विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा सर्वाधिक धेरै पटकको उपाधि विजेता टोली म्यानचेस्टर युनाइटेड रेलिगेशन जोनको शेफिल्ड युनाइटेडसँग पराजित भएको छ । बुधबार राति युनाइटेड आफ्नै घरेलु मैदानमा शेफिल्डसँग २–१ गोलले स्तब्ध भएको हो ।
ओल्ड ट्राफोर्डमा शेफिल्डलाई जिताउन किन ब्रायन र ओलिभर बुर्केले समान एक–एक गोल गरे । युनाइटेडका ह्यारी मागुइरेको गोल सान्त्वना रह्यो ।
खेलको २३औं मिनेटमा ब्रायनले गोल गर्दै शेफिल्डलाई सुरुआती अग्रता दिलाएका थिए । ६४औं मिनेटमा मागुइरेले गोल गर्दै युनाइटेडलाई बराबरीमा फर्काए ।
तर, ७४औं बुर्केले गोल गर्दै शेफिल्डलाई २–१ गोलको जित दिलाए ।
यससँगै युनाइटेडले शीर्ष स्थानमा फर्किने मौका गुमाएको छ । हाल ऊ ४० अङ्कका साथ दोस्रो स्थानमा छ ।
उसले २० खेल खेलेको छ । ऊभन्दा एक अङ्क बढी भएको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । सिटीले १९ खेल खेलेको छ ।
शेफिल्ड भने आठ अङ्कका साथ तालिकाको पुछारमा छ ।