वीरगन्ज । नेपालीलाई नेपालीले नै रोजगारी दिने र त्यसका लागि सानै भए पनि उद्यम खोल्नुपर्छ भन्ने मान्यताका साथ ‘गरिखाने अभियान’ सुरु भएको छ । बिहीबार नेपाली काङ्ग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा वीरगन्जबाट गरिखाने अभियान थालेको हो ।
वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा काङ्ग्रेसका नेता एवं निवर्तमान सांसद् चौधरीले नेपालका ६० लाख युवाको जमात रोजगारी र उद्यमको बजारमा रहेर पनि उनीहरूले आफ्नै देशमा केही गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको हुँदा अब स्वदेशमै केही गर्नुपर्ने भन्ने उद्देश्यका साथ युवा जमातलाई सानै भए पनि उद्यम खोल्न अभिप्रेरित गर्नुपर्ने कुरामा जोड दिए ।
चौधरीले कुनै पनि राष्ट्र सम्पन्न हुने परिकल्पना गर्नका लागि सबैभन्दा पहिला समाजमा गरिखाने वर्गप्रतिको भावना सकारात्मक हुनुपर्ने कुरामा जोड दिँदै जबसम्म गरिखाने सोच भएकाहरूलाई समाजले महत्व दिँदैन, तबसम्म समस्या समाधान नहुने बताए ।