birat ribon

माघ १९ लाई नेपाली जनताले किन कालो दिनका रुपमा स्मरण गर्छन् ?

Neuro
माघ १९ लाई नेपाली जनताले किन कालो दिनका रुपमा स्मरण गर्छन् ?

विराटनगर । आज अर्थात माघ १९ गतेलाई आम नेपालीले कालो दिनका रुपमा लिने गरेका छन् ।

Padelux insider
cura insider

तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेर नेपाली राजनीतिमा प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी आजैका दिन शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो हातमा लिएका थिए । त्यही भएर यस दिनलाई ‘राजनैतिक कु’ को कालो दिनको रुपमासमेत स्मरण गरिन्छ । ज्ञानेन्द्र शाहले मुलुकमा जारी हिंसात्मक द्वन्द्वलाई देखाएर जनताका मौलिक अधिकार निलम्बन गरिदिएका थिए ।

२०६१ साल माघ १९ गते ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्थ गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए । उनले देउवा नेतृत्वको मन्त्रिपरिषद विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेको र राजकीय तथा शासकीय सत्ता आफ्नो हातमा रहेको घोषणा गरे ।

साथै प्रमुख राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी उनले नजरबन्दमा राखेका थिए । त्यतिबेला ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए । रेडियोमा समाचार रोक लगाइएको थियो ।

तर यो अवस्था धेरै समय टिक्न सकेन । २०६२/०६३ को जनआन्दोलनपछि राजतन्त्र नै फालिएको थियो । मुलुक राजतन्त्रको चङ्गुलबाट बाहिर निस्कियो । लामो समयदेखि राज गरिरहेको राजतन्त्र फ्याल्न नेपाली जनताले ठूलो त्याग र बलिदानी गरेका थिए ।

ज्ञानेन्द्रको कदमबाट बहुदलीय प्रजातन्त्रका मान्यताहरु पूर्णरुपमा समाप्त भएपछि तत्कालीन विद्रोही माओवादीसहित प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएअनुसार दोस्रो जनआन्दोलनको थालनी भएको थियो । त्यसपछि २०६२ चैत २४ गते सुरु भएर २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो । यही बीचमा माओवादी शान्ति प्रक्रियामा आएको थियो । जनआन्दोलनको जगमा पुनःस्थापित संसदले मुलुकबाट राजतन्त्र समाप्त गरी गणतन्त्र घोषणा गरेको थियो ।

त्यसपछि राजा ज्ञानेन्द्र नारायणहिटी दरबार छाड्न बाध्य भएका थिए । टेलिभिजन सम्बोधनमार्फत् उनले ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गरेका थिए ।

राजसंस्था फालेर लोकतान्त्रिक गणतन्त्र बहाली भएको १६ वर्ष पुगिसक्दा पनि जनचाहनाअनुसारको विकास र समृद्धि हुन नसक्दा आम नेपालीमा नैराश्यता छाएको छ । वर्तमान राजनीतिक दलहरूप्रति जनताको विश्वास घट्दै गएको यो परिस्थितिमा राजसंस्थाको माग गर्नेहरु सलबलाउँदै गएका छन् ।

‘राजनैतिक कु’ गरेका बेला यस्तो थियो ज्ञानेन्द्रको सम्बोधन

’प्यारा देशबासीहरू,

१। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्रारम्भ गरिबक्सेको एकीकरण अभियानबाट निर्माण भएको नेपाल अधिराज्यमा लोकसम्मतिको आधारमा शासन व्यवस्था चलाउन हाम्रा पूर्वजबाट ऐतिहासिक महत्वका क्रान्तिकारी पाइला चालिबक्सेर देश र जनतालाई उज्ज्वल भविष्यप्रति आलोकित गरिबक्सेको सर्व्विदितै छ। नेपालको एकीकरण, प्रजातन्त्रीकरण र आधुनिकीकरणको प्रत्येक मोडमा नेपाली जनता र राजा दुवै मिलेर निर्णायक भूमिका खेलेको इतिहास स्वयं साक्षी छ।

