birat ribon

कोसीका किसानलाई पशु प्रसूति भत्ता

Neuro
कोसीका किसानलाई पशु प्रसूति भत्ता

सुनसरी/महिलालाई प्रसूति सुविधा तथा अस्पतालमा बच्चा जन्माउनेलाई प्रसूति भत्ता दिँदै आएको सबैले सुनेको कुरा हो तर सुनसरीको कोसी गाउँपालिकाले पशु प्रसूति भत्ता वितरण गर्ने भएको छ ।

Padelux insider
cura insider

यसै वर्षको फागुनबाट लागू हुनेगरी किसानलाई पशु प्रसूति भत्ता प्रदान गर्ने निर्णय भएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए । गाउँपालिकामा पशु किसानलाई प्रोत्साहन गर्न र उन्नत जातका दुधालु गाईभैँसी पानलका लागि प्रोत्साहनस्वरूप पशु प्रसूति भत्ता प्रदान गर्ने कार्यक्रम ल्याउन लागेको बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा माघ १२ गते सुनसरीको कोसी गाउँपालिकामा सम्पन्न खाद्य अधिकारबारे अन्तक्र्रिया कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

इन्सेकद्वारा गठित गाउँपालिकास्तरीय मानव अधिकार समूहको सहकार्य तथा कोसी गाउँपालिकाको समन्वयमा कृषि, पशु शाखा, किसान र सरोकारवालाबीच अन्तक्र्रिया कार्यक्रम गरिएको थियो ।

गाउँपालिकाले प्रदान गर्ने पशु प्रसूति भत्ताका लागि कार्यविधी निर्माण गरेर तत्कालै कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष अन्सारीले जनाए । अध्यक्ष अन्सारीले किसानको जीविकोपार्जन पनि हुने र पालिकालाई खाद्य, दूध तथा मासुमा आत्मनिर्भर बन्न सहयोग पुग्ने भएकाले पशु बिमासहित पशु प्रसूति भत्ता कार्यक्रम ल्याउन लागिएको बताए ।

उनले कृषिमा अर्गानिक उत्पादनतर्फ ध्यान दिनसमेत किसानहरूलाई अनुरोध गरे । अन्सारीले गाउँपालिकामा अध्यक्ष कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सात जना किसानलाई ५० प्रतिशत अनुदानमा कागतीको बिरुवा र प्राविधिक सहयोग जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले गाउँपालिकाले ‘गाउँ–गाउँमा प्रशस्त पूर्वाधार, कृषि पर्यटन विकासको आधार’ मूल नारा नै तय गरेकाले कृषि क्षेत्रलाई उपेक्षा गर्न नसकिने बताए । गिरीले गाउँपालिका कृषिसहित समग्रक्षेत्रको विकासका लागि आवधिक योजना निर्माणमा लागेको बताए ।

कार्यक्रममा पशु विकास शाखाका गोसाई यादवले आफू आफ्नो स्रोत साधनले भ्याएसम्म जनताको सेवामा लागिपरेको बताए । किसानका लागि कृषि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, दूध उत्पादन बढाउन किसानलाई घाँस खेतीतर्फ प्रोत्साहन गर्नुपर्ने, पशु स्वास्थ्य शिविरहरू सञ्चालन गर्नुपर्ने, पशु बिमालगायतका काम गर्नुपर्नेमा उनले जोड दिए । गाउँपालिकामा उन्नत जातको पशुपालनका लागि प्रजनन तथा नश्ल सुधार कार्यक्रम गर्दै आएको उनको भनाइ थियो ।

त्यसैगरी पशु शाखा लौकहीका प्रमुख मोहनकुमार सिंहले दूध उत्पादन बढाउन किसानलाई घाँसको बिउ वितरण गर्नुपर्ने, दूधका लागि चिस्यान केन्द्र स्थापना गर्नुपर्ने र गाउँ वडामा किसान सचेतना कार्यक्रम गर्नुपर्ने बताए ।

कार्यक्रममा कोसी गाउँपालिका– १ का वडाध्यक्ष राजकुमार साहले देश कृषिप्रधान भएकाले कृषिका लागि थप कार्यक्रम ल्याउन आफू प्रयासरत रहेको बताए । कार्यक्रममा पूर्वसभासद् सविता यादव, नेकपाका स्थानीय नेता मन्टुन यादव, मानव अधिकारका संयोजक रमेश भट्टराईलगायतले खाद्य अधिकारका बारेमा बोलेका थिए ।

कार्यक्रम मानव अधिकार समूहका अध्यक्ष अनिता उराँवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

jackson ribon