सुनसरी/प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशकोे दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएकोे छ । सुनसरीको इटहरीमा शुक्रबारबाट सुरु भएको अधिवेशन शनिबार सम्पन्न भएको हो ।
अधिवेशनमा परिषद्को विचार र लक्ष्य, २५ वर्ष पुगेको उपलक्ष्यमा परिषद्ले प्राप्त गरेका उपलब्धि, राष्ट्र निर्माणमा युवाको भूमिकालगायत विषयमा चर्चा गरिएको छ । यसैगरी समसामयिक विषयको प्रस्ताव प्रस्तुत गरी सहभागीबाट सुझाव सङ्कलन गरेर पारित गरेको छ ।
यस्तै क्याम्पस कार्य एवं रचनात्मक गतिविधि, देशको वर्तमान अवस्था साथै परिषद्को आगामी गतिविधि एवं योजना तयार गर्दै सगरमाथा प्रदेशको नयाँ कार्याकारिणी घोषणा गर्दै दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको परिषद्का प्रदेश मिडिया प्रमुख मोहन ढकालले जानकारी दिए ।
उद्घाटनसत्रमा परिषद्का सगरमाथा प्रदेश अध्यक्ष चिन्तामणि बस्नेत, उपाध्यक्ष प्रेम कार्की, राष्ट्रिय सङ्गठन सचिव नारायणप्रसाद ढकाल, राष्ट्रिय सह–सङ्गठन सचिव रमेश कँडेल, लुम्बिनी प्रदेश सङ्गठन सचिव बाबुराम मरासिनी, सगरमाथा प्रदेश सङ्गठन सचिव राधेश्याम सेन्चुरी, अखिल भारतीय विद्यार्थी परिषद् पटनाका राष्ट्रिय सह–सङ्गठन मन्त्रीश्री निवास, पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डा. विजुकुमार थपलिया, कस्तुरी कलेज इटहरीका प्राचार्य प्रेमप्रसाद न्यौपाने, मोडेल प्रिपेटोरी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्ता थापा, पूर्वकर्मचारी सङ्घ सुनसरी जिल्लाका अध्यक्ष होमबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।
अधिवेशन अवधिमा विभिन्न क्षेत्रका व्यक्तिहरुले विभिन्न विषयमा जानकारी गराएका थिए । अधिवेशनमा सगरमाथा प्रदेशबाट एक सयभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।