birat ribon

नमुना ठाउँ एक स्वादिष्ट अचार अनेक

Neuro
नमुना ठाउँ एक स्वादिष्ट अचार अनेक

इलाम / जाडोमा खानामा पिरोपिरो अचार निकै मीठो हुन्छ, सब्जी, दाल अनि अचारका साथै, अलिअलि अकबरे टोक्दै खाना खानुको मजै बेग्लै हुन्छ । भनिन्छ थोरै भए पनि अचारले खानालाई स्वादिष्ट बनाउँछ । जस्तो अचार खाना त्यस्तै ।

Padelux insider
cura insider

तपाईंलाई अचार केको मन पर्छ ? आँप, तामा, मेथी, अकबरे, लप्सी के को ? मन परेर मात्र के गर्नु पाउनु पनि पर्‍यो । तर, चिन्ता नलिनुहोस्, इलामको एकै ठाउँबाट अनेक प्रकारका अचारका स्वाद चाख्न पाइन्छ । चाख्न मात्र होइन किन्न पनि पाइन्छ । अचार किन्दा स्वस्थकर/अस्वस्थकर भनेर डराउनु पनि पर्दैन । स्वस्थकर अनि स्वादिष्ट, एकपटक चाखेपछि खाउँखाउँ लाग्ने, खाइरहुँ लाग्ने । यसको बजार हो, इलाम नगरपालिका–७ स्थित नमुना कलेक्सन अचार पसल ।

यो पसल मात्र होइन, अनेक किसिमका अचार यहीँ बन्छन् । अर्थात अचारको उद्योग नै यहीँ छ । यसका उद्यमी हुन्, चूडामणि रिजाल र सारदा बाँस्कोटा (रिजाल) । रिजाल दम्पतीको पसल नयाँ किसिमको होइन, नयाँ तरिकाले गरिएको हो । सामान्य अचार जहाँ पनि पाइन्छ, तर मिश्रित अचारले मन तान्छ, जिब्रो रसाउँछ । पसलमै भेटिएका चूडामणिले भने, ‘नयाँ भेराइटीको बनाएको हो । धेरै थोक मिक्स गरेर बनाउँछौँ ।’

अचारका पनि विभिन्न प्रकार छन् । अरू त अरू अकबरेकै पनि भिन्न-भिन्न प्रकार । भिन्न-भिन्न स्वाद । कुनै नुनमा हालेको, कुनै बाक्लो लेदोमा राखेको, कुनै मसला मिसाएको, कुनै तेलमा राखेको । यति मात्र कहाँ हो र ! अचारभित्रै स्वादिष्ट जलपाइ, मललिडो, टिम्बुर (बोके/सिल), फिलुङ्गो सबै मिसाइएको ।

गाउँघरमा फल्ने तर प्रयोग नहुने मेलदेखि फर्सीको बियाको अचार पाइन्छ यहाँ । यी सबै अचार बनाउन रिजाल दम्पती टाढा गएका होइनन् । घरमै सिके, घरमै बनाए । यसै सेरोफेरोमा चार वर्षअघि उद्योग खोले । नमूना कलेक्सन अचार उद्योग । सुरुमै केही भेराइटिज मात्र बनाइने अचार विस्तारै बढाउँदै लगियो । एक किसिमले गाउँको नगन्य खाद्यान्न सदुपयोगका लागि अचार बनाइएको हो । नयाँ स्वाद दिनका लागि रिजाल परिवारले धेरै थोक मिसाएर अचार बनाएका हुन् ।

औषधिमा प्रयोग हुने जडीबुटीलाई विशेष महत्त्व दिइन्छ । रिजालले भनेझैँ पसलमा लप्सी, कागती, किबीमा धेरै चिज मिसाएर नयाँ स्वादका अचार बनाइन्छ । चूडामणिले केही समयअघिसम्म कपडाको पसल गरे । कपडाबाट घाटा थिएन । छोरालाई ती पसल चलाउन दिएर उनले अचारको पसल थालेका हुन् । उद्योगमात्रै हुँदा खासै अचारको प्रवद्र्धन नहुने देखेपछि पसल खोलिएको हो ।

