birat ribon

दुई पालिकाको सीमामा भएकाले मन्दिर निर्माणमा दुवै उदासीन

Neuro
दुई पालिकाको सीमामा भएकाले मन्दिर निर्माणमा दुवै उदासीन

पाँचथर/फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाको सिमानामा अवस्थित साझा धार्मिकस्थल ‘बूढीथाम’को जीर्णोद्वार हुन सकेको छैन ।

Padelux insider
cura insider

दुई स्थानीय तहको सिमानामा पर्नाले बूढीथाम मन्दिर संरक्षण र जीर्णोद्वारमा दवै स्थानीय निकायले चासो दिएका छैनन् । सो मन्दिर फिदिम नगरपालिका–१२ र १३ तथा फालेलुङ गाउँपालिका–६ को सीमामा पर्छ ।

भत्किएको मन्दिर जीर्णोद्वार नहुँदा मन्दिरको अस्तित्व नै सङ्कटमा परेको छ । संरक्षणमा सक्रिय हुनुपर्ने स्थानीय सरकार सहकार्यको अभाव तथा परम्परागतरूपमा मन्दिरको मर्मत र रेखदेख गर्ने स्थानीयवासीले समेत पर्याप्त चासो नदिँदा भत्किएको मन्दिरको जीर्णोद्वार हुन नसकेको हो । यो मन्दिर हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको साझा धार्मिकस्थलका रूपमा रहेको छ ।

मन्दिरमै आधारित संरचनामा करोडौँ लगानी, उठेन ढलेको मन्दिर

बूढीथाम पुग्न फालेलुङ गाउँपालिका–६ तालखर्कबाट थुम्का–थुम्का परेको डाँडातर्फ जङ्गलै–जङ्गल सिँढी मार्ग बनाइएको छ । हरियो झारले बेरिएका रुखको सुन्दरताभित्र झण्डै एक हजार सात मिटर लामो सिँढी मार्गले यो ठाउँ निकै आकर्षक देखिन्छ । ढलान नगरिएको सिँढीमार्गमा आकर्षक ढङ्गले ढुङ्गा बिछ्याइएका छन् ।

सिँढीमार्ग टुङ्गिएपछि गोरेटो बाटो हुँदै बुढीथाम मन्दिर रहेको स्थानमा पुगिन्छ । यो सिँढीमार्गको पल्लोपट्टि फिदिम नगरपालिका–१३ बाघखोर भञ्ज्याङबाट पनि ढलानसहितको सिँढीमार्ग निर्माण थालिएको छ । मन्दिर रहेको डाँडाको शिरमा समथर परेको स्थानमा दृश्यावलोकन खम्बा (भ्यू–टावर)निर्माण भइरहेको छ । भ्यू–टावरको एक तला ढलान भइसकेको छ ।

यतिका संरचना निर्माण भइरहे पनि निर्माणाधीन भ्यू–टावरको अघिल्तिर लथालिङ्ग अवस्थामा रहेको मन्दिर र मन्दिरको कुण्ड बेवारिसे छ । बूढीथाममा सहायक संरचनाका लागि लाखौँ लगानी भए पनि मुख्य संरचना भग्नावशेषमा परिणत हुन लागेको हो ।

सरकारी निकायले मन्दिर लक्षित सहायक संरचना निर्माणमा लाखौँ रुपैयाँ लगानी गरिसकेका छन् । तर सिमानामा परेका कारण जीर्णोद्वार र संरक्षण नहुँदा धार्मिक महत्त्व बोकेको बूढीथाम पहिचान मेटिने अवस्थामा पुगेको हो । जीर्णोद्वार र संरक्षण गर्ने विषयमा दुई स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा यस्तो अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् ।

विगतमा यहाँ धार्मिक अनुष्ठान हुँदै आएकामा पछिल्लो समय त्यस्ता गतिविधि नभएपछि यो स्थानको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक पहिचान मेटिने अवस्था आएको हो । विसं २०७२ को भूकम्पले भत्किएको मन्दिरको संरचना त्यसपछि संरक्षण र जीर्णोद्वार नहुँदा लथालिङ्ग अवस्थामा पुगेको फालेलुङ गाउँ कार्यपालिकाका सदस्य पनिता राईको भनाइ छ ।

