काठमाडौं । शसस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार चौथो जित निकालेको छ । बिहीबार भएको खेलमा साविक विजेतासमेत रहेको एपिएफले नेपाल पुलिस क्लबलाई ३–० गोलले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफलाई जिताउन सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरिन् । खेलको ३२औं मिनेटमा साम्बाले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

खेलको ५७औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई २–० गोलको अग्रता बनाइन् । ८४औं मिनेटमा साम्बाले गोल गर्दै प्रतियोगितामा आफ्नो तेस्रो ह्याट्रिक पूरा गरिन् । र, एपिएफलाई ३–० गोलको जित दिलाइन् ।
यसअघि साम्बाले चन्द्रपुर र विराटनगरविरुद्धको खेलमा ह्याट्रिक गरेकी थिइन् ।
यससँगै शीर्ष स्थानको एपिएफले चार खेलमा १२ अङ्क जोडेको छ । यसअघि उसले पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकामाथि ६–० गोलको जित निकालेको थियो भने दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७–० गोलले हराएको थियो । यस्तै तेस्रो खेलमा त्रिभुवन आर्मीविरुद्ध २–० गोलको जित निकालेको थियो ।
पुलिससँग भने पाँच अङ्क छ । उसले एक खेलमा जित र दुई खेलमा बराबरी खेलेको छ ।