२। आज जनचाहनाबमोजिम देश र जनताका लागि शान्ति पुनर्स्थापना गरी बहुदलीय प्रजातन्त्रको रक्षाका लागि फेरि एकपटक ऐतिहासिक निर्णयको घडीमा हामी आइपुगेका छौँ । हत्या, हिंसा र विध्वंसले देशलाई विनाशको भिरालोमा पुर्‍याउँदा पनि देश र जनताको नाममा राजनीति गर्नेहरूले देश र जनताको हितप्रति आँखा चिम्लिन छाडेनन् । सत्ताका लागि हानाथाप, सत्ता पाएपछि राज्य संयन्त्रको दुरूपयोग तथा देश र जनताको मूल्यमा व्यक्तिगत वा समूहगत स्वार्थ पूरा गर्ने प्रतिस्पर्धाले परिस्थिति निरन्तर बिग्रने क्रम चलि नै रह्यो। राजनीतिको नाममा कानुनी राज्यको सर्वमान्य मर्यादा पनि भङ्ग गर्ने प्रयास भए । बहुदलीय प्रजातन्त्रको सार्थक अभ्यासद्वारा हाम्रा प्यारा जनताले सामाजिक, राजनैतिक एवं आर्थिक न्याय पाउन् भन्ने हाम्रो चाहनाले मूर्तरूप लिन सकेन । जनहितमा निर्माण गरिएका विकासका पूर्वाधारसमेत ध्वस्त पार्नेजस्ता देश र जनविरोधी अपराध निरन्तर बढ्दै गए । आतङ्कवादविरुद्ध सम्पूर्ण प्रजातान्त्रिक शक्ति सङ्गठित रूपमा प्रस्तुत हुनुपर्नेमा सत्ताको हानाथापमा लागेर सोझा कार्यकर्तालाई जनहितका लागि बनेका सुविधाहरू ध्वस्त पार्न उक्साउनुलाई नै नेताहरूले राजनीतिको नाम दिन थाले । यसरी निरन्तर बिग्रँदै गएको अवस्थामा आतङ्ककारी गतिविधिमा पूर्ण्विराम लगाएर शान्ति सुरक्षाको पुनर्स्थापनाद्वारा जनचाहना पूरा गर्ने सङ्कल्प लिनुपरेको छ।

