विराटनगर/शनिबार बिहानैदेखि सामाजिक सञ्जालमा नेपाल कम्युनिःट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि विराटनगरमा जुत्ता प्रहार भयो भन्दै हालिएको तस्बिर चर्चामा छ ।
शुक्रबार प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको प्रदेश १ कमिटीले विराटनगरमा आयोजना गरेको विरोधसभालाई प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गरेका थिए ।
सम्बोधनपछि स्टेजबाट ओर्लदै गर्दाको तस्बिर सामाजिक सञ्जालमा राखेर जुत्ता प्रहार भएको दाबी गरिएको छ । तर प्रचण्डलाई जुत्ता प्रहार भएको होइन् । स्टेजबाट ओर्लनेक्रममा सुरक्षाकर्मीले उनलाई सहयोग गरेका थिए । सहयोग गर्दै गर्दाको तस्बिर सामाजिक सञ्जालमा राखेर हल्ला फिजाइएको हो । उनको सुरक्षामा खटिएको प्रहरी र युवाले प्रचण्डमाथि जुत्ता प्रहार भयो भन्दै अनावश्यक हल्ला फैलाइएको दाबी गरेका छन् ।
‘फलामको सिँढी सानो थियो, स्टेजबाट ओर्लंदै गर्दा असहज हुन्छ भनेर सहयोग गरेका थियौं,’ कार्यक्रम स्थलबाट ओर्लंदै गर्दा प्रचण्डलाई सहयोग गरेका राष्ट्रिय युवा सङ्घका स्थानीय नेता आजाम परवेजले भने, ‘जुत्ता प्रहार भएको होइन् ।’
कार्यक्रममा स्वयम्सेवकको रूपमा खटिएका विद्यार्थी नेता ताजिम अन्सारी र जिसस न्यौपानेले पनि कसैले जुत्ता प्रहार नगरेको दाबी गरे । उनीहरूले हल्ला निराधार भएको बताए । प्रचण्ड स्टेजबाट ओर्लंदै गर्दा उनका समर्थक वरिपरि आएका थिए । उनीहरूले फोटो खिच्न पाउनुपर्ने बताएका थिए । तर सुरक्षाकर्मीले फोटो खिच्न दिएनन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रचण्ड माथि जुत्ता प्रहार नभएको बताउँछन् । उनले हल्ला निराधार भएको बताए । ‘कहीँकतै प्रहार भएको छैन हल्ला मात्रै हो,’ उनले भने, ‘हल्ला निराधार हो ।’