खोटाङ÷/नेपालमा भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि निजी आवास पुनर्निर्माणको काम ७५.०८ प्रतिशत मात्र सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको निजी आवास पुनर्निर्माणसम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रममा प्राधिकरणले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त नौ हजार तीन सय १० लाभग्राहीमध्ये सात हजार तीन सय ९८ घर पुनर्निर्माण सम्पन्न गरेर तेस्रो किस्तासमेत लिएको जनाइएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ खोटाङका अनुसार दुई सय ४२ लाभग्राहीले अहिलेसम्म आफ्नो निजी आवास पुनर्निर्माणका लागि सम्झौता नै नगरेको जनाइएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ६० लाभग्राहीले दोस्रो किस्ता लिएको पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ खोटाङका प्रमुख घनश्याम उपाध्यायले बताए । ‘दोस्रो किस्ता बुझ्ने अधिकांश लाभग्राहीले आफ्नो घर पुनर्निर्माणको काम सम्पन्न गरिसकेका छन्,’ उनले भने, ‘पुनर्निर्माणको काम सकेका लाभग्राहीलाई तेस्रो किस्तासमेत दिने काम भइरहेको छ ।’
अन्तक्र्रिया कार्यक्रममा झूटो विवरण पेस गरेर सम्झौता गरी पहिलो किस्ता बुझ्ने एक जना र तथा दोहोरो भुक्तानी लिने तीन लाभग्राहीबाट रकम असुल गरिएको जनाइएको छ । यस्तै, भूमिहीनलाई जग्गा खरिद गर्न उपलब्ध गराइने दुई लाख रुपैयाँका लागि जिल्लाभरमा पाँच जना पहिचान भएकामा चार जनाले उक्त रकम बुझेको र बाँकी एक जनासँग पनि सम्झौता सम्पन्न गरिएको कार्यान्वयन एकाइका सूचना अधिकारी मणिराम ढकालले जानकारी दिए ।
अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताले कतिपय ठाउँमा नक्कली लाभग्राही बनेर अनुदान लिएको र वास्तविक लाभग्राहीले अहिलेसम्म अनुदान नपाएको गुनासो गरेका छन् । प्राधिकरणले उपलब्ध गराउने रातो कार्ड प्राप्त व्यक्तिले समेत अहिलेसम्म अनुदान नपाएको रावाबेँसी गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए ।
जिल्लास्थित सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग गरिएको अन्तक्र्रियामा दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले प्राधिकरणको लापरबाहीका कारण पुनर्निर्माणको कामले गति लिन नसकेको बताए । ‘प्राधिकरणका कर्मचारी खोज्दाखोज्दै भूकम्प गएको पाँच वर्ष बित्यो,’ उनले भने, ‘यसप्रति सम्बन्धित निकायको बेलैमा ध्यान जानुपर्यो । अन्यथा पुनर्निर्माणसम्बन्धी काम प्रभावकारी हुँदैन ।’
पुनर्निर्माण प्राधिकरणकै लगानीमा कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको कामसमेत गुणस्तरहीन भएको गाउँपालिका प्रमुख राईले बताए ।
याक्थुम्हाङ÷साप÷सिरुवा जेभीले २१ करोड एक लाख ८८ हजार एक सय ५३ रुपैयाँमा कालोपत्रको जिम्मा लिएको उक्त सडक १०.९७४ किलोमिटर लामो छ । विसं २०७६ चैत ७ गते सम्पन्न गर्नुपर्ने उक्त सडक कालोपत्रको काम ठेकेदार कम्पनीको लापरवाहीका कारण सम्पन्न नभएपछि पुनः एक वर्षका लागि समय थप गरिएको छ । सगरमाथा राजमार्ग हुँदै तराईका जिल्ला जोड्ने उक्त सडक कालोपत्रको काम करिब ४५ प्रतिशत मात्र सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
अन्तक्र्रियामा आयोजना प्रमुख श्यामकिशोर सिंले छुटेका लाभग्राहीको विवरण अझै पेस गर्ने समय रहेकाले सम्बन्धित निकायमा सिफारिस गर्न जनप्रतिनिधिलाई अनुरोध गरे । अन्तक्र्रिया कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । रासस