प्यारा देशबासीहरू,

३। प्रजातन्त्र र प्रगति एक अर्काको परिपूरक हुन् । तर नेपालको विगत केही वर्षको तितो अनुभवले यसलाई असङ्गति साबित गर्ने चेष्टा गर्‍यो । सत्ताका लागि केन्द्रित राजनीतिमा नै अल्मल्याएर बहुदलीय प्रजातन्त्रलाई अवमूल्यन गरियो । सरकार टिकाउने र फाल्ने होडमा संसदमा विकृति भित्र्याइयो । कुनै पनि प्रतिनिधि सभालाई आफ्नो अवधि पूरा गर्न दिइएन । प्रजातान्त्रिक प्रक्रिया बेथितिको निरन्तरताले अवरुद्ध हुन थाल्यो । जनताको आशा भङ्ग गर्ने, भरोसा भत्काउने र प्रजातन्त्रमा नै वितृष्णा फैलाउने क्रम बढ्दै गयो । चुनाव गराउन नसकेपछि कसैप्रति पनि उत्तरदायी हुनु नपर्ने अप्रजातान्त्रिक सरकारको अभ्यास सुरु गर्ने तारतम्य मिलाउन खोजियो । जनप्रतिनिधिहरूको शून्यता सिर्जना गर्न सबै दल लिखित रूपमा एकजुट भए तर यो शून्यता हटाउन मिलेर काम गर्न भने सहमत भएनन् । राजनैतिक दलहरूको संलग्नता र सहमतिमा भएको जनप्रतिनिधित्वबिनाको शासन व्यवस्थाको चाँजोपाँजो जनचाहना तथा बहुदलीय प्रजातन्त्रको मर्यादा अनुकुल थिएन । त्यसैले शीघ्र अति शीघ्र जनप्रतिनिधित्व प्रणालीलाई क्रियाशिल तुल्याउने उद्देश्यले प्रजातन्त्रमा निष्ठा राख्ने सबैलाई हामीबाट आह्वान गरिबक्सेका थियौँ । आमजनता, जेठा नागरिक, नागरिक समाजका प्रतिनिधि तथा राजनैतिक दलका नेतालाई पटक–पटक भेटेर जनमत बुझ्ने र जनचाहना तथा देशको आवश्यकता सम्झाउने प्रयास पनि गरिएकै हो । नेपाल र नेपाली जनताले भोग्नु परिरहेको अशान्ति र ध्वंसात्मक गतिविधिको अन्त्य गरी देशलाई शान्तिपूर्ण अवस्थामा फर्काउन अब ढिलो गर्नुहुँदैन भन्ने नेपाली जनता र नेपालका हितैषीहरूको एकमात्र चाहना भएको तथ्य पनि सम्झाइएकै हो । शान्ति सुरक्षा कायम गरी आम चुनाव गराउन विभिन्न दलका नेतालाई कार्यकारिणी अधिकारसहित मन्त्रिपरिषद् गठन गर्ने अवसर पनि पटक–पटक दिइएकै हो । तर परिस्थितिमा सुधार आउन सकेन । मिलेर सरकार नचलाउने, सत्ता बाहिर जाने बित्तिकै सरकारको विरोधमा उत्रने सङ्क्रामक रोगले राष्ट्रिय राजनीतिलाई सिकिस्त बनायो । प्रजातन्त्रसमक्ष आतङ्कवादले तेर्साएको एकदलीय निरङ्कुशताको चुनौतीलाई निष्तेज तुल्याउने गम्भीर प्रयास हुनै सकेन । राष्ट्रिय सुरक्षाका विषयमा हलुका टिप्पणी गर्ने बानी हटेन । देश र जनताको सुरक्षाका लागि रातदिन क्रियाशील रहने सुरक्षा निकायका कर्तव्यनिष्ठ अधिकारी तथा जवानको देशभक्तिको सत्प्रयासमा बल पुर्‍याउने जिम्मेवारपन दलहरूमा देखिएन । देश र जनताविरुद्ध चलिरहेको विनाशको दुष्कर्मलाई सदाका लागि अन्त्य गर्न बहुदलीय प्रजातन्त्रवादीहरूबीच देशहितको बिन्दुमा निष्ठापूर्ण एकता कायम हुन सकेन । दलहरूले जनचाहनाअनुसार राष्ट्रिय प्राथमिकता ठम्याउन पनि सकेनन् ।

४। नेपाली जनताले इतिहासमा यस्तो आतङ्क, सास्ती र शोषण कहिल्यै भोग्नुपरेको थिएन । अपराधीहरूबाट नै दण्डित हुनुपर्ने, आफ्नो वैध सम्पत्ति अपराधीले कब्जा गर्दा पनि जनताका नाममा सत्तामा पुगेकाहरूबाट संरक्षण पाउन नसक्ने, जनताको प्रतिनिधित्व गर्छु भन्ने दलहरू जनताको पक्षमा नउभिने दुरावस्था कुनै पनि प्रजातन्त्रले कहिल्यै पनि भोग्नुपरेको थिएन । नेपाली जनताको चाहना र राष्ट्र हितलाई बेवास्ता गरी प्रायोजित भिडलाई अघि सारेर व्यक्ति वा झुन्डको दुराग्रहलाई राष्ट्रिय एजेन्डा बनाउन सकिँदैन । देश र जनताको भविष्यप्रतिको दायित्वबोधले धेरैपटक घच्घच्यायो । परिस्थिति एउटा यस्तो नाजुक मोडमा आइपुग्यो, जब देश र जनताको हितमा जनभावनाबमोजिम निर्णय लिन हामी बाध्य हुनै पर्‍यो ।

