birat ribon

खोप आउँदा सुदूपश्चिमका स्वास्थ्यकर्मी खुसी

Neuro
खोप आउँदा सुदूपश्चिमका स्वास्थ्यकर्मी खुसी

सुदूरपश्चिम/कोरोनाविरुद्धको खोप अभियान सुरु भएपछि सुदूरपश्चिमका स्वास्थ्यकर्मी खुसी भएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रम भइरहँदा अस्पतालकी प्रसूति विभाग प्रमुख यशोदा ढकाल खुसी देखिन्थिन् ।

Padelux insider
cura insider

कोरोना महामारी आउँदा अग्रपङ्क्तिमा रहेर काम गरेको अनुभव लिएकी ढकालले कोरोना खोप आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । ‘कोरोनाको महामारीका बेला नडराएका हामीले खोप लगाउन पाउँदा डराउनुपर्ने कारण छैन ।’

क्षेत्रीय स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा. गुणराज अवस्थीले नेपाल सरकारले यति छिटो कोरोनाविरुद्धको खोप भित्र्याई खोप अभियान सुरु गरेर राम्रो काम गरेको बताए । उनले थपे, ‘कतिपय विकासित देशले अझै खोप अभियान सुरु गर्न नसकिरहेका बेला नेपालमा यो अभियान सुरु हुनु उत्कृष्ट काम भएको छ ।’

सेती प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा डा. अवस्थीले पहिलो खोप लगाई सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट देशका सबै प्रदेशमा एकसाथ खोप अभियानको शुभारम्भ गरिरहेको दृश्यतर्फ उपस्थित स्वास्थ्यकर्मी र अस्पतालमा उपचारका लागि पुगेका बिरामीले चासोका साथ हेरेका थिए ।

प्रदेशस्तरीय खोप अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाविरुद्धको खोप आए तापनि यो रोगको जोखिमबाट सुरक्षित हुन अपनाउनुपर्ने सजगतामा अझै ध्यान दिन आग्रह गरे ।
उनले भने, ‘हामीले अपनाउनुपर्ने सजकता र स्वास्थ्य मापदण्डहरू कायमै राख्नु आवश्यक छ ।’ शुभारम्भ समारोहमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्टलगायत सहभागी थिए ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठन र नेपालको स्वास्थ्य सेवा विभागले स्वीकृत गरिसकेको यो ‘कोभिसिल्ड’ खोप ढुक्क भएर लगाउन सकिने बताए ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम टरेको छैन । तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पालानमा पछिल्ला महिनामा सर्वसाधरणबाट भइरहेको कमीकमजोरीले कोरोना सङ्क्रमणको जोखिम नहटेको चिकित्सकले बताए ।

सामाजिक विकास मन्त्रालयले प्रदेशको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, डडेलधुरा अस्पताल र सम्पूर्ण जिल्ला अस्पतालवाट प्रदान गर्ने गरी दश वटा खोप केन्द्रको व्यवस्था गरिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशका लागि पहिलो चरणमा खोप लगाउन ३६ हजार खोपको मात्रा प्राप्त भएको छ ।

पहिलो चरणमा कोभिड—१९ को उपचार व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, शव व्यवस्थापनमा खटिनेलाई यो खोप दिइने भएको छ । खोपबाट हुन सक्ने सम्भावित असरको व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा चिकित्सकसहितको टोलीको व्यवस्था गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार प्रदेशका नौवटै जिल्लाका लागि कुल १६ हजार दुई सय ९३ जनालाई पुग्ने ३६ हजार डोज खोप ल्याइएको छ ।
पहिलो चरणमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाई निःशुल्करूपमा खोप लगाइनेछ । शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइने छैन । रासस

jackson ribon