birat ribon

सिँचाइ मन्त्रालयले ध्यान नदिँदा किसान मर्कामा

Neuro
सिँचाइ मन्त्रालयले ध्यान नदिँदा किसान मर्कामा

विराटनगर/ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निगरानीमा ध्यान नदिँदा मोरङ सुनसरी सिँचाइ आयोजना ओझेलमा परेको छ । जसका कारण यहाँका किसानले यो आयोजनाबाट लाभ लिन पनि पाएका छैनन् ।

Padelux insider
cura insider

सम्भवतः देशकै सबैभन्दा ठूलो सुनसरी मोरङ सिँचाइ आयोजनाबाट सुनसरी र मोरङमा करिब ६० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । यसबाट सुनसरी र मोरङका लाखौँ कृषक लाभान्वित भएका छन् । भारत सरकारको सहयोगमा बनेको यो चतरा मूल नहरसँग जोडिएका अन्य शाखा नहर सन् १९७५ मा नेपाल सरकारलाई हस्तान्तरण भएको हो ।

निर्माण भएको लामो समय बितिसक्दा यसका धेरै संरचना कमजोर भएको र कुनै बेला पनि यी संरचना ध्वस्त हुने र लाखौँ कृषक सिँचाइबाट वञ्चित हुने अवस्थालाई हटाउन मन्त्रालयले आवश्यक योजनासहित बजेट विनियोजन गर्नुपर्ने स्थानीयको माग छ ।

तीन वर्षपहिले मोरङको लोहन्द्रा खोलामा आएको बाढीले नहरको संरचना भत्किँदा ११ किलोमिटर पूर्वसम्म लम्बिएको नहरअन्तर्गतका बरियाती शाखा नहर, नयाँपट्टी शाखा नहर, आमझोड शाखा नहर, रञ्जनी शाखा नहर, चिस्याङ शाखा नहर र झमनपुर शाखा नहरमा आश्रित कृषकले नहरको पानी खेतमा देख्न पाएका छैनन् । उनीहरू बर्र्से धानबाली तथा हिउँदे बालीका लागि आकाशे पानीको भर पर्नुपरेको स्थानीय कृषक विद्यानन्द चौधरीले जानकारी दिए ।

उनले यस वर्ष वर्षाको मौसममा राम्रै पानी परेकाले त्यति समस्या नभए पनि हिउँदमा लगाउने दलहन, तेलहन र गहुँबालीका लागि समस्या भएको जानकारी बताए ।

लोहन्द्रा खोलादेखि पूर्वतर्फ नहरदेखि दक्षिण क्षेत्रमा ती छ वटा शाखा नहरबाट करिब १० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादवले जानकारी दिए । उनले कृषकहरूले भोग्नुपरेको समस्यालाई निराकरण गर्न अहिले भत्किएको ठाउँमा नयाँ संरचना बनिरहेको जानकारी दिए ।

लोहन्द्रा खोलामा नयाँ बनिरहेको नहरको संरचना र खोलाको पुल मूल्य अभिवृद्धि करसहित २९ करोड ९७ लाख ५६ हजार सात सय ७१ मा निर्माण गर्न स्वामी नारायण आशीर्वाद जेभीले २०७६ साल फागुन ३० मा निर्माणको सम्झौता गरी विसं २०८० भदौ ३० गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको छ ।

नहरको पानी बग्न बनाइने साइफनको लम्बाइ २२७ मिटर, चौडाइ साढे दुई मिटर र गहिराइ भित्री भागमात्र दुई मिटर छ भने पुलको लम्बाइ १ ५५ मिटर र चौडाइ १० दशमलव ८५ मिटर रहेको छ । नहरको काम सम्पन्न भएपछि त्यस क्षेत्रका कृषक लाभान्वित हुने र पुलको काम सम्पन्न भएपछि पूर्वतर्फका कसेनी, बाहुणी, होक्लाबारी, पथरी, उर्लाबारी झापासमेतका तथा पश्चिततर्फ नेता चोक, विराटनगर, बूढीगङ्गा, दुहबी, कोहलपुर, खनार र सुनसरीका लाखौँ नागरिकलाई आवतजावतमा सुविधा पुग्ने बताइएको छ ।

साइफनमा प्रतिसेकेण्ड आठ घनमिटर पानी बहाव हुने क्षमता छ । साइफनको काम चालू आर्थिक वर्षमा गरिने काममा ९५ प्रतिशत सम्पन्न भए पनि नहरमा पानी सञ्चालन गर्न र वर्षाको समयमा लोहन्द्रा खोलामा आउने बाढीबाट संरचनालाई जोगाउन तत्काल आठ करोड आवश्यक रहेको आयोजना प्रमुख यादवले बताए । उनले यो बजेटको अभावमा संरचनाको काममा बाधा उत्पन्न हुने र निर्माण कम्पनी पनि हच्किने सम्भावना रहेकाले विभागले तत्काल आवश्यकताबमोजिमको बजेट निकासा हुनुपर्ने माग गरे ।