प्यारा देशबासीहरू,

५। राजा र जनताबीचको घनिष्ट सम्बन्ध नै नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र निर्वाध सार्वभौमसत्ताको मुख्य कवच हो । देश र जनताको हितमा सदा समर्पित रहने राजसंस्था र देशभक्तिको संस्कार भएका जनता नै नेपाल अधिराज्यको इतिहासको गौरवमय परम्पराको निरन्तरतामा लोकसम्मतिअनुसार चल्नु नै राजसंस्थाको अपरिवर्तनीय प्रतिबद्धता रहँदै आएको छ । अधिनायकवाद वा निरङ्कुशता शाहवंशीय राजतन्त्रात्मक संस्कारकै असङ्गति हुन् । सामाजिक न्यायमा हामी विश्वास गर्दछौ । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र नै सबै नेपालीको अटल विश्वास तथा अपरिवर्तनीय प्रतिबद्धता भएको तथ्यसँग हामीले आफूलाई आत्मसात गरेका छौँ । शक्तिको केन्द्रीकरण प्रजातान्त्रिक मूल्यविपरीत हो भन्ने हाम्रो ठहर छ । माथिल्लो तहदेखि तल्लो तहसम्म निर्वा्चित जनप्रतिनिधिहरूका निकायलाई शक्ति विकेन्द्रीकरणको सिद्धान्तअनुसार राज्य सञ्चालनको सच्चा हकदार बनाएरमात्रै प्रजातन्त्रको सार्थक अभ्यास गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ । कुनै पनि नेपालीले दुःख कष्ट भोग्नु नपरोस्, सबैले सामाजिक, आर्थिक र राजनैतिक न्याय निर्वाध पाउन् भन्ने हाम्रो चाहना छ । शासन सञ्चालनमा आफ्नो चाहनाको पूर्ण मान्यता तथा आफ्नो हितको पूर्ण संरक्षण भएको अनुभूति जनताले सधैं गर्न पाउनै पर्छ भन्ने हाम्रो अडान छ । सबै देशभक्त प्रजातन्त्रवादीको संयुक्त निर्क्यौल, समझदारी र दूरदृष्टिबाट नेपाल अधिराज्यलाई परिपक्व प्रजातन्त्र र लोककल्याणकारी समाज निर्माणको फराकिलो राजमार्गमा उन्मुख गराउने हाम्रो चाहना छ । प्रजातन्त्रवादीहरूबीच राष्ट्रिय हितको मूल नीतिमा द्वन्द्व हुनै सक्दैन भन्ने हाम्रो ठहर छ ।

६। नेपाल र नेपालीको हितका लागि दिगो शान्तिको पुनर्स्थापना तथा सार्थक प्रजातन्त्रको अभ्यासबाहेक हाम्रो अरू कुनै स्वार्थ छैन । राजसंस्था सस्तो लोकप्रियताबाट होइन, नेपाल राष्ट्र र नेपाली जनताको सर्वोत्तम हित र निरन्तर उन्नतिबाट मात्रै निर्दे्शित रहन्छ । जनताको प्रभावकारी सुधारको चाहनालाई सबैले सम्मान गर्नै पर्दछ भन्ने हामीलाई लाग्दछ । कसैलाई पनि आफ्नो असहमति व्यक्त गर्न, निराशा प्रदर्शन गर्न हतियार उठाउने बाध्यता महसुस गर्नु नपरोस् । जनताको शान्ति नखल्बलाइकन प्रभावकारी ढङ्गमा असहमति प्रदर्शन गर्ने अवसरको सुनिश्चितता होस् भन्ने हाम्रो चाहना छ । प्रजातन्त्रको निष्ठापूर्ण अभ्यास, सार्थक बजारमूखी अर्थतन्त्र, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त विधिको शासन नै जनताको स्पष्ट चाहना हो । प्रजातन्त्रको माध्यमबाट जनतालाई सुखी बनाउनु, युवापुस्तालाई उज्ज्वल भविष्यप्रति आश्वस्त तुल्याउनु र नेपाललाई विश्व समुदायमा सम्मानपूर्ण स्थान दिलाउनु नै हाम्रो एकमात्र चाहना हो । हाम्रा सबै भाषा, सबै जाति, सबै संस्कृतिको समान उन्नतिबाट नै नेपाल अधिराज्यको विशिष्ट पहिचान कायम रहन्छ, सुदृढ रहन्छ ।

