विराटनगर । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) मुलुकको तराई भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाइएको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सफा रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू(भागमा मौसम सफा रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ ।