birat ribon

गर्भावस्थामा लापरवाही गरे ज्यान जान सक्छ

Neuro
गर्भावस्थामा लापरवाही गरे ज्यान जान सक्छ
डा. जीवन धमला
स्त्री तथा प्रसूती विशेषज्ञ

गर्भावस्था महिलाका लागि विशेष र जोखिमपूर्ण अवस्था हो । गर्भावस्थालाई खासगरी तीन चरणमा विभाजन गरिन्छ । गर्भावस्थाका तीन चरणमा समस्या देखापर्न सक्छन् । गर्भावस्था रोग होइन । तर, केही अवस्था, स्वास्थ्य समस्याका कारण वा लापरवाही गरे समस्या आउन सक्छ ।

Padelux insider
cura insider

गर्भ बसेको दिनदेखि १२ हप्तासम्मको अवधिलाई पहिलो चारण (फस्ट ट्राइमेस्टर), १३ देखि २८ हप्तालाई दोस्रो अवधि (सेकेन्ड ट्राइमेस्टर) र २९ देखि ४० हप्तासम्म तेस्रो अवधि (थर्ड ट्राइमेस्टर) रुपमा लिने गरिन्छ ।

गर्भवती आमालाई गर्भावस्थाको पहिलो चरणको अवधिमा निकै खतरा हुने गर्छ । यो अवधिमा गर्भ तुहिने सबैभन्दा बढी सम्भवाना हुन्छ ।

अत्यधिक रक्तश्राव हुने वा रक्तश्रावकै कारण गर्भसमेत तुहिने, गर्भपतन भएर जाने हुनसक्छ । अधिकांश गर्भवतीलाई पहिलो तीन महिनामा वाकवाकी र बान्ताले सताउन सक्छ । यसलाई सामान्य मानिन्छ तर, कतिपयलाई अत्यधिक बान्ता हुने वा बान्ता नरोकिने हुनसक्छ । बान्ता नरोकिएको अवस्थालाई हाइपरइमेसिस् ग्राभिड्यारम् भनिन्छ ।

गर्भावस्थाभन्दा पहिला नै मधुमेह, रक्तचाप, मुटुरोगलगायतका दीर्घकालीन समस्या हुनसक्छ । यस्ता समस्यालाई गर्भावस्थाको पहिलो चरणमा पत्ता लगाएर रोगलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । गर्भावस्थामा अन्य धेरै समस्याहरू हुन सक्छन् । गर्भावस्थाको पहिलो चरणको अवधिमा पिसाबमा सङ्क्रमण (युरिनरी ट्राक्ट इन्फेक्सन वा युटिआई) हुने समस्या पनि हुन्छन् ।

गर्भावस्थाको दोस्रो ट्राइमेस्टरमा गर्भवती महिलाको शरीरमा आइरनको मात्रा बढी चाहिने हुन्छ । जसकारण पोषण नपुगेको अवस्थामा, ग्रामीण ठाउँका महिलामा आइरनको मात्रा कम हुने, एनिमिया (रक्त अल्पता) को समस्या देखिन सक्छ । त्यस्तै, पेट दुख्ने, सालनाल (प्लासेन्टा)को पोजिसनमा गडबडी हुने, गडबडी भएको कारण रक्तश्राव हुनेलगायतका समस्या हुनसक्छ ।

गर्भावस्थाभन्दा पहिला नै मधुमेह, रक्तचाप, मुटुरोगलगायतका दीर्घकालीन समस्या हुनसक्छ । यस्ता समस्यालाई गर्भावस्थाको पहिलो चरणमा पत्ता लगाएर रोगलाई नियन्त्रण गर्नुपर्ने हुन्छ ।

साथै, गर्भावस्थामा हुने अर्को प्रमुख समस्या भनेको उच्च रक्तचाप हो । २० साता कटेपछि गर्भवती महिलालाई गर्भावस्थाको रक्तचाप (गेस्टाटिनल हाइपरटेन्सन) देखापर्न सक्छ । त्यस्तै २४ हप्ता नाघेपछि चिनीको मात्रा नियन्त्रण नभई गर्भावस्थाको मधुमेह (गेस्टाटिनल डाइबिटिज)को समस्या पनि देखा पर्न सक्छ । र, गर्भावस्थाको अन्तिम अवस्थासम्म पनि रक्तअल्पताको समस्या रहिरहन सक्छ ।

गर्भावस्थाको समयमा पेटको आकार बढ्दै जाँदा पेट दुखाइ, पिसाबको सङ्क्रमण र कब्जियतको समस्या पनि एकदम देखिन सक्छ । त्यस्तै पहिलाबाट पाइल्स, हेमोरेजको समस्या भएमा रक्तश्राव हुने जोखिम बढ्न सक्छ । कसैमा महिना नपुगी व्याथा लाग्ने (प्रिटर्म लेबर) र थर्ड ट्राइमेस्टरको अन्तिमतिर रक्तचापको समस्या बढ्ने, पानीको फोका फुटेर बग्न सक्ने (लिकिङ) हुनसक्छ ।

मधुमेह, रक्तचाप तथा एनेमिया भएका कतिपय गर्भवतीले जन्माएको शिशुको मृत्यु हुने, शिशुको तौल कम हुने, भ्रुण तथा शिशुको विकास ढिलो हुनेलगायतका समस्या हुनसक्छ ।

त्यसैले हरेक ट्राइमेस्टरमा नियमित रुपमा स्वास्थ्य परीक्षण गर्नु पर्छ । साथै, चिकित्सकले दिएको औषधिलाई सही तरिकाले सेवन गर्नु तथा दिएका निर्देशन पूर्णरुपले पालना गर्नुपर्ने हुन्छ ।

कम उमेरमा गर्भवती हुनु खतरापूर्ण

२० वर्ष नपुग्दै तथा ३५ वर्ष पार गरिसकेपछि गर्भ राख्दा पनि जोखिम बढ्ने सम्भावना रहन्छ । सानो उमेरमा हुने गर्भधारण आमा र शिशु दुवैका लागि खतरापूर्ण हुन्छ । कम उमेरमा गर्भवती (टिनएज प्रेगनेन्सी) हुँदा पाठेघर र बच्चा जन्माउने नली राम्रोसँग विकास भइसकेको हुँदैन ।

कम उमेरमा गर्भवती भएका महिलामा धेरैजसो महिना नपुगी व्यथा लाग्ने, डेलिभरी हुने बेलामा लामो समयसम्म व्यथा लाग्ने, डेलिभरी गर्न गाह्रो हुने, नर्मल डेलिभरी गर्न नमिलेका कारण शल्यक्रियामार्फत् बच्चा जन्माउनु पर्ने हुनसक्छ । कम उमेरमा गर्भवती भएमा गर्भ तुहिने (मिसक्यारेज) हुने खतरा पनि बढी हुन्छ । साथै, एनेमिया र जन्मेको शिशुको तौल कम हुनेजस्ता समस्या देखापर्न सक्छ । कम्तिमा पनि २० वर्ष नाघेपछि मात्रा आमा बन्न शरीर तयार भइरहेको हुन्छ ।

२० वर्ष नपुग्दै तथा ३५ वर्ष पार गरिसकेपछि गर्भ राख्दा पनि जोखिम बढ्ने सम्भावना रहन्छ । सानो उमेरमा हुने गर्भधारण आमा र शिशु दुवैका लागि खतरापूर्ण हुन्छ ।

कस्तो अवस्थामा शल्यक्रिया गर्ने ?

धेरैले नर्मल डेलिभरीको साटो सिजेरियन (शल्यक्रियामार्फत्) डेलिभरी गर्छन् । दुखाइ सहन नसक्ने कारण हरेकले शल्यक्रियामार्फत् बच्चा जन्माउन आग्रह गर्छन् । तर, सामान्य गर्भअवस्था भएको वा कुनै समस्या नभएको खण्डमा गर्भवतीलाई शल्यक्रियामार्फत् नभई नर्मल डेलिभरी गराइन्छ । तर, गर्भावस्थामा आएका अन्य केही समस्या भने शल्यक्रिया गरेर बच्चा जन्माउनु पर्ने हुन्छ ।

बच्चाको तौल र आकारअनुसार पनि कहिले काहीँ शल्यक्रिया गर्नुपर्ने हुन्छ । बच्चाको तौल र आकार आमाको नाइटो तलको हड्डी (पेल्भिस) को आकारसँग नमिलेको (सेपालो पेल्भिक डिसप्रोपोसन) खण्डमा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

