विराटनगर/प्रबुद्ध नागरिक अभियान समिति विराटनगरले असंवैधानिक कदमको भत्सर्ना गरेको छ ।
विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रबुद्ध नागरिक अभियान समिति विराटनगरले असंवैधानिक एवम् प्रतिगामी कदमको घोर भत्सर्ना गर्दैै यसको विरोधमा उभिन साथै प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा आवाज उठाउन पत्रकार, उद्योगी, व्यापारी, विद्यार्थीलगायत राजनीतिक दललाई अपिलसमेत गरेको छ ।
अभियानका संयोजक प्राध्यापक कृष्ण पोखरेलले प्रधानमन्त्री केपी ओलीमा सरकार चलाउने क्षमता नभएको बताए । प्रधानमन्त्रीले संविधानमा नदिएको अधिकार प्रयोग गरेर निर्वाचनको घोषण गरेको बताउँदै उनले भने, ‘निर्वाचन भएको अवस्थामा पनि दुई तिहाइ आउनै सक्दैन, त्यसैले जबसम्म दुई तिहाइ बहुमत आउने वातावरण हुँदैन तबसम्म प्रधानमन्त्रीले निर्वाचन गराउनु हुन्न ।’ निर्वाचन गराउँछु भन्नु जाली कुरा भएको पोखरेलले बताए ।
यस्तै अभियानका अभियन्ता प्राध्यापक डा. प्रमोदकुमार झाले संविधानभन्दा ठूलो प्रधानमन्त्री हुन नसक्ने भन्दै भने, ‘प्रतिनिधिसभा विघटन नेपाली माटोप्रतिको अपमान हो ।’