महोत्तरी । महोत्तरीमा भ्रमका कारण दुई सय ९९ जनाले मात्र कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर सुरु गरिएको खोप दुई दिनमा दुई सय ९९ जनाले मात्र लगाएका हुन् ।
स्वास्थ्य कार्यालय महोत्तरीले पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार दुई सय ६१ जनाले मात्र यो सेवा लिएको जनाएको छ ।
स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ नियन्त्रण अभियानका स्रोत व्यक्तिसमेत रहेका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले पहिलो दिन एक सय ३५ जनालाई खोप दिने लक्ष्य थियो भए पनि ३८ जनाले मात्र खोप लगाएको बताए ।
कतिपयमा खोपबारे रहेको भ्रमले प्रारम्भिक चरणमा सेवा लिने कम देखिएको बताउँदै उनले यो भ्रम चिरिँदै जाने र केही दिनभित्रै सेवाबारे विश्वसनीयता बढ्ने बताए । एक साताभित्र दुई हजार २३० जनालाई खोप दिइने कार्यालयको लक्ष्य छ ।
खोपबारे सामाजिक सञ्जालमा विभिन्न भ्रम देखेपछि सुरुका दिनमा डरले खोप लगाउने घटेका स्वास्थ्यकर्मीको ठम्याइ छ । उनले भने, ‘अस्पतालका चिकित्सक, स्वास्थ्य कार्यालयका प्रमुखसहित हामी सबैले देख्नेगरी खोप लगाएका छौँ । अब भ्रम हट्दै जान्छ र सेवा लिनेको सङ्ख्या बढ्छ ।’