विराटनगर/हड्डी शरीरका लागि धेरै महत्त्वपूर्ण हुन्छन् ।
शरीरलाई संरचना प्रदान गर्न, अङ्गहरूको सुरक्षा गर्न, मांसपेशीलाई सहयता दिन र क्याल्सियम भण्डारण गर्नेलगायतका हड्डीका धेरै भूमिका छन् । बाल्यावस्था र किशोरावस्थामा बलियो र स्वस्थ हड्डीहरू निर्माण गर्न महत्त्वपूर्ण हुन्छ । साथै उमेर बढेसँगै हड्डीको स्वास्थ्यलाई जोगाउन विभिन्न उपाय अपनाउनुपर्ने हुन्छ । हड्डीहरू निरन्तर परिवर्तन भइरहेका हुन्छन् ।
नयाँ हड्डी बनिरहने र पुरानो हड्डी भाँचिरहने प्रक्रिया शरीरमा भइरहेको हुन्छ । जवान हुँदा शरीरले नयाँ हड्डी बनाउने प्रक्रिया पुरानो हड्डी फुट्नेभन्दा छिटो हुन्छ र हड्डीको मात्रा बढ्छ । प्रायः व्यक्ति लगभग ३० वर्षको उमेरमा हड्डीको माससम्म पुग्छन् । त्यसपछि, हड्डी पुनः निर्माण जारी रहे पनि बन्ने हड्डीको मासभन्दा गुमाउने हड्डीको मास धेरै हुँदै जान्छ ।
हड्डीको गुणस्तर तथा घनत्व कम हुँदै हड्डी कमजोर हुन्छ र योसँगै आस्टियोपोरोसिस हुने सम्भावना पनि बढेर जान्छ । उमेर, लिङ्ग, खानामा क्याल्सियमको मात्रा, घुम्रपान तथा मदिरापान, व्यायामको कमी, तौल, शरीरमा हर्मोनको मात्रा, पारिवारिक इतिहास, खानपानसम्बन्धी समस्या, केही रोग र औषधिको सेवनका कारण हड्डी कमजोर हुने हुन्छ ।
उमेर बढेसँगै, शरीरमा अत्यधिक तौल भएमा, पुरुषको तुलनामा महिलालाई, थाइराइड हर्मोन अत्यधिक भएमा, महिनाबारी रोकिएपछि, टेरेस्टोरोन हर्मोनको कमी, तौल घटाउने वा पेटको शल्यक्रिया गरेकामा, परिवारमा पहिला कसैलाई हड्डीको समस्या भएकामा आस्टियोपोरोसिस हुने सम्भावना बढ्छ । उमेर बढेसँगै हड्डीलाई बलियो बनाउनका लागि केही कुरामा ध्यान पु¥याउनु पर्छ ।
खानामा प्रशस्त मात्रामा क्याल्सियम समावेस गर्ने, शरीरमा भिटामिन डीको मात्रा पुर्याउनु पर्ने, नियमित शारीरिक गतिविधि वा व्यायाममा ध्यान दिनुपर्ने तथा चुरोट, रक्सी तथा सुर्तीजन्य पदार्थको सेवनलाई त्यागेर हड्डीलाई कमजोर हुनबाट रोक्न सकिन्छ । हड्डीको घनत्वको नियमित जाँचबाट पनि सम्भावित जोखिम रोक्न सकिन्छ ।