birat ribon

काव्य–वाटिकाका रुख काटेर सोतर (फोटो फिचर)

Neuro
काव्य–वाटिकाका रुख काटेर सोतर (फोटो फिचर)

सुनसरी / कृति र प्रकृतिको सङ्गमस्थलका रूपमा हुर्काउँदै काव्यिक पर्यटकीय गतिविधि गर्नुपर्ने ठाउँ इटहरी–५ स्थित काव्य–वाटिकामा भएका रुख काटेर सोतर पारिएको छ । शुक्रबार बिहान इटहरी उपमहानगरपालिकाका स्काभेटर, टिपरसहित आएका जनप्रतिनिधि तथा कर्मचारीले काव्य–वाटिका परिसरमा हुर्किएका दुई दर्जनभन्दा बढी रुख काटेर सोतर पारेका हुन् ।

Padelux insider
cura insider

यसबाहेक वाटिका परिसरमा हुर्किएका दुर्लभ नागेश्वरी, सिन्दुर, फूल–अशोक, रुद्राक्ष, कपुर, नौ प्रजातिका समी, लैला–मजनुलगायत विशिष्ट प्रजातिका दुई सयभन्दा बढी बोट–बिरुवा थिए, जसमध्ये धेरै सम्झनामा सीमित बनाइएका छन् भने केहीका ठुटाहरू अझै यत्रतत्र देखिन्छन् ।

त्यहाँ जापान, रुससहित विभिन्न चार मुलुकका कवि–कलाकार, कूटनीतिक प्रतिनिधिका नाममा बिरुवाहरू रोपेर हुर्काइएका थिए, जुन एका–दुईबाहेक सबै मासिइसकेका छन् । विभिन्न देशका राजदूतले भ्रमण तथा सह्रानी गरेको काव्य–वाटिकामा जापानीज भिक्षुले कानेबर रोपेका थिए, जसका पातमा हावा चल्दा सिटी बजेको सुनिन्थ्यो । त्यहाँ योगी विकासानन्दले खजुर तथा रसियन सन्त अलेक्जेन्डरले कुकी प्रजातिका बिरुवा रोपेका थिए ।

पछिल्लोपटक उपमहानगरपालिकाले काव्य–वाटिकाका रुख काटेर ५ नम्बर वडा कार्यालय बनाउन लागेको थाहा पाएर स्थानीय साहित्यकार, कलाकार, पत्रकारहरूले सार्वजनिक रूपमा विरोध गर्दै आएका थिए । तर उपमहानगर प्रतिनिधिले ‘कसले के गर्दो रहेछ हामी पनि हेरौँ’ भन्ने शैलीमा काव्य–वाटिकाका रुख काटेका छन् ।

शुक्रबार धमाधम रुख काटिँदै गरेको सूचना पाएर कोसी अनलाइन प्रतिनिधि काव्य–वाटिका पुग्दा र त्यहाँको अवस्था जो–कोही कवि, कलाकार, लेखक, पत्रकार, वातावरणप्रेमी, प्रकृतिपुजकको मन रुने खालको थियो ।

शुक्रबार बिहान काव्य–वाटिकामा रुख काटन चाहने र काट्नुहुँदैन भन्नेबीच निकैबेर गलफत्ती भएको थियो । त्यही क्रममा वडा–प्रतिनिधि सन्तोष पराजुलीले ‘जसलाई जे–जे गर्न मन लाग्छ गरे हुन्छ तर हामी यहाँ वडा कार्यालय बनाएरै देखाउँछौँ,’ भन्ने उद्घोष गरेका थिए ।

त्यही बेला काव्य–वाटिका आइपुगेका अग्रज पत्रकारतथा साहित्यकार कृष्णविनोद लम्सालले क्षुब्धता व्यक्त गर्दै भने, ‘हत्तेरी कस्तो गलत समयमा यहाँ आइपुगेँछु ।’

काव्य–वाटिका संरक्षण समितिका पूर्व–अध्यक्षसमेत रहेका लम्साल बोल्दा–बोल्दै भक्कानिए । केहीबेर पछि आफूलाई सम्हाल्दै भने, ‘यो आततायी दृश्य देखेर मेरो त आत्मा नै रोइरहेको छ । हामीले विश्वास गरेका जनप्रतिनिधिबाटै के भएको यस्तो यो हरिबिजोक … देश–विदेशमा इटहरीको बदनाम हुने काम !’

‘यो अतिमात्र होइन अतिचार हो,’ घटनास्थलमा भेटिएका कवि तथा सामाजिक अभियन्ता नवराज मैनालीले भने, ‘इटहरीको कला–संस्कृतिसम्बन्धी गतिविधि गर्नुपर्ने यो ठाउँ विभिन्न सरकारी कार्यालय बनाउने नाममा स्थानीय सरकारले अतिक्रमण गर्नु खेदपूर्ण छ ।’

कवि मैनालीका अनुसार इटहरीका जनप्रतिनिधिहरूले यहाँ भएका एकपछि अर्को सांस्कृतिक–साहित्यिक पहिचानका धरोहरहरू सिध्याउँदै छन् । पहिले सांस्कृतिक भवनबाट आक्रमण थाले, पुस्तकालय मासे, ग्रामथानहरू पनि मासिइसके । एउटा बेचेखुचेको काव्य–वाटिका थियो यो पनि अलि–अलि गर्दै सिध्याउन लागे ।’

यतिबेला काव्य–वाटिकामा भएका रुख काटेर सिध्याउनमात्र लागिएको छैन, त्यहाँ रहेको ‘पर्यटन विकास आयोजना, काव्य–वाटिका फन पार्क’ लेखिएको बोर्ड पनि उखेलेर एउटा कुनामा मिल्काइएको छ ।

काव्य–वाटिकाका परिकल्पनाकार, कलाकार विक्रमश्रीका अनुसार अनेक दुर्लभ कलाकृति र वनस्पतिसहित हुर्काइएको काव्यिक–प्राकृतिक तीर्थ मास्न आज जो–जो लागिपरेका छन् तिनलाई यहाँका कवि–कलाकारहरूको आँसुले पोल्नेछ एकदिन । ‘इटहरी मूर्दाको सहर बनाउँदै छन्,’ कलाकार श्रिले भने, ‘इटहरीको साहित्यिक, सांस्कृतिक, प्राकृतिक गरिमा मास्न चाहनेहरूले यसको ठुलो मूल्य भुक्तानी गर्नुपर्नेछ ।’

काव्य–वाटिकाका नाममा छेकेर राखिएको जग्गामा गैरसाहित्यक–गैरसांस्कृतिक कामका लागि स्थानीय सरकारको आँखा किन गडेको भन्ने जिज्ञासामा नगरप्रमुख द्वारिकलाल चौधरीले भने, ‘हामीलाई थाहा छ रुख काट्दा पर्यावरणमा असर गर्छ, नयाँ रुख हुर्काउन धेरै समय लाग्छ, काव्य–वाटिकामा गैरसाहित्यिक संरचना बनाउँदा कवि–कलाकारको चित्त दुख्छ तर यो हाम्रो रहर होइन, बाध्यता हो । वडा कार्यालय बनाउनै पर्नेछ, जसका लागि हामीले अन्त ठाउँ भेट्टाएनौँ ।’

उपमहानगरपालिकाले वन कार्यालयको विनाअनुमति धमाधम रुख काटेको बारे जिज्ञासा राख्दा जिल्ला वन अधिकृत दानबहादुर श्रेष्ठले भने, ‘वन–जङ्गल, बोट–बिरुवा तथा पर्यावरणसम्बन्धी यहाँका जनप्रतिनिधिहरूको चेत र दृष्टि देखेर म हार खाइसकेँ । जथाभावी रुख काट्छन्, कङ्क्रिट संरचना बनाउन सामुदायिक वन नै कागज गरेर दिन्छन् । कति प्रश्न गर्नु, कति सचेत बनाउनु, कति सम्झाउनु ?’

‘सरकारी संरचनाका लागि त स्थानीय सरकारले जहाँ पनि ठाउँ बनाउन सक्छ तर कवि–कलाकारले यत्तिको तीर्थ अब अर्को ठाउँमा हुर्काउन सक्दैनन्,’ गीतकार गायत्री लम्साल भन्छन्, ‘काव्य–वाटिका परिसरमा स्वास्थ्य–चौकी बनाउँछु, वडा कार्यालय बनाउँछु भन्ने जस्तो फोहोरी अभिव्यक्ति अर्को हुँदैन । त्यसैले काव्य–वाटिका बचाउन लडाइँ लडिन्छ, त्यत्तिकै छोडिँदैन ।’


jackson ribon