birat ribon

शहरका सिमसार मासिँदै, गाउँका ‘धनसार’ बन्दै

Neuro
शहरका सिमसार मासिँदै, गाउँका ‘धनसार’ बन्दै

झापा/अधिकांश शहरी क्षेत्रका सिमसार मासिँदै गएका छन् । बढ्दो शहरीकरणसँगै सिमसार क्षेत्रको संरक्षण गर्नुको सट्टा अतिक्रमण हुँदा सिमसार क्षेत्र मासिँदै गएका हुन् । भएका सिमसार क्षेत्रको पनि उचित संरक्षण छैन । बरु बचेका सिमसार क्षेत्रमा फोहर फाल्ने गरिन्छ । यसले गर्दा सिमसार क्षेत्र लगभग मासिने अवस्थामा छन् ।

Padelux insider
cura insider

सिमसार पानी र जमिन मिश्रित दलदल भएको र बाह्रैमास पानी नसुक्ने भूमि हो । यस्तो ठाउँमा दलदल अथवा हिलो सधैँ कायम रहन्छ । अव्यवस्थित शहरीकरण र बस्ती विकासको चपेटामा शहरी क्षेत्रका यस्ता क्षेत्र मासिँदै गएका छन् । व्यक्तिका लागि मात्रै नभएर जीवजन्तु, चराचुरुङ्गी, किरा फट्याङ्ग्रा र वनस्पतिसहितको जैविक विविधताका लागि सिमसार क्षेत्र अति महत्वपूर्ण भए पनि संरक्षण नहुँदा यहाँमा त्यस्ता क्षेत्र मासिनेक्रम बढ्दै गएको छ ।

विर्तामोड नगरपालिकाभित्र रहेका केही त्यस्ता सिमसार क्षेत्र त नामेट नै भएको सरोकारवालाले जनाउँदै आएका छन् । सिमसार क्षेत्रमा समेत प्लटिङ गरेर कङ्क्रिट महल बनाएकाले जोखिम बढेको बताइन्छ । बिर्तामोडसहित शहरउन्मुख जिल्लाका अन्य बजार आसपासमा रहेका सिमसार क्षेत्रको अवस्था पनि उही छ । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका केही त्यस्ता सिमसार क्षेत्र छन् जो पछिल्लो समय ‘धनसार’मा परिणत भएका छन् ।

सिमसार क्षेत्रको उचित संरक्षण गरेकै कारण कनकाई नगरपालिका वडा नं २ र ३ मा पर्ने जामुनखाडी सिमसार क्षेत्र ‘धनसार’मा परिणत भएको पाउन सकिन्छ भने अर्जुनधारा नगरपालिकामा पर्ने सुखानी शहीद स्मृति पार्क पनि ‘धनसार’को अर्काे रुप हो ।

जामुनखाडी सिमसार क्षेत्रलाई विसं २०५२ बाट पर्यटकीय क्षेत्र बनाउने अवधारणा अघि सारिएपछि स्थानीयवासीको सक्रियतामा २०५८ बाट ताल उत्खनन् गर्ने काम सुरु भयो । यसयता त्यस ठाउँको विकास र विस्तार हुँदा सो क्षेत्र ‘धनसार’मा परिणत भएको हो । हरेक वर्ष जामुनखाडी सिमसार क्षेत्रमा दुई लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यसका कारण यस सिमसार क्षेत्रले वर्षेनी दुई करोडभन्दा बढी आम्दानी गरिरहेको छ ।

दुर्लभ रहेका वन्यजन्तुलाई समेत संरक्षण गरेर राखेका कारण त्यस क्षेत्रमा आउने पर्यटकको अघिल्ला वर्षसम्म घुइँचो नै लाग्यो । यस वर्षको सुरुवातपूर्व नै कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण पर्यटकीय क्षेत्र पूर्णरुपमा बन्द भयो । तर कोभिडको जोखिम कम हुँदै गएपछि पुनःसञ्चालनमा आएको सो क्षेत्र अहिले पनि पर्यटकका लागि पहिलो रोजाइ बन्ने गरेको छ । अहिले पनि दिनहुँ सयौँको सङ्ख्यामा यस क्षेत्रमा पर्यटक आउने गरेका छन् । अझ यस समय वनभोजको समय भएकाले जिल्लावासीको पहिलो रोजाइमा पर्ने गरेको छ जामुनखाडी सिमसार क्षेत्र ।

जामुनबारी सामुदायिक वनको हाताभित्र रहेको सो सिमसार क्षेत्रमा चार दशमलव ५० हेक्टर जमिनमा ताल फैलिएको छ । जसका कारण नेपालका मात्र नभएर भारतबाट समेत यहाँको मनोरम दृष्य हेर्न पर्यटक जामुनखाडी सिमसार क्षेत्रमा आउने गरेका छन् ।

पूर्वका सिमसारमध्ये जामुनखाडी सिमसार क्षेत्र प्रदेश नं १ कै नमूना सिमसारका रुपमा परिचित भएसँगै वन समितिलाई दीर्घकालीन आम्दानीको स्रोतसमेत भएको जामुनखाडी सिमसार क्षेत्रका अध्यक्ष ख्याम सिटौला बताउँछन् । उनी भन्छन्, ‘सिमसार क्षेत्रमा रहेको तालमा डुङ्गा चढ्न र संरक्षित वन्यजन्तु हेर्न आउनेबाट उठाउने शुल्कको आम्दानीले सिमसार क्षेत्र आफैँमा समृद्ध बन्दै गएको छ । सिमसार क्षेत्रको संरक्षण गरेबापत जामुनखाडी सामुदायिक वनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले यसअघि पुरस्कृतसमेत गरेको छ । जैविक विविधताको उत्कृष्ट नमूनाका रुपमा रहेको यस सिमसार क्षेत्रमात्र नभई जिल्लाकै अन्य संरक्षित सिमसार क्षेत्रले पनि मनग्य आम्दानी गरिरहेका छन् ।’

