विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्रविरोधी भएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओली गणतन्त्रवादी होइनन्। उनी न समयको गतिलाई बुझ्न सक्छन् न राम्रो काम गर्छन्। खालि अरूको बदख्वाइँमात्र गर्न जानेका छन्।’ ओलीले वैशाखमा चुनाव हुन्छ भनेर गरेको भविष्यवाणी असफल हुने नेपालले बताए।
‘२०६२।०६३ को आन्दोलनका बेला गणतन्त्र ल्याउनु बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो भन्ने ओलीको भविष्यवाणी असफल भएको थियो। अहिले वैशाखको चुनावको भविष्यवाणी पनि असफल हुन्छ’, नेपालले भने। ओलीले यसअघिका कुनै पनि न्यायपूर्ण आन्दोलनमा अगुवाइ नगरेको नेपालको भनाइ थियो। जनमतको कदर गर्न नसक्ने व्यक्तिबाट मुलुकले निकास नपाउने बताउँदै अध्यक्ष नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै विकास र समृद्धिका लागि आफ्नो पार्टी अगाडि बढेको दाबी गरे।
‘म नै राष्ट्र हुँ भन्ने अहंकारले मैमत्त ओलीले बकबक मात्रै गर्न जानेका छन्’, नेपालले भने, ‘हामी भन्छौं अली कम बोल्नुस्, काम धेरै गर्नुस् तर उनी राम्रो काम गर्नै जान्दैनन्, खालि बकबक गरिरहन्छन्।’ अब पनि आफूलाई नसुधारे ओली र ओली प्रवृत्तिलाई इतिहासले हुत्याइदिने दाबी उनको थियो। निर्वाचन आयोगले निर्णय दिएपछि ओलीको जालझेलमा परेकाहरू पनि चिन्तित भएको भन्दै नेपालले सबैलाई मूल घर फर्कन आग्रह गरे। नागरिक दैनिकमा समाचार छ