विराटनगर । बार्सिलोना स्पेनिस कोपा डेल रेको अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो ।
भालेकानाको मैदान स्टेडियो डी भालेकासमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सी र फ्रेन्की डी योङले समान एक–एक गोल गरे । भालेकानोका फ्रान गार्सियाले एक गोल गरे ।
खेलमा भालेकानोले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६३औं मिनेटमा गार्सियाले गोल गर्दै भालेकानोलाई सुरुआती अग्रता दिलाए ।
६९औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा फर्काए । ८०औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनाको जित सुश्चित गरे ।
मेस्सी यसै खेलबाट टोलीमा फर्किएका हुन् । प्रतिबन्धका कारण अर्जेन्टिनी स्टार मेस्सीले दुई खेल गुमाएका थिए । सुपर कपअन्तर्गत रियल सोसिडाडसँगको खेलमा रातो कार्ड पाएका मेस्सीलाई दुई खेलमा प्रतिबन्ध लागेको थियो । त्यसपछि उनले कोपा डेल रेअन्तर्गत कोर्नेला र इल्चेसँगको खेल गुमाएका थिए ।
यसअघि बार्सिलोनाले कोर्नेलालाई हराउँदै प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको हो भने भालेकानोले इल्चेलाई हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो ।