काठमाडौँ/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्त्वपूर्ण हुने बताएका छन् ।
नबिल बैङ्क लिमिटेडले काठमाडौँको कुलेश्वरस्थित थोक फलपूmल बिक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग सबैभन्दा उत्तम रहेको बताए । पैसाको माध्यमबाट कोभिड–१९ सङ्क्रमणको जोखिम हुनसक्ने भएकाले पनि अहिलेको अवस्थामा क्यूआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गर्नु सान्दर्भिक रहेको उनको भनाइ थियो ।
गभर्नर अधिकारीले आपूm पैसामा हस्ताक्षर गर्ने व्यक्ति भए पनि आफूले हस्ताक्षर गरेको नोटको प्रयोग कम भए हुन्थ्यो जस्तो लागेको बताए । नगदको प्रयोग कम हुँदा, देश, बैङ्क, व्यवसायी र सर्वसाधारण सबैलाई फाइदा पुग्ने उनको भनाइ छ । यस्तै नगदको प्रयोग सकेसम्म कम गरेर दैनिक कारोबार गरी आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन सकिने पनि गभर्नर अधिकारीले बताए ।
कार्यक्रममा नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले कोभिडको समयमा मात्रै नभई सधैँका लागि नगदरहित समाज निर्माण गर्नुपर्ने बताए । प्रत्येक फलफूल पसलमा क्यूआर कोडमार्फत भुक्तानी गर्ने अभियान सञ्चालन गरेमा नगदरहित समाज निर्माण गर्न सकिने पनि उनको भनाइ छ । सर्वसाधारण नागरिकले कारोबार गर्ने हरेक पसलमा क्यूआर कोडको प्रयोग गरी नगदरहित कारोबारसम्बन्धी शिक्षा दिन सकिने पनि सिइओ शाहले बताए ।
साइकलमा फलफूल बिक्री गर्दै हिँड्ने महमद सुल्तान मियाँले क्यूआर कोडबाट भुक्तानी हुने व्यवस्था भएपछि सहज भएको बताए । साइकलमा फलपूmल राखेर गोजिभरी खुद्रा पैसा बोकेर हिँड्न’ नपर्ने र पैसा हराउने तथा चोरी हुने डर पनि नहुने उनको भनाइ थियो ।
क्यूआर कोडबाट भएको भुक्तानीको मोबाइलमा म्यासेज आउने भएकाले ग्राहकले कोड स्क्यान गरेपछि खातामा पैसा आए नआएको तत्काल थाहा हुने भएकाले ढुक्क भएर कारोबार गर्न सकिने मियाँले बताए । साइकलमा फलफूल तथा तरकारी बिक्री गर्दै हिँड्ने व्यापारीले पनि क्यूआर कोड प्रयोग गर्न थालेपछि राष्ट्र बैङ्कका अधिकारी र बैंकर्सहरू खुसी देखिएका छन् ।