प्रकृतिक स्रोत र सम्पदाको संरक्षण स्थानीयले नै गर्न सक्छन् जनाउँदै २०५२ साल असोज २६ गते तत्कालीन जिल्ला वन कार्यालय झापामा जामुनखाडी सामुदायिक समिति दर्ता भएको थियो । सोही समितिले जामुनखाडीलाई व्यवस्थित सिमसार क्षेत्रका रुपमा विकास गरेर लाने अवधारणा अघि सारेको थियो । सामुदायिक वन समितिको सक्रियतामा यस ठाउँलाई सिमसार क्षेत्र घोषणा गर्दै काम अघि बढाएपछि अहिले जिल्लाको मात्रै नभई प्रदेश नं १ कै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै गएको छ यो ठाउँ । यहाँ पारिवारिक घुमघामदेखि वनभोज र शैक्षिक भ्रमणसम्मका लागि आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

बृहत् क्षेत्रफलमा फैलिएको पोखरीमा डुङ्गा शयर गर्ने यहाँ आउने जो कोही आतुर रहन्छन् । केही समय भए पनि आफूमा भएको थकान मेट्न पानीमा त्यर्नेको सङ्ख्या उल्लेख्य पाउन सकिन्छ ।

जामुनखाडी सिमसार क्षेत्रभित्रै पछिल्लो समय मिनी भ्यूटावर निर्माण गरिएको छ । यसबाट जामुनखाडीको सबै भूभागको अवलोकन गर्दै मज्जा लिने गरिन्छ । जामुनबारी सामुदायिक वन क्षेत्रमा सामान्य खाडी थियो समितिका पूर्वअध्यक्ष केदारप्रसाद गिरी भन्छन्, ‘राँगा आहाल बस्ने ठाउँलाई व्यवस्थित गर्दै अहिलेको यो अवस्थामा ल्याइपुर्‍याएको हो । दलदल परेको जमिन, फाट्टफुट्ट बिरुवा र करैटे झार भएको यो ठाउँलाई व्यवस्थित गर्दै लगेकै कारण यस ठाउँको मुहार फेरिएको हो ।’

लोप भइसकेको पोखरीलाई उत्खनन् गर्दै नयाँ संरचनामा ढालेर जामुनखाडी सिमसार क्षेत्र तयार गरिएको समितिका पूर्वअध्यक्ष पर्शुराम गिरी बताउँछन् । उनी भन्छन्, ‘त्यस समयमा हामीले आ होस् भन्दै छाडेको भए यो ठाउँ मासिएर जाने थियो । लोपोन्मुख अवस्थामा पुगेको यो ठाउँको विकासका लागि समितिका पदाधिकारी मात्र होइन सय ठाउँका स्थानीयको पनि ठूलो साथ सहयोग छ ।’

विसं २०५८ देखि २०६१ सालसम्म पोखरीको लगातार उत्खननपछि यो रुपमा जामुनखाडी सिमसार क्षेत्रलाई ढालेको समितिका पूर्वअध्यक्ष गिरीको भनाइ छ । पोखरीको उत्खनन् गर्दा निस्किएको माटो बाँधका रुपमा परिणत गरेपछि यस क्षेत्रको सुन्दरता थपिएको बताइन्छ ।

जामुनखाडी चार सय ३४ दशमलव १९ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वन जिल्लाकै नमूना सामुदायिक वन हो । पर्या–पर्यटनलाई समेत अङ्गीकार गरिएकै कारण यहाँको सुन्दरता आफैँमा लोभलाग्दो छ ।

चालीस वर्षअघिसम्म विशाल तालका रुपमा रहेको यस ठाउँको संरक्षण नहुँदा मासिँदै गएको स्थानीयको भनाइ छ । अतिक्रमणको चपेटामा परेको यो ठाउँको संरक्षणका लागि कनकाइ नगरपालिकाका बासिन्दाले गरेको पहल अरुका लागि पनि आफैँमा अनुकरणीय छ ।

अहिले यस ठाउँको सिको गर्दै अन्य स्थानीय तहमा पनि सिमसार क्षेत्रको संरक्षण थालिएको छ । मेचीनगरमा रहेको बाँसबारी, अर्जुनधाराको सालबारी, हल्दिबारी गाउँपालिकाको भेलागुडी बाह्रदशी गाउँपालिकाको साधुकुट्टी झिल, गौरादह नगरपालिकाको गौरादह पोखरीलगायत थुप्रै ठाउँका सिमसार क्षेत्रको विकास र विस्तारमा स्थानीय तह जुटेका छन् । स्थानीय तहले आफ्ना ठाउँमा रहेका सिमसार क्षेत्रको पहिचान गर्दै पर्या–पर्यटनका लागि बजेट नै विनियोजन गर्दै सिमसार क्षेत्रको संरक्षणमा तदारुकता देखाउनुले ग्रामीण क्षेत्रका सिमसार धनसारमा परिणत भएर जाने निश्चित छ । रासस

jackson ribon