विराटनगर । बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति एथ्लेटिक बिल्बाओलाई २–१ गोलले हराउँदै बार्सिलोना शीर्ष दुईमा उक्लिएको हो ।
जितसँगै बार्सिलोनाले साविक विजेता रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थान पक्का गरेको हो । बार्सिलोनाले २० खेलमा ४० अङ्क बनाएको छ । समान खेल खेलेको रियलसँग ४० अङ्क छ । तर, गोलान्तरको आधारमा बार्सिलोनाले दोस्रो स्थान पक्का गरेको हो ।
शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग भने ५० अङ्क छ । एथ्लेटिकोले १९ खेल मात्र खेलेको छ ।
त्यसबाहेक बार्सिलोनाले एथ्लेटिकसँग बदलासमेत लिएको छ । यसअघि एथ्लेटिकले बार्सिलोनालाई ३–२ गोलले हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको थियो ।
गए राति बार्सिलोनाको मैदान क्याप नोउमा घरेलु टोलीको जितमा कप्तान लियोनल मेस्सी र एन्टोइन ग्रिजम्यानले समान एक–एक गोल गरे । एथ्लेटिकले भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।
खेलको २०औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । ४९औं मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले आफ्नै पोस्टमा गोल गरेपछि एथ्लेटिक बराबरीमा फर्कियो ।
७४औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–१ गोलले जिताए ।