साइफन सुरुङ मार्गजस्तो आरसिसी मोडलमा छन् र यसको आयु ५० वर्षको हुने आयोजना प्रमुख यादवले जानकारी दिए । उनले भविष्यमा यस्तै समस्या बूढी खोलामा पनि उत्पन्न हुने सम्भावना देखिएकाले सो खोलाबाट छिचोल्दै पूर्वतर्फ आएको मूल नहरलाई जोगाउन दुई करोड बजेट आवश्यक भएको बताए ।

प्रमुख यादवले यस वर्ष किसानको खेतमा पानी पुर्‍याउन र बूढी खोलाको संरचना बचाउमा गर्नुपर्ने आवश्यक कामका लागि सरकारले १० करोड बजेट तुरुन्तै व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।
सप्तकोशी नदीको पानीलाई सुनसरीको चतरास्थित नहरमा पानी खसाली बनाइएको चतरा मूल नहरको लम्बाइ ५३ किमी छ ।

यसबाट सुनसरीमा सुन्दरगुन्दर शाखासहित, सुकसेना, रामधुनी, मनिक चौधरी, सिँगिया, शङ्करपुर, एसएस जे झुम्का, विश्वाम्पुर, सीतागञ्ज र दुहबी शाखा छन् भने मोरङमा छुरछुरिया, हरिनगरा, विराटनगर, वरियाती, नयाँपट्टी, आम झोडा, रञ्जनी, चिस्याङ शाखा र झमनपुर शाखा छन् । मोरङका ६ वटा शाखामा अहिले पानी जान छोडेको छ । मूल नहर प्रतिसेकेण्ड ६० घनमिटर पानी बहाव हुने क्षमताको भए पनि अहिले नहरमा थुप्रिएको बालुवा, दलकच्चु आदिले गर्दा पानी बहावमा समस्या देखिएको छ ।

लामो समयदेखि नहर सफा गर्ने काम नभएकाले क्षमताअनुसारको पानी बहाव गराउन मूल नहरदेखि शाखा नहरलाई पनि सफा गर्नुपर्ने सुनसरी मोरङ सिँचाइ आयोजनाका इञ्जिनियर प्रेमचन्द्र झाले बताए । सप्तकोशीबाट बगेर आउने बालुवा नहरमा बर्सेनि थुप्रिने समस्यालाई निराकरण गर्न मुहानमा बालुवा छान्ने मेसिन पनि जडान गर्नुपर्ने आवश्यकता देखिएको इञ्जिनियर झाले जानकारी दिए ।

लोहन्द्रा खोलामा बनिरहेको पुलका विषयमा निर्माण कम्पनीका प्रबन्ध निर्देशक सन्तोष बस्नेतले तोकिएकै अवधिमा पुल निर्माण कार्य सम्पन्न गर्ने र सो पुलले ७० मेट्रिकटन भार थेग्न सक्ने दाबी गरे । प्राविधिक महेश ठाकुरका अनुसार पुलको गुणस्तर एवम् बनावटमा कुनै पनि समस्या नदेखिएकाले सोचेअनुसारको भार थेग्नसक्ने जानकारी दिए ।

निर्माणस्थलमा कार्यरत सुनसरी मोरङ सिँचाइ आयोजनाका इञ्जिनियर नित्यानन्द झाका अनुसार निर्माणको काममा कुनै पनि कमी–कमजोरी हुन नदिन चौबिसै घण्टा आयोजनाबाट निरीक्षण एवम् निगरानी भइरहेको छ ।

सुरुमा सुनसरी र मोरङमा कुल ४५ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुने गरेको यो आयोजनाको नहरलाई विसं २०४५ मा चीन सरकारले ३९ मिलियन डलरमा ठेक्का लिई नहर विस्तारको काम गरेको थियो । जसको फलस्वरुप अहिले दुवै जिल्ला ६० हजार हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

सप्तकोशीको पानीलाई उचित व्यवस्थापन गर्न सकियो भने सप्तकोशी नदीको पानीलाई पूर्वमा झापासम्म पश्चिममा सिरहासम्म पानी पुर्‍याउन सकिने सीतागञ्ज शाखा नहर जल उपभोक्ता समितिका अध्यक्ष तपन दासले बताए । रासस

jackson ribon