birat ribon

बर्डफ्लु नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’

Neuro
बर्डफ्लु नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’

काठमाडौँ/कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ । बर्डफ्लु नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’ तयार गरेर सतर्क अवस्थामा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताए ।

Padelux insider
cura insider

सहसचिव निर्मलले काठमाडौँको तारकेश्वर नगरपालिका–७ साङ्खोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन गरी परीक्षणको दायरा बढाएको बताए । कुनै पनि फार्ममा बर्डफ्लु पुष्टि भएमा तत्काल र्‍यापिड रेस्पोन्स टिमले कुखुरा नष्ट गर्ने काम गर्ने पनि उनले बताए ।

नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लु देखिएको छ । यस्तै अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि सहसचिव निर्मलले प्रष्ट पारे । अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट रहेको पनि बताए । जुन भाइरस विगतमा देखिएको एच फाइभ एन वानभन्दा कम खतरा रहेको डा. निर्मलको भनाइ छ ।

तर एच फाइभ एन एटमा एच फाइभ एन वान मिसिन सक्ने भएकाले जोखिम उत्तिकै रहेको मानेर त्यसको नियन्त्रणका लागि सरकारी निकायहरूबीच छलफल भइराखेको पनि उनले बताए । मन्त्रालयले विभिन्न प्रयोगशाला, आठ वटा क्वारेन्टाइन कार्यालय, २४ वटा चेकपोस्टलाई सतर्क अवस्थामा राखेको पनि बताए ।

डा. निर्मलले मासु व्यवसायी र किसान जो कुखुराको प्रत्यक्ष सम्पर्कमा छन् उनीहरूलाई ठूलो मात्रामा कुखुरा मरेको पाइए तत्काल जानकारी गराउनसमेत आग्रह गरे । त्यसबाहेक कुखुरा फार्म तथा मासु पसलमा काम गर्दा मास्क लगाउने, केस छोप्ने, बुट लगाउने, एप्रोन लगाउने, फार्मलाई डिसइन्फेक्ट गर्ने, बाहिरी मान्छे र अन्य चराचरुङ्गी तथा जनावरलाई जान नदिने किसिमको सतर्कता अपनाउनसमेत आग्रह गरे । उपभोक्ताले पनि न्यूनतम ७० डिग्री तापक्रममा मासु पकाएर खान सक्ने उनले बताए ।

मन्त्रालयले स्थानीय निकायहरूसँग पनि समन्वय गरी अनुगमन गरिरहेकोले कसैले मरेका कुखुरालाई काटेर बिक्री–वितरण गरेको पाइए कारबाही गर्नेसमेत जानकारी दिए ।

jackson ribon