संरचना निर्माणमा विवाद

फालेलुङ–६ की तारावती राईका अनुसार फालेलुङ र फिदिमको सिमानामा परेकाले संरचना निर्माणमा विवाद भएको थियो । तर निर्माण उपभोक्ता समितिमा दुवैतर्फबाट प्रतिनिधित्व गराई संरचना निर्माण थालियो । अन्य संरचना निर्माणको कामले गति लिए पनि मन्दिरमा ध्यान नपुगेको उनको गुनासो छ । ‘अलपत्र अवस्थामा पुगेको संरचनाको जीर्णोद्वार र संरक्षणका लागि अब माथिल्ला सरकारले अनुगमन र बजेट विनियोजन गर्नुपर्छ,’ राईले भनिन्, ‘बूढीथाम आफैँमा रमणीय त छ नै यसको धार्मिक महत्त्वसमेत विशिष्ट छ ।’

मन्दिरको जीर्णोद्वारमा प्रभावकारी पहल हुन नसकेको राईको भनाइ छ । फालेलुङ–६ तालखर्कका कमल गुरुङ बूढीथामलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेर काम गर्दै आए पनि पुराना संरचनाको जीर्णोद्वार र संरक्षण गर्न समस्या भएको बताउँछन् ।

फालेलुङ–६ का वडाध्यक्ष सुजाता बान्तवा यहाँ संरचना निर्माणका लागि उपभोक्ता समिति गठनका क्रममा क्षेत्रगत विवाद हुने गरेको बताउँछन् । ‘धेरै मेहनत गरेर सहजीकरण गरी दुवै स्थानीय तहबाट निर्माणका काम अगाडि बढाएका छौँ,’ वडाध्यक्ष बान्तवाले भने, ‘फालेलुङ–६ ले सबैभन्दा बढी महत्त्व दिएर काम गर्दै आएको छ ।’ सिँढी निर्माणमा करिब १५ लाख तथा टावर निर्माणमा करिब १८ लाख रुपैयाँ खर्च भइसकेको छ ।

बहुधार्मिक गन्तव्य

फालेलुङ–६ का कमल गुरुङका अनुसार सेतै फूलेकी एक बूढी महिला सिक्का सुकाएर बसेको अवस्थामा भेडा गोठालाले देखेको किंबदन्तीका आधारमा यस स्थानको नाम बूढीथाम रहन गएको हो । यद्यपि अहिले यस स्थानलाई बूढीथान र बूढीधामसमेत भन्ने गरिएको छ । विगतमा यहाँ दुई वटा पोखरी रहेको स्थानीयवासी विश्वास गर्छन् ।

घना जङ्गल रहेको यस स्थानमा विगतमा अजिङ्गरसमेत देखिने गरेकाले प्रत्येक वर्ष उधौलीको समयमा यहाँ पूजापाठ गर्ने गरिएको थियो । यहाँ राई, लिम्बू, गुरुङ, ब्राह्मण, क्षेत्रीलगायत जातजातिले समान आस्था र विश्वासले पूजा पाठ गर्ने गरेका छन् । यस स्थानमा महागुरु फाल्गुनन्दले तपस्या गरेको तथा भगवान्को बास रहेको भनी सन्देश दिएको स्थानीयवासी बताउँछन् ।

फिदिम–१३ का स्थायी बासिन्दासमेत रहनुभएका जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख डिल्लीराम दुलालका अनुसार विभिन्न किंबदन्तीमा कुनै भगवान्ले उक्त ढुङ्गा छेलो हानेको विश्वास गर्ने गरिएको छ । ढुङ्गालाई मानिसले गाईका अतिरिक्त अन्य आकृतिमा समेत देख्ने हुँदा यसलाई विशिष्ट धार्मिक गन्तव्य मान्ने गरिएको छ ।

jackson ribon