स्थानीय परिकारको प्रवर्धनमा लागेको दम्पती

इलामको अकबरे धेरैतिर चर्चित छ । अदुवा त्यस्तै । तर, अहिले पनि बोराका बोरा भारत बेच्दा नेपालमा बजार पाएको छैन । केही हिस्सा नेपालमा खपत हुन्छ तर, यसकोे बजार भारत हो । रिजाल दम्पतीले यही विषयलाई नजिकबाट बुझेर अचार बनाउन थालेका हुन् । कृषिजन्य उत्पादनको स्थानीयस्तरमा प्रवद्र्धन गर्नुपर्छ भन्ने सोच छ उनीहरूमा । धेरै चिज सम्मिश्रण गरेर अचार बनाउन गाह्रो छ ।

व्यापारभन्दा उद्योगको काम असहज छ । उद्योगमा आएको वस्तुलाई मिश्रित गर्नुपर्छ । यसको बजार भने स्थानीयस्तर नै हो । इलाम बजार, फिक्कल अनि झापाका केही बजारमा यहाँको अचार पुग्छ । चूडामणिले भने, ‘हामीले खेर जाने वस्तुलाई प्रयोग गरेर नयाँ टेष्ट दिन खोजेका हौँ ।’ विभिन्न सामग्री मिलाएर बनाएको अचारको दाम खासै महँगो राखिएको छैन । लागत मूल्यभन्दा केही माथिकै दरमा दिइन्छ । उनका अनुसार पसलमा ३५ देखि एक हजारसम्मका अचार पाइन्छ । लसुनको अचार चार सय ग्रामलाई तीन सय ८० पर्छ । यस्तै टिमुरको चार सय ग्रामकै अचार चार सय ४० रुपैयाँ पर्छ ।

चियासहित छुर्पीको प्रचार

पसलमा अचार मात्र होइन, चिया पनि पाइन्छ । चिया पनि विभिन्न प्रकारका पाइन्छ । ‘ब्ल्याक टी’, ‘गोल्डेन टी’,‘पल ग्रिन’, ‘प्रिमियम ग्रिन’, ‘ब्रोकन टी’लगायत चिया यहाँ पाइन्छ । कुन किसिमको चिया हो, प्याकेटबाट चिनिन्छ । ‘ब्ल्याक टी’ कालो प्याकेटमा, ‘ग्रिन-टी’ हरियो प्याकेटमा । छुर्पी पनि प्याकिङ गरेर बेचिन्छ । कमला उद्यमी मात्र होइन, अचारको तालिम सहजकर्ता पनि हुन् । इलामका विभिन्न क्षेत्रमा अचारको तालिमका लागि कमला जान्छिन् ।

परिवारबाहेक दुई व्यक्तिलाई रोजगारी दिइएको छ । भरिसक्के आफ्नो काम आफैँ गर्ने, नसक्दा मात्र कामदार लगाउने उद्देश्य रहेको कमलाले बताइन् । लुगा पसल र अचार पसलकै आम्दानीले इलाम सदरमुकाममा घर बनाएका छन् । अनि अन्तुमा रिसोर्ट बन्ने क्रममा छ । चूडामणिले आफ्नो कामबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

इलाम सदरमुकाममा मात्र होइन, फिक्कल, मङ्गलबारेमा समेत अचारको पसल खोल्न सक्दा आम्दानी हुने चूडामणिको भनाइ छ । आम्दानी मात्र नभई यस्ता वस्तुको प्रवद्र्धन हुने उनको बुझाइ छ । यस्ता व्यवसाय र उद्यम गर्न बढी जोखिम मान्नुपर्ने तर जोखिमअनुसारको फाइदा पुग्ने उनले बताए । यो उद्योग दुई वर्षअघि अकबरे स्टल भनेर भृकुटीमण्डपमा पनि उत्कृष्ट भएको थियो ।

आउँदा दिनमा उद्यमलाई अझै व्यावसायिक बनाउने चूडामणिको भनाइ छ । इलाममा यस्ता सामग्री अन्त्यतै बिक्ने भएकाले पसल विस्तार गर्दा घाटा नहुने उनले बताए । सरकारी क्षेत्रबाट प्रवर्धनका कार्यक्रम भए अझै बजार बढ्ने अनुमान उनको छ ।

सम्भावना देखाउने रिजाल परिवार

पसल हेर्दा लाग्छ, त्यहाँ धेरै थोक छैन तर फरकखाले वस्तु भने अवश्य छन्, जुन किन्नका लागि ग्राहकको भिड लाग्छ । अचारका स्वादका लागि यो पसल सबैथोक हो । गाउँघरमै पाइने अनि खासै प्रयोग हुने सामग्रीबाटै बनिएका सामग्री प्रयोग गर्न जान्दाको परिणाम हो, यो । रासस

jackson ribon