birat ribon

मधेसमा शीतलहरले जनजीवन प्रभावित

Neuro
मधेसमा शीतलहरले जनजीवन प्रभावित

धनुषा/केही दिनदेखि चलेको शीतलहरका कारण मधेसको जनजीवन कष्टकर बन्न पुगेको छ । पुसको अन्तिम सातादेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको चिसोले धनुषासहितमध्य तथा पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको हो ।

दुई सातादेखि घाम नलागेपछि यस क्षेत्रमा अत्यधिक चिसो बढेको छ । जाडोमा खासगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गरेका छन् । आर्थिक विपन्नता हुने कतिपय मानिस कठ्याङ्ग्रिएर मर्ने गरेका छन् । चिसो बढेसँगै बजारमा जाडोका कपडाको व्यापार बढेको छ । जाडो याममा न्यानो लुगाफाटोको बिक्री बढ्नुका साथै माछा, मासु र अण्डाको बिक्री पनि बढेको छ ।

cura insider

अत्यधिक चिसोको कारण तरकारी खेती पनि प्रभावित हुन थालेको छ । चिसोका कारण धान थन्काउने तथा गहँु र तोरी छर्ने चटारोमा रहेका किसानलाई समेत समस्या भएको छ । आलुबालीको पात तुषारोका कारण गल्नसक्ने सम्भावना देखिन थालेको छ । शीतलहरले आलु र गोलभेंडाका बोट नष्ट हुन थालेका छन् ।

मिथिला नगरपालिकाका किसान राम उदगार महतोले आलु र गोलभेंडा फल्ने बेलामा ह्वात्तै बढेको चिसो र शीतलहरका कारण रोग लागेर बिरुवा नै सुक्न थालेको बताए । उनले गोलभेँडा र आलुमा डढेलो, तोरी र सिमीमा पात सुख्ने र काउलीको भित्री डाँठ नै कुहिने गरेको बताए ।

खाद्य तथा पोषण सुरक्षा आयोजना जनकपुरधामका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बाक्लो कुहिरोसँगै चलेको शीतलहरले तेलहन, दलहन तथा तरकारी बालीमा समस्या हुने जानकारी दिए ।

प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अहिले गरिब र दलित बस्तीमा चिसोबाट बच्ने प्रमुख साधन पराल बनेको छ । शीतलहरले गरिबको दैनिकी प्रभावित गरेको छ । दैनिक कामगरी खाने मजदूर बिहानबेलुका बाहिर निस्कन सकेका छैनन् । शीतलहरको प्रकोप बढ्न थाले पनि स्थानीय सरकारले कुनै राहतका कार्यक्रम सार्वजनिक गरेका छैनन् ।

‘रिक्सा पेल्न बजार ननिस्किए चुलो नबल्ने चिन्ता, निस्किए कठ्याङ्ग्रिँदो चिसोले ज्यानै जाने डर छ,’ जनकपुरधाम उपमहानगरपालिका–२ का ठेला चलाउने रामप्रवोध सदाले भने । उनले ठेला चलाएर थोरै आम्दानी हुने भएकाले छोराछोरीका लागि बाक्लो लुगा किन्न नसकेको बताए ।

सदा जस्तै अन्य विपन्न समुदायका मजदुरको पीडा पनि उस्तै छ । दैनिक मजदूरी गरी जीविकोपार्जन गर्ने मजदुर, किसान र रिक्साचालक जाडोबाट बढी प्रभावित भएका छन् । जाडो र शीतलहरका कारण बालबालिकामा निमोनियाको प्रभाव बढी देखिएको छ । दमका रोगीको सङ्ख्या पनि बढेको चिकित्सकको भनाइ छ ।

जनता आवास कार्यक्रमले प्रदेश नं २ का जिल्लाका दलितको झुपडी भत्काएर दुई कोठे पक्की घर निर्माण गर्न लागे पनि त्यस्ता घरको छाना, झ्याल ढोका नहुँदा अवस्था झनै दयनीय छ । यहाँका बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको छ । जनता आवासले दुई वर्षअघि घर बनाउन थाले पनि छाना नहाल्दा चिसोमा पाल टाँगेर बस्न बाध्य हुनुपरेको महोत्तरी भङ्गाहा नगरपालिका मुसहर बस्तीका रामपृत सदाले बताए ।

चिसो बढेसँगै विभिन्न जिल्लाका सरकारी कार्यालयमा आउने सेवाग्राहीसमेत घटेका छन् । सधैँ भीडभाड हुने सरकारी कार्यालयमा बढ्दो चिसोका कारण सेवाग्राहीको उपस्थिति पातलिँदै गएको छ । बाक्लो हुस्सुका कारण जनकपुर विमानस्थलवाट हुने हवाई उडानसमेत प्रभावित भएको छ । मङ्गलबार बिहानैदेखि बाक्लो हुस्सु लागेकाले जनकपुर विमानस्थलको सम्पूर्ण हवाई उडान चार दिनदेखि प्रभावित भएको छ ।

बाक्लो कुहिरोका कारण सवारीसाधन सडकमा गुडाउन पनि समस्या भइरहेको छ । खास गरेर न्यूनतम तथा अधिकतम तापक्रमका बीचमा खासै भिन्नता नभएका कारणले अत्यधिक मात्रामा चिसो महसुस गरिएको छ । जनकपुरधामको आज बिहानको तापक्रम १० डिग्रीमा झरेको थियो ।
चिसोको मौसमी प्रताडना भोग्नुपरे पनि सरकारले राहतको व्यवस्था गर्न सकेको छैन । तत्काल राहत उपलब्ध गराउन पीडितपक्षले माग गर्दै आएका छन् ।

चिकित्सकहरूले चिसोबाट जोगिन शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने, तातो खानेकुरा तथा तातो पानी झोलिलो पदार्थ सेवन गर्नका लागि सर्वसाधारणमा आग्रह गरेका छन् र साथै आवश्यक काम नभएको खण्डमा घर बाहिर ननिस्कनका लागि समेत आग्रह गरिएको छ । रासस

jackson ribon