विराटनगर । इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति क्वार्टरफाइनलअन्तर्गत एसी मिलानलाई २–१ गोलले हराउँदै इन्टर अन्तिम चारमा पुगेको हो ।
सान सिरोमा इन्टरलाई जिताउन रोमेलु लुकाकु र क्रिस्टियन इरिकसनले समान एक–एक गोल गरे । मिलानका ज्लाटान इब्राहिमोभिकले एक गोल गरे ।

खेलमा पाहुना टोली मिलानले सुरुआती अग्रता बनाएको थियो । ३१औं मिनेटमा इब्राहिमोभिकले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
५८औं मिनेटमा मिलानका गोलकर्ता इब्राहिमोभिकले रातो कार्ड पाएका थिए । र, मिलान दस खेलाडीमा सीमित भएको फाइदा इन्टरले उठायो ।
७१औं मिनेटमा इन्टरले पेनाल्टीको मौका पाएको थियो, जसमा रोमेलु लुकाकुले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । खेलको इन्ज्युरी समयमा क्रिस्टियन इरिकसनले गोल गर्दै इन्टरको जित सुनिश्चित गरे ।
यसअघि मिलानले टोरिनोमाथि पेनाल्टी सुटआउटमा ५–४ गोलान्तरको जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको थियो भने इन्टरले फियोरेन्टिनालाई २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो ।