि बन्द भएको हो छुट्याउन सकिँदैन ।
कारण रानी–जोगबनी वारपार गर्ने मान्छे चोरबाटो हुँदै आऊ–जाऊ गरिरहेकै छन्, विभिन्न कारखानाका कच्चा पदार्थ बोकेर नेपाल भित्रिने लामा–लामा ट्रक–लहरीहरू मूलबाटो हुँदै आइरहेकै–गइरहेकै छन् । वारि रानी र पारि जोगबनी दुवैतिरको बजार खुला छ । पहुँचवाला तथा पदमा भएकाहरू मूलबाटो हुँदै वारि–पारि आउने–जाने गरिरहेका छन् । पारिको सामान वारि र वारिको सामान पारि सस्तोमा किनेर महँगोमा बिक्री गर्नेले गरेकै छन् ।
मात्र पैदलवाला, सर्वसाधारणलाई मूलबाटो हिँड्न रोकिएको छ । देखावटी रूपमा दिउँसो मूलबाटो गजबार तेर्स्याएर नाका सुनसान पारिएको छ । नाका बन्द छ भन्दै दुनियाँको आँखामा ‘धुलो’ हालिएको छ ।
भारतसँग सीमा जोडिएका मोरङको रानी (जोगबनी) सुनसरीको भान्टाबारी (भीमनगर)सहित २८ तथा चीनसँग सीमा जोडिएका सिन्धुपाल्चोकको तातोपानी (खासा) र रसुवागढी (केरुङ) गरी ३० वटा नाका सर्वसाधारणको आवागमनका लागि खुला गर्ने निर्णय गरेको थियो ।
गृह मन्त्रालयले सुरक्षा सतर्कताका उपाय अपनाउँदै खुला गर्ने भनेका अन्य नाकाहरूका सप्तरीको हनुमाननगर (कुनौली), इलामको पशुपतिनगर (फाटक), झापाको काँकडभिट्टा तथा खजुरगाछी, सिरहाको माडर, सर्लाहीको मलङ्गवा रहेका छन् ।
धनुषाको जटही तथा इनरुवा, महोत्तरीको भिट्टामोड, रौतहटको गौर तथा बङ्कुल, बाराको मटिअर्वा तथा सिम्रौनगढ, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, पूर्वी नवलपरासीको त्रिवेणी, पश्चिमी नवलपरासीको महेशपुर नाका खोल्ने सरकारी निर्णय छ । कपिलवस्तुको तौलिहवा तथा कृष्णनगर, दाङको कोइलाबास, बाँकेको जमुनाह, बर्दियाको सुरजपुर, कैलालीको गौरीफन्टा, कन्चनपुरको गड्डाचौकी, दार्चुलाको खलङ्गा तथा पुलाघाट र बैतडीको झुलाघाट नाका खुलेको सङ्घीय सरकारले जनाएको छ ।

तर २०७६ चैत ११ गते लकडाउन सुरुभएसँगै १० महिनादेखि बन्द सीमानाका खोलेर आवागमन सहज बनाउने सरकारी निर्णय भए पनि जिल्ला तथा स्थानीय प्रशासन बिलखबन्दमा परेका कारण सर्वसाधारणले सास्ती बेहोर्नु परिरहेको छ । कोरोना सङ्क्रमण कम हुँदै गइरहे पनि लामो समयदेखि बन्द गरिएको नाका नखुल्दा आफूहरू मारमा परेको स्थानीय अब्दुल हमिदले बताए ।
युथ युनिटी अफ नेपालका उपाध्यक्षसमेत रहेका हमिदका अनुसार सबैतिरको अवस्था सहज हुँदा पनि अति आवश्यक काममा समेत सर्वसाधारणको आवागमन निषेध गरिएको छ तर ठुलाबडाको निर्बाध आउजाउ भने चलिरहेकै छ ।
सरकारले नाका खुलाउने निर्णय गरेको थाहा पाएर आइतबार स्थानीय केही युवाहरू सामूहिक रूपमा जोगबनीतिर जान खोजेका थिए तर सीमा सुरक्षा बल, सशस्त्र प्रहरीले ‘यसरी जान मिल्दैन’ भन्दै रोके । प्रहरीले मूलबाटो हुँदै नाका पारि जान नदिएपछि ती युवाहरू विरोध प्रदर्शनमा उत्रिएका थिए । स्थानीय युवाले विगतजस्तै मूलनाकाबाट स्वतन्त्र आवतजावत गर्न पाउनुपर्ने माग राख्दै युथ युनिटी अफ नेपालको ब्यानरसहित रानी क्षेत्रमा प्रदर्शन गरेका थिए ।
युनिटीका उपाध्यक्ष हमिदले भने जस्तै रानी–जोगबनी नाकामा सर्वसाधारणलाई मात्र रोकिएको छ, पदवाला–पहुँचवालालाई कुनै छेकबार छैन । उल्टै नेपाल–भारतका प्रहरीहरूले स्कटिङ गरेर ‘भिआइपी’हरूको आवतजावत र किनमेल सहज बनाउँछन् ।
रानी–जोगबनी नाकामा सर्वसाधारणलाई मात्र रोकिएको छ, पदवाला–पहुँचवालालाई कुनै छेकबार छैन । उल्टै नेपाल–भारतका प्रहरीहरूले स्कटिङ गरेर ‘भिआइपी’हरूको आवतजावत र किनमेल सहज बनाउँछन् ।
स्थानीयका अनुसार नेपाल प्रहरीका एसएसपी कृष्णहरि शर्मा आइतबार परिवारका सदस्य र आफन्तसहित सहजै भारतको जोगबनी पुगे, मजाले किनमेल गरे र फर्किए । जोगबनीमा घरायसी सामान किनमेलका लागि तीन–चारघण्टा समय आरामले बिताएर साँझ नेपाल फर्किएको यो टोलीलाई न कसैले रोक्यो, न टोलीका सदस्यहरूले आवश्यक सुरक्षा मापदण्ड पूरा गर्नुप¥यो । उल्टै टोलीलाई नाका कटाएर जोगबनी पुर्याउन सादा पोसाकका प्रहरीले सहयोग गरेका थिए ।
प्रहरीका अधिकृत नै घरायसी कामका लागि जोगबनी गएसँगै नाका अनुमान लगाउँदै केही सर्वसाधारण जोगबनीतिर जान पनि खोजेका थिए । तर प्रहरीले सर्वसाधारणलाई भने रोकेका थिए । मूलबाटोबाट छिर्न नपाएपछि उनीहरू यसअघि झै दरैया टोलको चोरबाटो हुँदै भारततिर लागे ।
सरकारले सीमानाकामा आवागमन सहज बनाउने निर्णय गरे पनि सामान्य जनताका लागि रानी–जोगबनीबीचको छेकबार हटाइएको छैन । सर्वसाधारणले प्रयोग गर्ने सवारीसाधनको आवतजावत रोकिएको छ । मुख्य नाकामा ढाट लगाए पनि किनमेल र घरासयी कामका लागि चोर बाटो हुँदै लुकीछिपी पैदलयात्रीको सङ्ख्या ठुलो छ ।

चोरबाटो प्रयोग गर्नेहरूलाई रोक्न दुवैतर्फका सुरक्षाकर्मीलाई हम्मेहम्मे पर्ने गरेको छ । स्थानीय सन्तोष रायका अनुसार नेपालमा नपाइने अत्यावश्यक औषधि खरिद गर्न जान लाग्दासमेत सर्वसाधारणलाई रोकिन्छ । कोरोनाबाट बच्न आवश्यक सुरक्षा मापदण्डको पालना गर्दै व्यवस्थित रूपमा आवतजावत गर्ने वातावरण बनाइदिन सरकारसँग पटकपटक माग राखिए पनि सुनुवाइ भएको छैन ।
गृह मन्त्रालयले आवश्यक सुरक्षा प्रोटोकलसहित रानी भन्सार तथा नाका खुला गर्न पत्राचार गरे पनि नयाँ प्रकारको भाइरसको जोखिम देखापरेपछि नाकामा कडाइ गर्नुपरेको मोरङ प्रशासनको भनाइ छ । ‘सर्वसाधारणको आवश्यकता र जटिलता हेरेर सर्तसहित नाका खुला राख्ने निर्देशन आएको छ,’ मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने, ‘सामान्य अवस्था जस्तो किनमेल र घुमफिरका लागि नेपाल–भारत आवतजावत गर्न पाइँदैन । सरकारले नाका पूर्ववत् खुला गर्नू भनेको छैन ।’
उनकाअनुसार आवश्यक मापदण्ड पूरा गर्ने नेपाली नागरिकले आवतजावत गर्न पाए पनि कोरोनाको जोखिम कायमै रहेकाले दुई देशबीच पूर्ण रूपमा आवतजावत र सवारीसाधन सञ्चालन गर्न रोकिएको हो । नाका हुँदै आवतजावत गर्न चाहनेले तोकिएको नियम पूरा गर्नुपर्छ ।