७। सार्वभौमसत्ता निहित नेपाली जनताको चाहनाबमोजिम देशमा सकेसम्म शान्ति सुरक्षा कायम गरी २०६१ सालभित्र प्रतिनिधि सभाको निर्वाचन प्रारम्भ गर्ने दायित्व निर्वाहको गम्भीर प्रयास हुन सकेन, मतदाता र दललाई निर्वाचनमा सहभागी हुन तयार पारेर कानुनी, व्यवस्थापकीय, प्राविधिक तयारीमा जुट्नुपर्नेमा चुनावको शाब्दिक रट लगाएर, मौखिक तत्परता र आतुरता देखाउनमा नै समय खेर फालियो । राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउन, देशमा शान्ति सुरक्षा कायम राख्न, देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने जिम्मेवारी पनि हामीमा भएकाले नेपाल अधिराज्यको संवैधानिक रीतिथिति र हामीबाट प्रयोग भइ आएको राजकीय सत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संविधान, २०४७ को मर्म र भावनाअनुरूप संविधानको धारा २७ को उपधारा ९३० लाई समेत विचार गरी देशमा शान्ति सुरक्षाको पुनर्स्थापना तथा प्रजातान्त्रिक व्यवस्थालाई शीघ्र क्रियाशील तुल्याउने जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्रिपरिषद् आजैबाट विघटन गरिबक्सेका छौँ । अब गठन हुने मन्त्रिपरिषद् हाम्रै अध्यक्षतामा हुनेछ । आगामी तीन वर्षभित्र देशमा शान्ति सुव्यवस्था मिलाइ प्रभावकारी सुधार गरेर बहुदलीय प्रजातन्त्रलाई फेरि सक्रिय तुल्याउन अब गठन हुने मन्त्रिपरिषद् प्राथमिकताका साथ लाग्नेछ ।

प्यारा देशबासी,
८। सार्थक बहुदलीय प्रजातन्त्र नै जनताको प्रभावकारी शासन प्रणाली हो । सफल प्रजातन्त्र नै सक्कली जनवाद हो । यस्तो जनहितकारी, परिपक्व एवम् सुसंस्कृत र सभ्य व्यवस्थालाई खल्बलाएर, निर्दोष जनतालाई आतङ्कित तुल्याएर, जनतालाई त्रसित पारी जबरजस्ती चन्दा सङ्कलन गरेर, असहमत हुनेहरूको निर्मम हत्या गरेर, विद्यार्थीहरूलाई अपहरण तथा गुरुहरूलाई पाशविक व्यवहार गरेर, सिधा जनतालाई झुटो आश्वासन र सपना बाँडेर, जनताको हितमा बनेका विकास योजना ध्वस्त पारेर चलाइएको देश र जनता विरोधी अपराध अब बन्द हुनै पर्दछ । अब यस्ता देश र जनता विरोधी अपराधलाई कानुनबमोजिम कडा कारबाही गरिनेछ । हाम्रा सुरक्षाकर्मीलाई देश र जनताको हितमा अझै बढी सशक्त भइ आतङ्कवाद समाप्त गरी शान्ति सुरक्षा पुनःस्थापना गर्न खटाइएको छ । मानव अधिकारको सम्मान र संरक्षणमा राज्यका सबै अङ्ग विशेषरुपमा सतर्क र सजग रहनुपर्दछ । तर राज्य र आतङ्ककारीलाई एउटै तराजुमा तौलिनु न्यायोचित हुँदैन । प्रजातन्त्रमा विश्वास गर्ने सबै शान्तिप्रेमी नेपाली जनताले शान्ति सुरक्षा कायम गर्ने कार्यमा सुरक्षाकर्मीलाई साथ दिएका छन् र दिने नै छन् ।

