birat ribon

वार्ताको तयारीमा विप्लव समूह

Neuro
वार्ताको तयारीमा विप्लव समूह

विराटनगर । यसअघि सरकारसँग वार्ता गर्नेभन्दै आफ्ना कार्यकर्ता छुटाएर लगेपछि सम्पर्कविहीन बनेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताको वातावरण बनाउने तयारीमा लागेको छ ।

Padelux insider
cura insider

विभिन्न सर्तसहित सरकारसँग वार्ताको तयारीमा जुटेको यो समूहप्रति सरकारले भने विश्वास गरेको छैन । यसअघि पनि वार्तामार्फत समस्याको समाधान गर्ने र शान्तिपूर्ण राजनीतिमा फर्कने उद्घोष गरेको विप्लव समूहले थुनामा रहेका कार्यकर्ता छुटेपछि वास्ता नगरेका कारण सरकार भने सशंकित बनेको हो ।

तर विप्लव समूहले भने सरकारले लगाएको प्रतिबन्ध फुकुवा, संविधान संशोधनसहितका सर्त राखेर शान्तिपूर्ण राजनीतिमा फर्कने प्रयास स्वरुप वार्ताको तयारी थालिएको जनाएको छ । उसले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता समिति तयार गरिसकेको स्रोतले बतायो । सरकारले चाहेमा यहि समितिले वार्ताको प्रक्रिया अघि बढाउने छ । समितिमा हालै पक्राउ परेका धर्मेन्द्र वास्तोला र चिरन पुन सदस्य रहेका छन् ।

यसअघि सरकारले सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता टोली बनाएर काम अघि बढाएको थियो । पाण्डे नेतृत्वको टोलीले विभिन्न समूहसँग वार्ता गरेको थियो । तर विप्लव समूहसँग भने सरकारको वार्ता प्रयास असफल बन्यो । विप्लव समूहले पक्राउ परेका आफ्ना कार्यकर्ता छुट्नुपर्ने अडान राखेको थियो । सरकारले त्यस बेला पक्राउ परेका उक्त समूहका कार्यकर्तालाई छाडेको थियो ।

तर सरकारसँग बार्गेनिङ गरी आफ्ना नेता कार्यकर्ता छुटाएपछि वार्ता टोलीको सम्पर्कमा नआइ भागेकोभन्दै सरकारले वार्ताका लागि यो समूहले पछिल्लो समय गरेको तयारीमाथि विश्वास गर्न सकिरहेको छैन । गृह मन्त्रालय स्रोतकाअनुसार वार्ताका लागि अनौपचारिक कुराकानी चलिरहेका बेला विप्लव समूह आफ्ना कार्यकर्ता छुटाएपछि त्यस बेला सम्पर्कविहीन बनेको थियो । त्यही भएकाले यस पटक पनि वार्ताका लागि यो समूहले गरेको भनिएको तयारीलाई पत्याइहाल्नसक्ने अवस्था नभएको बताइएको छ ।

विगतको शंकास्पद भूमिकाका कारण यो समूहसँग सरकारले अहिलेसम्म वार्ताको कुनै तयारी नगरेको गृह स्रोतले बतायो । सरकारले प्रतिबन्ध लगाएपछि पार्टीले ठूलै क्षति बेहोर्नु परेको निस्कर्ष विप्लव समूहको छ । त्यही भएकाले वार्ताको पहिलो सर्तनै उसले प्रतिबन्ध फुकुवालाई बनाएको हो ।

मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंसिर २३ गते विभत्स हत्यापछि विप्लव समूहको गतिविधीका बारेमा चौतर्फी आलोचना भएको थियो । यहि घटनापछि उसलाई वार्ताबाट समस्याको समाधान खोज्न र हिंसाको राजनीति त्याग्न दबाब बढिरहेको छ । नियन्त्रणमा लिएर अपहरण गरेपछि विप्लव समूहले घाँटी रेटेर शिक्षक श्रेष्ठको बर्बरतापूर्वक ढंगले हत्या गरेको थियो ।

विप्लव समूहलाई सरकारसँग वार्तामा ल्याउन पुलको काम गरिरहेको सम्पर्क सुत्रले एकदुई पटक सरकारसँग कुराकानी गरेको बुझिएको छ । त्यही कुराकानीका आधारमा विप्लव समूहले वार्ताका लागि समिति तयार पारेको स्रोतले बतायो । तर सरकारले भने अहिलेसम्म वार्ताका लागि विश्वास गरिहाल्ने वातावरण नभएकोभन्दै कुनै तयारी गरेको छैन । वार्ता टोली गठन बारे विप्लव समूहले पनि आधिकारिक रुपमा कसैलाई जानकारी दिएको छैन ।

विप्लव समूहले प्रधानमन्त्री तहमै कुराकानी गरेर वार्ता टोली सार्वजनिक गर्ने र शान्तिपूर्ण प्रकृयामा आउने सन्देश गृह मन्त्रालयमा पठाएको थियो । तर मन्त्रालयले विश्वसनीय आधार नभएको भन्दै बेवास्ता गरिरहेको स्रोतको भनाइ छ । ‘निर्वाचनको बेलमा विप्लव समूहलाई वार्तामा ल्याउने र शान्तिपूर्ण राजनीतिमा ल्याउने हो भने फाइदा हुन्थ्यो तर गृहमन्त्रालयले विश्वसनीय आधार नभएको भन्दै वेवास्ता गरेको छ’, मन्त्रालय स्रोतले भन्यो ।

विप्लव समूहले आफ्ना कार्यकर्ताको रिहाइ, मुद्धा फिर्ता तथा प्रतिबन्ध फुकुवाको विषयमा गृहमन्त्री रामबहादुर थापा बादलसँग कुराकानी अघि बढाइसकेको स्रोतले बतायो । तर पनि विगतको शंकास्पद भूमिकाका कारण थापा यस विषयमा सकारात्मक बन्न सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद (प्रतिनिधिसभा) विघटन गरेर निर्वाचन घोषणा गरेपछि विप्लव समूहले पनि शान्तिपूर्ण मार्ग अपनाउने प्रयास स्वरुप वार्ताका लागि पहल गरिरहेको स्रोतले बतायो ।

jackson ribon