विराटनगर श्र इटालियन कोपा इटालियामा सर्वाधिक धेरै १३ पटकको विजेता टोली युभेन्टसले इन्टर मिलानसँगको भेट पक्का गरेको छ । बुधबार राति एसपिएएलमाथि ४–० गोलान्तरको जित दर्ता गर्दै सेमिफाइनल पुगेको युभेन्टसले फाइनलका लागि इन्टरसँग खेल्ने पक्का भएको हो ।
इन्टर भने मङ्गलबार राति एसी मिलानमाथि जित निकाल्दै अन्तिम चारमा पुगेको हो । अब, युभेन्टस र इन्टरले फेब्रुअरी ३ मा पहिलो लेगको खेल खेल्नेछन् भने फेब्रुअरी १० मा दोस्रो लेगको खेल खेल्नेछन् । दुवै लेगको विजेता टोलीले फाइनल खेल खेल्नेछ ।
युभेन्टस र इन्टरले १८ जनवरीमा मात्र घरेलु लिगमा प्रतिस्पर्धा गरेका थिए । इन्टरको मैदानमा भएको खेलमा युभेन्टस २–० गोलले पराजित भएको थियो । अब, सोही खेलको बदला लिने दाउमा युभेन्टस छ ।
यता, युभेन्टसका प्रशिक्षक आन्द्रेस पिर्लोले भने सिरी ‘ए’को खेल बिर्सिएको प्रतिक्रिया दिएका छन् । इन्टरसँगको भेट पक्का गरेपछि उनले भने, ‘मिलानमा भएको लिगको खेल बिर्सियौँ । अब हामीले कोपा इटालियाको फाइनलमा उनीहरूको सामना गर्नेछौँ, महान् तिर्खा मेटाउँदै फाइनल पुग्ने लक्ष्यमा छौँ ।’
‘उनीहरूको खेल्ने शैली फरक छ । अब, आगामी शनिबारको खेलपछि हामी सो खेलका लागि तयारीमा जुट्नेछौँ’, उनले थपे । युभेन्टसले आगामी शनिबार साम्पोडोरियासँग खेल्दैछ ।