९। बाटो बिराएर देश र जनताविरुद्ध हतियार उठाएका, शान्ति र प्रजातन्त्रविरुद्ध अपराधिक कार्यमा संलग्न रहेकालाई हतियार बुझाएर शान्तिपूर्वक राष्ट्रिय राजनैतिक मूलप्रवाहमा समाहित हुन हामी आह्वान गर्दछौँ । देशभक्तिको मिलन बिन्दुमा आफ्नो विचार मुखरित गर्न, आकाङ्क्षा पूरा गर्न तथा देश र जनताको हितमा योगदान दिन सक्ने अवसरको सुनिश्चितता नै बहुदलीय प्रजातन्त्रको विशेषता हो । यो मौकाको उपयोग गरी राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउनेहरूका लागि राज्यका तर्फबाट सबै नागरिक सरह अवसर र अधिकार बिना भेदभाव प्राप्त हुने आश्वासन दिन चाहन्छौँ । देश र जनताविरुद्ध आतङ्ककारी गतिविधि कायमै राखेमा जनताले सहने छैनन्, कानुनले छाड्ने छैन।

प्यारा देशवासी,

१०। आतङ्कवादविरुद्ध नेपालको सङ्कल्पलाई सराहना गर्दै उदारता पूर्वक साथ दिइरहेका मित्र राष्ट्र, विकास प्रयासलाई अगाडि बढाइ राख्न सहयोग गरिरहेका अन्तर्रा्ष्ट्रिय दातृ तथा वित्तीय संस्थालाई हामी धन्यवाद दिन चाहन्छौं । भौगोलिक रूपमा परिभाषित हुनै नसक्ने आतङ्कवादको जोखिमलाई आज विश्व प्रजातन्त्रले समेत भोग्नुपरेको छ । वास्तवमा सानो देश जति सुरक्षित रहन्छ, जति स्थायित्व अनुभव गर्छ, जति सम्पन्न हुन्छ, त्यति नै त्यस क्षेत्र र स्वयम् विश्वको सुरक्षा, स्थायित्व र सम्पन्नता सुनिश्चित हुन्छ भन्ने अनुभूति विश्व समुदायले गरी नै सकेको छ । यसै अनुकुल नेपाल आफ्नो हितमा र विश्व प्रजातन्त्रको हितमा आतङ्कवादलाई निस्तेज तुल्याउन कटिबद्ध भएको छ । नेपाल आफ्नो लागि शान्ति चाहन्छ, छिमेकीहरू र दक्षिण एसियाका लागि शान्ति चाहन्छ, विश्व शान्तिमा टड्कारो भैसकेको जोखिम हटाउन शान्ति चाहन्छ ।

११। यसै क्रममा बहुदलीय प्रजातन्त्रमा हाम्रो प्रतिबद्धता अपरिवर्तनीय रहेको तथा आर्थिक र संस्थागत सुधार जारी रहने, सार्वजनिक खर्चको उपयोग तथा सार्वजनिक सेवा प्रणालीमा सुधारका प्रयास अझै प्रभावकारी ढङ्गमा कायमै राखिने, बैंकिङ अनुशासन पुनर्बहाली गरिने, गरिबी न्यूनीकरणसम्बन्धी रणनीति तथा भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चालिने कुरा पनि उल्लेख गर्न चाहन्छौँ । दिगो विकास अब नेपालको राष्ट्रिय एजेण्डा भएको छ । अब जनताको सुरक्षा र प्रजातन्त्रको भविष्यलाई जोखिममा पार्न दिइने छैन । नेपालविरुद्ध वा मित्रराष्ट्र विरुद्ध आतङ्कवादलाई नेपाली माटोमा आश्रय दिइने छैन । मित्रराष्ट्रहरूसँग वास्तविक र व्यवहारिक रूपमा आपसी हितका लागि सकारात्मक सम्बन्धमा जोड दिइनेछ ।

१२। निरन्तर झाङ्गिदै गएको भ्रष्टाचारले राजनीति र प्रशासनलाई दूषित बनाएको मात्र होइन, प्रगतितर्फ अग्रसर हुनुपर्ने देशको पाइला पनि अवरुद्ध पारेको छ । भ्रष्टाचार हाम्रो समाजका लागि धमिरा सिद्ध भइसकेको छ । परिणामस्वरूप कानुनप्रति साधारण जनताको विश्वास धरमराउन थालेको छ । यसैले जनताको चाहना र सुशासनको प्रमुख आवश्यकता पूरा गर्न न्यायको सिद्धान्त उल्लङ्घन नहुने गरी भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम अविलम्ब चालिनेछ ।

१३। प्रजातन्त्र जीवन शैली बनोस्, राजनीति प्रजातान्त्रिक मूल्य र मान्यताबमोजिम चलून्, सबैले सबै क्षेत्रमा प्रजातान्त्रिक विचार पद्धतिलाई इमान्दारीपूर्वक अनुसरण गरून्, देश र जनताको हितले मात्रै सबैलाई सधैँ निर्दे्शित गरोस् भन्ने नै हाम्रो चाहना हो । शान्तिपूर्ण वातावरणमा प्रजातान्त्रिक मूल्यहरूलाई जीवन्त तुल्याएर एक उन्नतशील एवम् विश्व समुदायमा सम्मानित नेपाल नै सबै नेपालीको भविष्यको परिकल्पना हो । मानव अधिकारको सम्मान र रक्षाले प्रजातान्त्रिक मूल्यको संरक्षण तथा प्रवर्द्धन गर्नेमात्र हैन, २१औँ शताब्दी सुहाउँदो जीवन प्रणाली र सभ्यताको पनि विकास हुन्छ भन्ने हाम्रो विश्वास छ ।

प्यारा देशबासीहरू,

१४। हामीबाट गरिबक्सेको निर्णयबाट जङ्गी, निजामती र कुनै पनि राष्ट्रसेवकले आफ्नो जिम्मेवारी, काम र कर्तव्यबाट विचलित हुन वा अल्मलिनु पर्दैन । आज नेपाल र नेपालीको भविष्यका लागि सर्वप्रथम हामी आफैँले कम्मर कसी अघि बढ्नुपरेको छ। स्वतन्त्र सञ्चार क्षेत्र प्रजातन्त्रको चेतना वृद्धि गर्ने माध्यम हुन् । राष्ट्रिय हितको सम्वर्धनमा यसको विशेष भूमिका रहन्छ । शासन शैलीसँगै जीवन पद्धतिलाई नै प्रजातान्त्रिक मूल्य र आदर्शबाट प्रेरित बनाउन सञ्चारमाध्यमले सशक्त योगदान दिनेछन् भन्ने हामीले विश्वास लिएका छौँ । यसै कुरालाई मनन् गरेर बहुदलीय प्रजातन्त्रमा निष्ठा राख्ने सबैले आ–आफ्नो कर्तव्य पालन गर्नेछन् र सबै देशबासीको साझा प्रयासबाट जनताको चाहना र देशको आवश्यकता पूरा हुनेछ भन्ने हामीबाट पूर्ण विश्वास लिएका छौँ ।

१५। आज देशले स्पष्ट अठोट गरेको छ । यस अनुकुल निर्णय पनि भएको छ । अशान्ति, असुरक्षा र द्वन्द्वग्रस्त अवस्थालाई बिसाएर देशले प्रजातन्त्र र प्रगतिको पक्षमा अग्रसर हुन पाइला सारेको छ । देश आतङ्कवादको चपेटामा परेको बेलामा सम्पूर्ण शान्ति तथा प्रजातन्त्रप्रेमी जनता एक हुनैपर्छ । यसैले अब हामी सामूहिक विवेकबाट प्रभावित हौँ, राष्ट्रिय दृष्टिकोणबाट परिचालित हौँ । देश र जनताको शान्ति सुरक्षामा खलल पार्ने, प्रजातन्त्रलाई सार्थक बनाउने प्रयासमा छेकबार हाल्ने दुष्प्रयासलाई देश र जनताले सहने छैनन् । तर उदारताको नाममा हामीले हाम्रो जीवन पद्धतिको उच्चतम पक्ष अनुशासनलाई कहिले पनि बिर्सनु हुँदैन । २१ औँ शताब्दीको विचार पद्धति पनि यही नै हो । नेपालप्रति न्याय गर्न नसक्ने, जनताको सामूहिक विवेकमा विश्वास गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्दछ भन्ने कुरा हामी फेरि दोहर्‍याउन चाहन्छौँ ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।
जय नेपाल ।

jackson ribon