काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।
सोमबार काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बसेको नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटीको चौथो बैठकले यसअघिको स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको बताए ।
यस्तै स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई निष्काशन गरेको निर्णयलाई समेत अनुमोदन गरेको श्रेष्ठले बताए । उनले भने, ‘बैठकले यसअघि बसेको स्थायी कमिटीको प्रस्तावअनुसार केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको छ । साथसाथै स्थायी कमिटीले नै पार्टीबाट महासचिवलाई पदमुक्त गरिसकेको सन्दर्भमा त्यो निर्णयलाई पनि केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।’
बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले बताए । यसअघि पार्टीको बैठकले पदाधिकारीको फेरबदल गर्ने निर्णयसहित अद्यावधिक गर्न अनुरोध गरेकोमा निर्वाचन आयोगले अद्ययावधिक नगरी पार्टीलाई पत्र पठाएको सन्दर्भमा पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।
प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् प्रतिगामी कदमका विरुद्धका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको र अर्को चरणको सङ्घर्षका कार्यक्रम घोषणा भइसकेको सन्दर्भमा पार्टीका सबै कमिटीहरूलाई परिचालन हुन निर्देशन जारी गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।
यस्तै बैठकले म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध घटेको घटनालाई अनुपयुक्त भन्दै निन्दा गरेको समेत प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘हिजो मात्रै म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध लोकतन्त्रका विरुद्ध जुन घटना घटेको छ त्यो घटनालाई हाम्रो पार्टीले अनुपयुक्त भन्दै निन्दा गरेको छ । थप घटनाक्रमको विकासलाई पार्टीले गम्भीरतापूर्वक नियाल्नेछ र पार्टी सधैँ लोकतन्त्रको पक्षमा छ र त्यसप्रति हाम्रो नैतिक समर्थन रहेको छ ।’