पहिलो बच्चा सिजेरियनमार्फत् जन्माएको छ भने दोस्रो बच्चालाई पनि सिजेरियनमार्फत् जन्माउनुपर्ने हुन्छ । त्यस्तै, व्यथा लागेपछि पनि लामो समयसम्म शिशु नजन्मिए (प्रोलङ लेवर)मा पनि शल्यक्रिया गरेर बच्चा जन्माउनु पर्ने हुन्छ । कतिपय अवस्थामा बच्चाले गर्भमा भएकै अवस्थामा दिसा गरेमा समेत शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।

सालनालको पोजिसन पाठेघरभन्दा तल भएमा (प्लासेन्टा पर्भिया), बच्चा सालनालभन्दा पछाडि भएमा, प्लासेन्टा परिपक्व भएर रक्तश्राव भएमा शल्यक्रिया नै गरेर बच्चा जन्माउनुपर्ने हुन्छ ।

आमाको शरीरमा हुने एम्निओटिक फ्ल्युड (बच्चा हुर्किन चाहिने तरल पदार्थ)को मात्रा एकदम कम भएमा वा पाँच सेन्टिमिटरभन्दा कम भएमा, अत्यधिक धेरै तौल भएको शिशु भएमा (पाँच किलो वा सोभन्दा बढी), व्यथा लागेपछि बच्चाको मुटुको चालमा गडबडी भएमा पनि शल्यक्रिया गरेर बच्चा जन्माउनु पर्ने हुन्छ ।

जटिलताका कारण मृत्यु हुन सक्छ

बच्चा जन्माउनका लागि गरिएको शल्यक्रियाका कारण नै मृत्यु हुन्छ भन्ने हुँदैन । स्वास्थ्यमा भएको समस्या र जटिलताका कारण अत्यधिक रक्तश्राव भएमा मृत्यु हुने सम्भावना भने बढ्ने गर्छ । शल्यक्रियाको समयमा अत्यधिक रक्तश्रावका कारण मृत्यु हुने सम्भावना बढी हुन्छ भने नेपालमा गर्भवती महिलाको शल्यक्रिया गर्दा मृत्यु हुने मुख्य कारण भनेकै अत्यधिक रक्तश्राव हो ।

पहिला नै शल्यक्रियामार्फत् बच्चा जन्माएकामा सालनाल पहिलाकै ठाउँमा टासिएमा वा मुत्रनलीतिर टाँसिएमा (प्लासेन्टा एक्रिटा) शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राव हुने सम्भावना बढी हुन्छ ।

रक्तश्रावलाई रोक्न नसक्दा पनि धेरैको मृत्यु हुने गर्छ । शल्यक्रिया गरिसकेपछि सङ्क्रमण पनि हुने सम्भावना रहन सक्छ । कतिपय अवस्थामा सङ्क्रमण (सेपसिस) पेटलगायत शरीरभरि फैलन सक्छ जसले पनि मृत्यु निम्त्याउन सक्छ । कतिपय मटुको समस्याका कारण, मुटुको नली साँघुरिएमा डेलिभरीको समय वा शल्यक्रिया गर्दाको समयमा अचानक मृत्यु हुनसक्छ ।

कसैको शरीरमा रगत जम्ने क्षमता (कोएगुलेसन प्रोपर्टी) नभएर, इक्लाम्पसिया (उच्च रक्तचाप बढेका कारण बेहोस हुने अवस्था), शल्यक्रियापछि नसामा रगत जम्ने समस्या भएमा, शल्यक्रियापछि रक्तचाप नियन्त्रण नभएमा पनि मृत्यु हुने सम्भावना हुन्छ ।

इम्बोलिसम (एम्निओटिक फ्ल्युड आमाको रक्तसञ्चारमा मिसिन गएर फोक्सोमा गएर अड्किएमा रक्तसञ्चारमा अवरुद्ध भएमा) का कारण पनि शल्यक्रियाको बेलामा अचानक मृत्यु हुन सक्छ ।

(कोसी अस्पतालमा कार्यरत डा. धमलासँग कोसी अनलाइनका लागि अङ्किता ताम्राकारले गरेको कुराकानीमा आधारित ।)

jackson ribon